Tanahun Awaj
विचार/दृष्टिकोण

शहीदहरू प्रति श्रद्धा र सम्मान-सम्पादकीय

भोली शुक्रबार माघ १६ गते देशभर सहिद दिवस मनाइँदैछ । जहानिया राणा शासनको अन्त्यका लागि भएको आन्दोलनमा नेपाली जनताको मुक्तिका लागि हाँसी हाँसी आफुलाई बलिबेदीमा चढाउने चार बीर नेपाली तथा अन्य सपूतको सम्झना र सम्मानमा माघ १६ गते सहिद दिवस मनाउने गरिएको हो । यस दिन धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री लगायतका सहिदहरूको सम्झना गरिन्छ । उनीहरुको शालीकमा माल्यार्पण गरिन्छ । उनीहरुको योगदानको स्मरण गरिन्छ । सहिद दिवसको अवसरमा आमनेपालीको मनमा प्रथम सहिद लखन थापा सहित ति प्रमुख चार सहिदको तस्वीर आउने गर्छ ।
त्यसपछि पनि विभिन्न समयमा भएका आन्दोलनमा थुप्रै नेपाल आमाका सन्तानले सहादत प्राप्त गरेका छन् । २०१७ सालमा प्रजातन्त्रको अपहरण पश्चात तीस वर्षे पञ्चायती कालरात्रीमा होस् अथवा २०४६ को प्रथम जनआन्दोलनमा होस् या माओवादी सशस्त्र विद्रोहका क्रममा होस् अनि गणतन्त्र प्राप्तीका लागि भएको २०६२।०६३ को आन्दोलनका क्रममा अनि २०८२ भाद्र २३ र २४ मा । ति प्रातः स्मरणिय सहिदहरुको बलिदानका कारण हामीले स्वतन्त्रताको स्वाद चाख्न पाएका छौं ।
तर ति हजारौं बीर बीराङ्गनाले किन आफ्नो ज्यानको आहुती दिए भन्ने विषयमा भने वर्तमान राजनैतिक नेतृत्व बेखबर नै भएजस्तो प्रतित हुँदैछ । वर्षमा एकदिन उनीहरुको सालिकमा फूलमाला चढाउने र उनीहरुको योगदानको चर्चा गर्दै ओेठे प्रतिवद्धता जनाउने बाहेक पछिल्लो समय केही हुन सकेको छैन । २०४६ तथा २०६२÷०६३ कोे आन्दोलन जनआन्दोलन थियो कि धन आन्दोलन भन्ने प्रश्न आमनागरिकले गर्न थालेका छन् । अनि माओवादीले भन्ने गरेको १० वर्षे जनयुद्ध जनयुद्ध नभई धनयुद्ध रहेछ भन्ने निष्कर्षमा पनि सर्वसाधारण पुग्न थालेका छन् ।
अब प्रश्न छ ? के सहिद भएकाहरुले यस्तै अवस्थाको कल्पना गरेका भए आफ्नो प्राण उत्सर्ग गर्न तयार हुन्थे होला ? सहिदको सपनामाथि खेलवाड गर्ने काम अब चाहीँ बन्द गर्नुपर्छ । नागरिकलाई निर्वल सम्झेर मनपरी गर्ने आफु, आफ्नो परिवार र आसेपासेले मात्र सुख सुविधा भोग्ने तर आमनागरिकको दुःख सुखका बारेमा कुनै सरोकार नराख्ने प्रवृत्तिको अन्त्य अब हुनैपर्छ । सहिदको चाहनापनि सबै नेपाली सुखी होउन् भन्ने नै हो । सहिद दिवसको अवसरमा सम्पूर्ण सहिदहरुप्रति हाम्रो शव्द श्रद्धा र सम्मान ।

Related posts

समुन्नतिका आ–आफ्नै खाका
नेपाल बन्ला त समुन्नत ?

admin

सहिदको सम्झना- सम्पादकीय

admin

‘ग्रामिण विकास मोडेल’

Deepak Joshi