Tanahun Awaj
कानुनविचार/दृष्टिकोण

अहिले चर्चामा रहेको रास्वपाको विधान

ऋषिराम पोख्रेल अधिवक्ता

पृष्ठभूमिः
राष्ट्रिय स्वतन्त्र पार्टीले आमनिर्वाचन २०८२ मा प्रत्यक्षमा दुई सय २५ सिट सहित समानुपातिक सिट जोड्दा दुइ तिहाइ सिट संख्याको नजिक पुग्ने निश्चित भएको छ । निर्वाचनमा जाँदा भनौंं या राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्दा बालेन्द्र शाहले गरेको सहमति अनुसार यो सरकारको नेतृत्व बालेन्द्र शाहले गर्ने सवालमा चुनावी परिणाम पछि रवि लामिछाने र डीपी अर्यालको कुटनितिक प्रतिक्रियालाइ मनन गर्दा पूर्वसहमति सहज रुपमा कार्यान्वयन हुने देखिदैन । यो अवस्थामा विधान बमोजिम जानुपर्ने अवस्था आउँछ । त्यसैले रास्वपाको विधान चर्चामा रहेको छ ।
विधानको व्यवस्थाः
रास्वपाको विधानको भाग २१ मा संसदीय दल सम्बन्धी व्यवस्था छ । सो भाग अन्तर्गतको धारा ६६ ले संसदीय(प्रतिनिधि सभा र राष्ट्रिय सभा) प्रदेश सभा संसदीय दल र स्थानीय तह संसदीय दल सम्बन्धी व्यवस्था गरेको छ । विशेष गरी संसदीय दलको निर्वाचन सम्बन्धी व्यवस्था उपधारा ८ ले गरेको छ । सो अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले संघीय निर्वाचन अगावै पार्टीको तर्फबाट संघीय निर्वाचनका लागि समानुपातिक र प्रत्यक्ष तर्फबाट छनौट भएका उम्मेदवारहरु मध्येबाट इच्छुक उम्मेदवार बीच निर्वाचन हुने व्यवस्था गरेको छ । सो निर्वाचनमा पार्टीका सम्पूर्ण साधारण सदस्यले मतदानमा भाग लिन पाउने व्यवस्था गरेको छ । प्रस्तावित उम्मेदवार निर्वाचनमा पराजीत भएमा वा रिक्त भएमा पार्टीका तर्फबाट विजयी इच्छुक उम्मेदवारहरु बीच निर्वाचन हुने व्यवस्था विधानले गरेको छ । सो निर्वाचनमा पार्टीका सम्पूर्ण साधारण सदस्यहरुले मतदान गर्न पाउने व्यवस्था रहेको छ ।
संघीय निर्वाचन अगावै छनौटः
रास्वपाको विधानले संघीय निर्वाचन अगावै प्रत्यक्ष र समानुपातिक तर्फका छनौट भएका उम्मेदवारहरु मध्येका संसदीय दलको नेता बन्न इच्छुक उम्मेदवारहरु एक भन्दा बढी भएमा सम्पूर्ण साधारण सदस्यहरुले निर्वाचन गर्ने व्यवस्था विधानले गरेको पाइयो । रास्वपाले एकिकृत पार्टी निर्माण गरेर बरिष्ठ नेता सहितको उम्मेदवार चयन गर्दा नै विधानको धारा ६६ को उपधारा ८ को ‘क’ बमोजिम सर्वसम्मत रुपमा बालेन्द्र शाहलाइ संसदीय दलको नेता चयन गरिसकेको तथ्य बालेन्द्र शाह र रास्वप बीच सम्पन्न सहमति र विधानले पनि पुष्टि गरेको छ । संसदीय निर्वाचन अगावै सर्वसम्मत रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेता बालेन्द्र शाह बनाउने गरी सो पार्टी निर्वाचनमा होमिएको कारण अहिलेको जनादेश पाएको तथ्य विधानले पनि पुष्टि गरेको छ ।
दलको नेता बालेनः
संघीय निर्वाचनमा बालेन्द्र शाह निर्वाचित भैसकेपछि विधानतः रास्वपाको संसदीय दलको नेता बालेन्द्र शाह हुन् । रास्वपाले बालेन्द्र शाहसंग गरेको राष्ट्रिय सहमति अनुसार सर्वसम्मत रुपमा बालेन्द्र शाह चयन भएको तथ्य आजका मिति सम्ममा कुनै द्विविधा छैन । सो पार्टीका तर्फबाट कसैले प्रश्न उठाएको छैन ।
जनादेशको अनादरः
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेता बालेन्द्र शाह बनाउनुको विकल्प अब छैन । रास्वपाले त्यस्तो विकल्पको खोजी गरेमा त्यो जनादेश विपरित र जनादेशको अनदार हुन्छ ।
निष्कर्षः
यो मुलुकलाई संकटबाट मोचन गर्ने अवसर रास्वपाले पाएको छ । स्वार्थ, दम्भ, हठ, निकट र टाढाको भावना त्यागेर दलगत सर्वसम्मतीबाट सरकार गठन र सञ्चालन गर्ने, सरकारमा नपर्नेहरुले धैर्यतापूर्वक प्रतिक्षा गर्ने यो जनादेश अनुसारको राष्ट्रिय स्वार्थ पनि हो ।

Related posts

अदालतबाट अवरुद्ध मौलिक अधिकार

admin

मिले माओवादी, समाजवादी लगाएतका आठ दल

admin

वर्षासंगै सावधानी- सम्पादकीय

admin