
नेपाली नागरिकले २००७ सालदेखि २०६२/०६३ साल र पछिल्लो २०८२ भदौको जेन–जेड आन्दोलनहरुमा सहाभागिता जनाए । हरेक आन्दोलन पछि आम जनताको आशा हुन्थ्यो । अब हाम्रो चुहिएको छानो फेरिने छ । नाङ्गो आङ हिड्नु पर्ने छैन अझ भनौं लाज ढाक्न समस्या हुनेछैन । स्वास्थ्य उपचार नपाएर मैले अकालमा मर्नु पर्नेछैन, बाध्यताले विदेशिनु पर्ने छैन,आदि आदि ।
पञ्चायतले नागरिकलाई नागरिकको जस्तो व्यवहार गरेन । जनआकांक्षाको बारेमा पञ्चायतका नेताहरुले सोचेनन् भन्ने आम नागरिकको गुनासो थियो । दुइ करोड नेपाली प्रजातन्त्र स्थापनाको आन्दोलनमा सहभागी भए । थुप्रै नेपाली आमाका सन्तान भावि पुस्ताको सुख र समृद्धिको लागि ज्यान अर्पण गर्न तयार भए । नेपालमा प्रजातन्त्र स्थापना भएको साढे तीन दशक भएको छ । प्रजातन्त्रको स्थापनासंगै नेपाली नागरिकमा आकांक्षाका आँधी नै आएको सत्य हो ।
आम मानिसले सोचे व्यवस्था परिवर्तन भएसंगै सत्ताको साँचो सम्हाल्न पुगेका र जनताको सुख र समृद्धिको लागि लेडेको भनेका नेताहरुले साँच्चै नागरिकको हितमा काम गर्नेछन् । हामी नागरिकले सोच्यौं अब हाम्रा सुखका दिन आए । अब हामी मध्ये कसैले पैसा र उपचारको अभावमा अकाल मृत्यु वरण गर्नुपर्ने छैन । सबैका छोराछोरीले आफ्नो क्षमता अुनसारको शिक्षा प्राप्त गर्ने अवसर पाउने छन् । सडक र सञ्चारसञ्जालले देश ढाक्नेछ । अब भोकै बस्नु पर्नेछैन । कसैले आकाशलाई छानो बनाउनु पर्नेछैन अनि बाध्यताले नाङ्गो जिउ लिएर हिँड्नु पर्नेछैन ।
तर दुःख पूर्वक भन्नु पर्छ, नेताहरुले हाम्रा आकांक्षाको आँधीको व्यवस्थापन गर्ने ल्याकत राखेनन् । अनेक बहानामा जनआकांक्षामा तुषारापात गर्दै आएका राजनैतिक दलका नेताले राजतन्त्रले काम गर्न दिएन भन्ने अर्काे बहाना बनाए । हामीले नेताका कुरा सहजै पत्याईदियौं र जुरुक्क उठ्यौं, २०६२÷०६३ को आन्दोलनका लागि । फेरी नेपाली आमाका सन्तानहरु आगामी पुस्ताको सुखद भविष्यका लागि आफ्नो ज्यान उत्सर्ग गर्न तयार भए । त्यो आन्दोलनले राजतन्त्रको अन्त्य गर्दै देशलाई संघीय संरचनामा लग्यो । तर डेढ दशक वितिसक्दा पनि हामीले परिवर्तनको अनुभूति गर्न पाएनौं । फेरी पनि निर्वाचनका बेलामात्र मतदाता समक्ष आइपुग्ने नेताका कुरा पत्यायौं । तिनै दल जसले हाम्रा सपनामा पानी छर्किरहे । तिनै नेताहरु जसले हाम्रा बारेमा कहिल्यै सोच्ने जाँगर देखाएनन् ,उनैलाई हामीले सत्ताको साँचो सुम्पिरह्यौं । हामीले फेरी पत्यायौं कि अब त नेताहरुले हाम्रा दुःखका कुरा बुझ्ने छन् ।
क्रान्तिको राप र तापबाट आएको माओवादीलाई २०६४ को निर्वाचनमा सबैभन्दा ठूलो दल बनाएर पठायौं । लाग्यो, जनताको लागि युद्ध गरेका भनेका माओवादीहरु जसलाई युद्धका बेला तिनै झुपडीमा बस्ने जनताले आफु नखाएर भएपनि खाना खुवाएका थिए । छोराछारीको पेट भोको अनि आङ नाङ्गो राखेर भएपनि चन्दा दिएर सहयोग गरेका थिए । ति नागरिकका बारेमा माओवादीले अवश्य सोच्ने छ । तर सत्ता प्राप्ती पछि अरुले जस्तै माओवादीले पनि जनताका दुःख भुले । शायद उनीहरुलाई लाग्यो, आफ्ना दुःखका दिन गएपछि, आफु महलमा बस्ने भएपछि जनताका दुःख त्यसै मेटिए, सँगसँगै ।
