22.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
विचार/दृष्टिकोण

नयाँ वर्षको शुभकामना-सम्पादकीय

विक्रम सम्बतको नयाँ वर्ष २०८२ गत सोमबार बाट प्रारम्भ भएको छ । सार्वजनिक ऋण झण्डै दुई खर्बले बढेर २७ खर्ब पुग्न लागेको, देशमा भ्रष्टाचार दिन दुगुना रात चौगुना बढेको, रोजगारीको अभावमा हजारौं युवाहरु दैनिक विदेशिने गरेको, व्यापार घाटा बढ्दै गएको, राजनैतिक नेतृत्व नागरिक प्रति संवेदनशिल नभएको जस्ता सर्वत्र निराशाको समाचार बीच पनि नेपालीले नयाँ वर्षलाई भव्य स्वागत गरे । नयाँ ठाउँ घुम्ने, आफ्नो रुचिका परिकार खाने, नाचगान गर्ने आदि गरेर नेपालीले नयाँ वर्षको स्वागत गरे । यसमा आशावादी हुने आम नेपालीको स्वाभाव शायद कारक थियो । किनभने, प्रकृतिको नियम नै छ कि रात पछि दिन आउँछ । रात जति नै अँध्यारोे किन नहोस्, सूर्यले आफ्ना सुनौला किरणहरुले पृथ्वीलाई उज्यालो बनाउने छ । त्यही विश्वास (अहिलेको अवस्था जतिसुकै खराब भएपनि सधैं यस्तै रहने छैन)का कारण हामीले नयाँ वर्ष धुमधामले मनायाँै ।
हो जताततै निराशा छ, अन्धाकार छ । हाम्रो राजनैतिक नेतृत्व आफ्नो दायित्वबाट पूर्ण च्युत भएको अवस्था छ । उसलाई वास्ता छ त केवल आफ्नो स्वार्थ पूर्तिमा छ । कसरी सत्तामा पुग्ने र त्यहाँ टिकिरहने भन्ने बाहेक उसलाई कुनै ध्याउन्न छैन । नभए जनतामा व्याप्त निराशा कम गर्न, विकासका कामलाई दु्रत गतिमा अगाडि बढाउन तथा भ्रष्टाचार कम गर्दै देशलाई सुशासन तर्फ लैजान भनेर नौ महिना अगाडी गठन भएको सरकारले केही न केही त जनताका पक्षमा राम्रा काम गर्ने थियो ।
वर्ष २०८१ निराशामा वितेको पक्का हो । तर वर्ष २०८२ सुखद र फलदायी बनाउने कुरामा हामी आमनागरिकको सामुहिक प्रयत्न र प्रतिवद्धता आवश्यक छ । हाम्रो सामूहिक प्रतिवद्धता, प्रयत्न र दवावले राजनैतिक नेतृत्वलाई सच्चिन बाध्य पार्ने छ र देश सुशासन, समुन्नति र विकासको मार्गमा अगाडी बढ्ने छ । त्यसैले अन्धकारलाई सरापेर होइन बरु उज्यालोको खोजी गरेर अन्धकार हटाउन सकिन्छ भन्ने अग्रजको भनाईलाई आत्मसाथ गरौं र देशलाई उज्यालो तर्फ लैजाने अभियानमा लागौं । नयाँ वर्ष २०८२ को तनहुँ आवाजका तर्फबाट यही शुभकामना ।

Related posts

थोरै आशा र धेरै निराशामा कटेको गणतन्त्रको १६ वर्षे यात्रा

admin

छोडपत्र माग्ने पत्निलाइ अंश

admin

सिद्धान्तमा विचलित राजनीतिक संस्कार र परिणाम

admin