32.2 C
Damauli
September 18, 2026
Tanahun Awaj
Uncategorized

पतिले सम्बन्ध विच्छेद माग्ने अवस्था

ऋषिराम पोख्रेल
अधिवक्ता

पृष्ठभूमिः
मुलुकी ऐनले भन्दा फरक कानुनी व्यवस्था गरेर देवानी संहिताले पतिले पनि सम्बन्ध विच्छेद माग्न पाउने व्यवस्था गरेको छ । प्रारम्भिक चरणमा केही मुद्धामा सम्बन्ध विच्छेद भएको भएतापनि पछिल्ला दिनहरुमा पतिले मागेको सम्बन्ध विच्छेदमा विरलै सम्बन्ध विच्छेद हुने गरेको अभ्यास छ । अब मुलुकी ऐन भन्दा फरक के भयो त ? आम सरोकारको विषय हो ।
कानुनमा भएको व्यवस्थाः
मुलुकी देवानी संहिताले पतिले पत्निसंग सम्बन्ध विच्छेद माग्न पाउने चारवटा आधार तोकेको छ । पहिलो त अंश लिई मानो छुट्टिइ भिन्न भै बसेको अवस्थामा बाहेक पत्नीले पतिको मन्जुरी नलिई लगातार तीन बर्ष वा सो भन्दा बढी समयदेखि अलग बसेमा पतिले सम्बन्ध विच्छेद गर्न पाउने कानुनी व्यवस्था छ । तर त्यो तीन बर्षको अवधि अदालतले कसरी गणना गर्दछ । कुनै व्याख्या छैन । पत्नीले खान लाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा पनि सम्बन्ध विच्छेद माग्न पाउने कानुनी व्यवस्था छ । पत्नीले पतिको अंगभंग हुने वा कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जालप्रपञ्च गरेमा पनि पतिले सम्बन्ध विच्छेद माग्न पाउँछ । पत्नीले अन्य पुरुषसंग यौन सम्बन्ध राखेको ठहरेमा पनि सम्बन्ध विच्छेद माग्न पाउँदछ ।
पक्षको हैसियत समान ?
कानुनले पक्षको हैसियत समान हुन्छ भनेको छ । तर पत्नीले मागेको बखत माथि उल्लेखित आधारहरुमा वस्तुनिष्ठ ठोस प्रमाण अदालतले खोज्ने गरेको अभ्यास विरलै पाईन्छ । पुरुषले मागेको सम्बन्ध विच्छेदमा पुरुष अन्यायमा परेको छ कि भन्ने तर्फ अदालत सम्वेदनशिल बन्न सकेको पाईदैन ।
एकबर्षको समय सीमाः
मुलुकी ऐनले एक बर्षको समय सीमा पुरुषले पालिकामा मुद्दा दायर गरेपछिको एक बर्ष पछि अदालत जान पाउने हकदैयाको लागि व्यवस्था थियो । अहिलेको कानुनले मुद्धा दायर भएपछि एक बर्षसम्म दुई पक्ष बीच मिलापत्र हुन नसकेमा सम्बन्ध विच्छेद गरिदिनु पर्ने गरी व्यवस्था गरेको छ । तर अभ्यासमा एक बर्ष पछि पनि हकदैयाको प्रश्न बल्झिएर आउँने गरेको छ ।
कारण केही पुरुषः
सिधै अदालत जान पाउने अधिकारको पनि पुरुषहरुले दुरुपयोग गरे । पहिलो पत्नीबाट सम्बन्ध विच्छेद चाहेका पतिले पहिला फकाएर माग्ने । नमाने पछि चरम घरेलुहिंसा गरेर, दुःख दिएर हैरान पारेर सताएर घर छोड्न बाद्य पार्ने । आजित बनाएर पत्निलाइ नै सम्बन्ध विच्छेद माग्न बाद्य पार्ने । नभए आफैले सम्बन्ध विच्छेद मुद्दा दायर गर्ने फरक खालको पुरुष प्रधान रवैयाले अदालतले एक बर्षको समय सीमाको कानुन सोझो रुपमा कार्यान्वयन गर्न नसकेको अनुमान छ ।
निष्कर्षः
उमेर नपुग्दै गरिने विवाह र परिपक्वता पछि हुने सम्बन्ध विच्छेदलाई निरुत्साहित गरौं । बौद्धिक सम्पत्ति भएका जोडि बीचको सम्बन्ध विच्छेदमा पैतृक सम्पत्ती माथिको दावी रोकौं । कानुनको दुरुपयोग महिला पुरुष दुवैले गरेका छन् । नेपाली समाज अझै खण्डित हुने अवस्थामा धकेलिएको दुःखद भविष्यप्रति सजग बनौं ।

Related posts

ऋषिङमा विज्ञान मेला

admin

ट्याङकी छ तर साबुन र पानी छैन

admin

लैंगिक हिंसा, कानून र हाम्रो बुझाई

admin