त्यसपछि नेपाली कांग्रेसमाथि भरोषा गर्दै नेपाली मतदाताले संविधान निर्माणको कामको अगुवाई गर्ने जिम्मा
सुम्पिए । कांग्रेसले आफ्नो नेतृत्वमा संविधान त बनायो तर जनआकांक्षाको सम्बोधन गर्ने कुरामा धेरै ठाउँ चुक्यो । वीपीको तस्विर देखाएर यो कुन बुढो हो भन्नेहरु कांग्रेस नेतृत्वमा पुगेपछि प्रधानमन्त्री हुँदा आफ्नो कार्यकक्षमा विपन्न परिवारको सदस्यको तस्विर राख्ने अनि उनीहरुलाई सम्झेर योजना बनाउनु पर्छ भन्ने वीपीको उपादेयता शायद कांग्रेसलाई रहेन ।
२०७४को आम निर्वाचनमा नेपालका दुई ठूला कम्युनिस्ट पार्टीले चुनावी गठबन्धन गरे र भने हामीलाई बहुमत दिनुस्, हामी काकरभिट्टा देखि कैलाली अनि केरुङदेखि काठमाण्डौसम्म रेल कुदाउँछौं । घरघरमा ग्याँस पाइपलाइन, नेपालको आफ्नै पानी जहाज । ओली प्रचण्ड गठबन्धनले यस्ता थुप्रै सपनाहरु बाँडेको थियो ।
लाग्यो, अब भने नेताहरुमा नागरिकका लागि केही गर्नुपर्छ भन्ने चेत पलाएछ र झण्डै दुइ तिहाई दिएर पठायौं । तर ओली नेतृत्वको सरकारले आफ्नो तीन वर्षे कार्यकालमा कस्ता कस्ता काम ग¥यो, हामीले भुल्न भ्याएका छैनौं । कोभिडको औषधीमा कमिसन, वाइडबडीमा कमिसन, बालुवाटार जग्गा आफ्नो नाममा गर्ने लागएतका बेथितीका काम ओलीकै पालामा भयो । जनताको प्रतिनिधि मूलक थलो संघीय संसदको असमयमा अवसानका प्रयास सबै सबै ओलीको पालामा भए । संविधान संसोधनका वाचा गरिन्थे तर काम गरिँदैनथे ।
अघिल्लो संसदमा आफु प्रतिपक्षमा रहँदा रास्वपाका सांसदहरु भन्थे, हामीले सरकारको नेतृत्व गर्ने अवसर मिल्यो भने देखाईदिन्छौं कि सरकार कसरी चलाउनु पर्छ । सय दिन १३ वटा मन्त्रालय चलाउन पाए देशमा थिती बसालेर देखाउने भाषण पनि सुनिएकै हो । अनि दुइ रुपैयाँ नहुनेले पनि स्वास्थ्य उपचार पाउनु पर्छ, त्यो हो हाम्रो पार्टीको एजेण्डा भन्ने भाषण सुनेकै हो तर सुत्केरी बेथा लागेर अस्पताल पुगेकी एउटी महिलाले सडकमै बच्चा जन्माउनु परेको हामीले देख्यौं । ग्याँसको हाहाकार महिनौं देखि कायम छ । यस्तोमा विद्युत उपभोगलाई प्रोत्सहन गर्नु राज्यको दायित्व हुनु पर्ने हो । यसले हाम्रो ग्यासमा निर्भरता हटाउने थियो । अझ देशमा उत्पादित विद्युत खेर जाने अवस्था छ तर विद्युत प्रयोगकर्तालाई निरुत्साहित तुल्याउन लगाइएको भ्याट तिर्न हामी अभिषप्त छौं । संविधान प्रदत्त अधिकार खोस्दै शिक्षामा कर लगाउनेहरु आए । कर लगाउँदा क्या बात भनेर ताली ठोक्नेहरु देख्यौं र चर्काे विरोध पछि हटाउँदा फेरी क्या बात सरकार भनेर पुनः ताली बजाउनेहरुबाट शासित भइरहेका छौं । सुकुम्बासी बस्ती उठाउन डोजर आए छाती थाप्न आउने भाषण सुन्यौं तर भाषण गर्नेहरु सेनाको आडमा सुकुम्बासी वस्ती उठाउन आए, हामी हेरेकोे हे¥यै भयौं । महंगीको मारमा नागरिक यति पिल्सिएका छन् त्यसको हिसाब गरिसाध्य छैन । सरकारसंग जनताका थुप्रै अपेक्षा छन् तर सरकारलाई भूई मान्छेका बारेमा कुन चिन्ता छैन ।
