Tanahun Awaj
कानुनविचार/दृष्टिकोण

विवाहः एक पवित्र सामाजिक बन्धन

ऋषिराम पोख्रेल अधिवक्ता

पृष्ठभूमिः
हाम्रो धर्म संस्कृति र परम्पराले हामीलाई विवाह एक पवित्र सामाजिक बन्धन हो भनेर सिकायो । परिवारको अस्तित्वसंग जोडिएको विवाह बन्धन आज त्यसको सामाजिक मर्म नै मरेको छ । विवाह पवित्र बन्धन रहेन । शारीरिक भोेगविलाशको विषय बनाइयो । बच्चा यौन सन्तुष्टिको परिणाम जस्ता भएका छन् ।
के हो विवाह ?
हाम्रो कानुनले विवाहलाई स्थायी अनतिक्रम्य सामाजिक बन्धन मानेको छ । स्वतन्त्र सहमतिमा आधारित एक पवित्र सामाजिक तथा कानुनी बन्धन भनेको छ । विवाह पुरुष र महिला बीच दाम्पत्य तथा पारिवारिक जीवन प्रारम्भ गर्नका लागि कायम गरिएको नाता सम्बन्धको रुपमा लिइएको छ । विवाह पछि पति र पत्नी बीच आपसी प्रेम र सद्भाव हुनेपर्नेछ भनेर कानुनले निर्दिष्ट गरेको छ । पतिपत्नि संगै बसी पारिवारिक जीवन स्थापना गरी जीवनयापन गर्नुपर्ने कानुनी व्यवस्था छ । पति र पत्नीले एकअर्कालाई सहयोग, संरक्षण, सम्मान गर्नुपर्ने बताइएको छ । विवाहपछि सामान्यतया पत्नीको वासस्थान पतिको घरमा कायम भएको कानुनले मान्दछ । थर पनि अहिलेसम्मको प्रचलनमा पुरुषकै प्रयोग गरिएको छ । कानुनले विवाह पछि पति पत्नी एक अर्काको प्रतिनिधि मानेको छ । सहमतिमा घरव्यवहार चलाउन पर्ने व्यवस्था कानुनले गरेको छ ।
सम्बन्ध विच्छेदः
नेपालमा अहिले अदालतको मुद्धा संख्यामा अधिकाँश मुद्धा सम्बन्ध विच्छेदसंग सम्बन्धित नै रहेका छन् । स्थायी अनतिक्रम्य मानेको विवाह बन्धन अहिले ख्यालठट्टा जस्तो बनेको छ । तत्कालको झोक र आवेगमा आफ्ना बालबच्चालाई वेवारिसे बनाएर सम्बन्ध विच्छेद गरेर पारिवारिक संरचना नै नष्ट गर्नेगरी सम्बन्ध विच्छेद गर्नेको संख्या बढेको छ । हुँदाहुँदा पछिल्ला दिनहरुमा त जन्मेका बालबच्चा पितालाई पनि झिजो भएको र आमालाई झिजो भएको भावनाहरु प्रकट हुन थालेका अपवादका घटनाहरु देखिएका छन् ।
नावालक हितको संरक्षणः
पतिपत्नी बीचको सम्बन्ध विच्छेद हुँदा नावालकको अधिकतम हितको संरक्षण गर्ने हाम्रो अदालती अभ्यास रहेको भएतापनि पारिवारिक संरचना खल्बलिएको अवस्थामा नावालक वा किसोरहरुको अधिकतम हितको संरक्षण विरलै हुन सकेको देखिन्छ । सम्बन्ध विच्छेद पछिका नावालकहरु अपवादमा बाहेक अधिकाँश कुलत र दुव्र्यशनीमा प्रवेश गरेको, दुःख पाउने बाल बच्चाको कोटीमा परेका छन् । ती नावालकलाई दुईनम्बरी धन्दा गर्ने गिरोहले सहजै प्रयोग गरेका उदाहरणहरु देखिन थालेको छ ।
परिवार जीवनको क्षयः
दाम्पत्य जीवन प्रेमपूर्ण हुँदा भिन्न भएको नयाँ पारिवारीक संरचना दाम्पत्य छुटेपछि जोडिन निक्कै कठिन हुँदै गएको छ । अझ पुरानै अवस्था त जुट्नै नसक्ने अवस्था रहेको छ । अघिल्लो घरबारका बालबच्चा र पछिल्लो घरबारको दाम्पत्यका बीच नमिठो द्वन्द्व बढेको आजको हाम्रो सामाजिक यथार्थ हो ।
आर्थिक विनासः
दाम्पत्य छुट्दा विनासै विनास भएको हुन्छ । आर्थिक विनास हुन्छ । मुद्धा मामिलाले पैसा वालुवामा खन्याएको जस्तो हुन्छ । मानसिक दुर्वला बढ्दछ । सिर्जनात्मक क्षय हुन्छ ।
पारिवारिक गोप्यता भङ्ग हुन्छ ।
निष्कर्षः
पहिलो पटकको सम्बन्ध विच्छेदमा अंश हक कायम भएपछिको दोस्रो सम्बन्ध विच्छेदमा अंश हक निषेध हुनुपर्दछ । जन्मेको बच्चा १८ बर्ष नपुग्दैको सम्बन्ध विच्छेद निरुत्साहित गर्न पितामाताको समान दायित्व स्थापित गर्नुपर्दछ ।

Related posts

हिमालको हिफाजत

admin

राजनीतिका पात्रहरुले बनाएको पहिचान

admin

स्तनपानः राम्रो हुन्छ दुबैको ज्यान

admin