Tanahun Awaj
समाचार

देउवाद्वारा शहीद खनालको सालिक अनावरण

अप्सरा भट्टराई
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले शहीद कल्याण खनालको अर्धकदको सालिक अनावरण गरेका छन् । मंगलबार शहीद खनालको २३ औं स्मृति दिवसको अवसर पारेर भिमाद नगरपालिका रहेको शहीद कल्याण स्मृति पर्यटन पार्कमा निर्मित सालिकको देउवाले अनावरण गरेका हुन् ।
सालिक अनावरण पछि आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले शहीदको योगदानका कारण नेपाली कांग्रेस अहिलेको स्थितिमा आइपुगेको उल्लेख गरे । देउवाले पार्टीले शहीदको योगदानको उच्च मूल्याङ्कन गर्ने गरेको बताए ।भीमाद नगर उद्योग वाणिज्य संघको हलमा आयोजित कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री

सुरेन्द्र पाण्डेले शहीदले देखाएको बाटो हिँड्ने संकल्प हामी सबैले गर्नु पर्ने बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शहीदको सपना पूरा गर्नु पार्टीको दायित्व भएको उल्लेख गर्दै कल्याण खनाल गुमाउनुको पिडा आफुले सदा महसुस गर्ने उल्लेख गरे । प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले पार्टी भित्रका कमिकमजोरी हटाउँदै जनअपेक्षा अनुकुल काम गर्नु हामी सबैको साझा दायित्व भएको बताए ।
शहीद खनालकी पत्नी इन्दिरा खनालले २३ वर्ष अगाडिको त्यो नृशंस घटना आफ्नो आँखा अगाडि अझै रहेको उल्लेख गर्दै शहीदहरुले देखेको सपना पूरा गर्न पार्टी लागि पर्नुपर्ने बताईन् ।
सालिक अनावरण कार्यक्रममा कांग्रेस पूर्व महामन्त्री शशांक कोइराला, पूर्व उपसभापति गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्य गोविन्द भट्टराई, कांग्रेस तनहुँका सभापति जितप्रकाश आले, निवर्तमान सभापति बैकुण्ठ न्यौपाने, जिल्ला उपसभापति राजेन्द्रकृष्ण श्रेष्ठ लगाएतले शहीद खनालको सालिकमा पुष्प गुच्छा अर्पण गरेका थिए ।
शहीद कल्याण खनाल स्मृति प्रतिष्ठानले भीमाद–७ शिवालय टोलमा खनालको सालिक निर्माण गरेको हो । २०१६ साल चैत्र २३ गते हालको भीमाद नपा ६ मा जन्मेका खनाल नेपाल विद्यार्थी संघ तनहुँको सभापति हुँदै नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय सभापति समेत भएका थिए । शालिन र भद्र स्वभावका खनालको तत्कालिन विद्रोही माओवादीले २०५९ साउन २७ गते घरमै खानाखाँदै गर्दा गोली हानी हत्या गरेको थियो ।

Related posts

ओलीलाई दुइतिहाइ सांसदको समर्थन: पुरानै नारा, कार्यान्वयन हुनेमा आशंका

admin

स्टानको सक्रिय सिकारु खोजी अभियान

admin

जनजाती महोत्सवको तयारी तिब्र

Deepak Joshi