Tanahun Awaj
विचार/दृष्टिकोण

अदालतले गर्नु गराउनु पर्ने अभ्यास

ऋषिराम पोख्रेल अधिवक्ता

पृष्ठभूमिः
अदालतमा दायर भएका मुद्धाको म्याद तामेलीका चरणबद्ध कार्यविधिलाई अदालतले कार्यान्वयन गर्न सके न्यायीक प्रक्रियालाई छिटो छरितो गराउन मद्दत पुग्दछ । महिनौसम्म म्याद तामेलीका कार्यविधि पुरा गर्नमै अल्झिनु पर्ने अवस्था कम गर्दै जान सकिने देखिन्छ ।
वादीबाटै तामेल गराउनेः
मुलुकी देवानी कार्यविधि संहिताले मुद्धाको प्रक्रियालाइ छिटो छरिता बनाउनका लागि वादी स्वयमबाटै म्याद तामेल गराउन सकिने व्यवस्था गरेको छ । तर यो अभ्यास नै गरिएको छैन । वादीले तामेल गराउन नसकेको अवस्थामा फेरी पुनः अदालतबाटै तामेल गर्ने व्यवस्थाले झनै ढिला हुने बुझाइले यो व्यवस्था कार्यान्वयन नगरिएको देखिन्छ । यथासम्भव पहिलो प्रयास गर्दा म्याद तामेल भएको मानिने प्रावधानलाइ कडाइ गर्दा यो व्यवस्था सफल गराउन सकिन्छ । अदालत प्रशासन र वकिलले झन्झट नमानिकन वादीलाइ सहयोग गर्र्ने मान्यताको विकास गर्न सके यो अभ्यास सफल हुन्छ ।
अदालतबाटै म्याद तामेलीः
वादीले म्याद तामेल गर्न नसकेको अवस्थामा अदालतबाटै म्याद तामेल गर्नुपर्ने व्यवस्था छ । अहिले प्रचलनमा रहेको अभ्यास यही हो । त्यसैले वादीले कसरी म्याद तामेली मागेको छ भन्ने हेर्दै नहेरी अदालतबाटै म्याद जारी गरी तामेल गर्ने अभ्यास नै अहिलेको अधिकाँश अभ्यास हो ।
अदालतबाटै म्याद तामेलीः
अदालतबाट म्याद तामेली गर्दा पनि म्याद तामेल नहुने वा भएका म्याद बदर भएका उदाहरणहरु छन् । सामान्य वडा नं. मिलेन टोल मिल्यो भने म्याद तामेल हुनुपर्ने हो । तर म्याद फिर्ता भएर आएर ठेगाना खुलाउन पर्ने अभ्यासले मुद्धाको प्रक्रिया ढिलो बनाएको छ । स्वयम प्रतिवादीले म्याद बुझेको अवस्थामा साक्षी नराखेको कारणबाट म्याद बदर हुने अभ्यास पनि म्याद तामेल भएको मानिने प्रावधानको प्रतिकूल छ ।
अदालतमै तामेल गर्न सक्नेः
कानुनले अदालतमा हाजिर हुने पक्ष, वारीस, कर्मचारी, कानुन व्यवसायी र साक्षीलाइ अदालतमै म्याद तामेल गर्न सकिने व्यवस्था छ । यो व्यवस्थालाइ अदालतले सोधेर, खोजेर, सूचना लिएर म्याद तामेली गर्ने चासो राख्ने हो भने मुद्धाको प्रक्रिया छिटो गराउन सकिन्छ ।
म्याद तामेल भएको मानिनेः
हाम्रो कानुनले अदालतबाट जारी भएको म्याद संबन्धित व्यक्तिलाई यस परिच्छेद बमोजिम कुनै पनि ठाउँमा वा निजको ठेगानामा बुझाएको अभिलेख गर्न सकियो भने म्याद तामेल भएको मानिन्छ भनेको छ । इमेल, ह्वाट्स एप मार्फत म्याद तामेल गर्न सकियो भने म्याद तामेल भएको मानिने भयो । वडा मुचुल्का गरेर म्याद बुझाएको वा घरमा टाँस गरेको अभिलेखले पनि म्याद बुझाएको मानियो । आफैले निवेदन हालेर बुझे पनि म्याद तामेल भएको मानिने नै भयो ।
निष्कर्षः
म्याद तामेली प्रक्रियालाइ छिटो गराउन अदालत प्रशासन, कर्मचारी, वारीस, वकिल सबै सकारात्मक हुनु जरुरी छ । कानुनका छिद्र खोज्ने अभ्यास मौलाउँदा न्याय नै ढिला हुने मात्रै होइन, न्याय नै मरेको अनुभूति न्यायका उपभोक्तालाई हुनु कार्यविधिगत असफलता हो ।

Related posts

लौहपुरुषको सम्झना

admin

१३६औं विश्व मजदुर दिवस-सम्पादकीय

admin

सम्पत्ति खरिद, विक्री र कानुन

admin