19.2 C
Damauli
October 9, 2026
Tanahun Awaj
विचार/दृष्टिकोण

मधुमेह अर्थात सुगर-सम्पादकीय

आज नोभेम्बर १४, विश्व मधुमेह दिवस । मधुमेहको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी भएको इन्सुलिनको अविष्कार गर्ने मध्येका एक, सर फ्रेड्रिक बान्टिङको जन्मदिन १४ नोभेम्बर भएकाले सोही दिनलाई संयुक्त राष्ट्र संघले विश्व मधुमेह दिवसको रुपमा मनाउने निर्णय गरेको हो । सर बान्टिङ र चाल्र्स बेस्टले सन् १९२२ मा पहिलो पटक संयुक्त रूपमा मधुमेहको उपचारका लागि इन्सुलिनको आविष्कार गरेका थिए ।
यो वर्ष जीवनशैली र वंशाणुगत कारणले बर्सेनी विश्वभर लाखौँ मानिसहरू मधुमेहको सिकार बनिरहेको सन्दर्भलाई सम्झँदै शारीरिक, माानसिक र सामाजिक स्वास्थ्यको पैरवी गर्ने उद्देश्य सहितको नारा तय गरिएको छ ।
मधुमेहको अंग्रेजी नाम डायबिटिज हो भने हामीले बोलीचालीको भाषामा यो रोगलाई चिनी रोग भन्दछौं अनि आजकल सजिलोका लागि सुगर भन्ने चलन छ । यही सुगरले विश्वका ४६ करोडभन्दा बढी मानिसलाई सताएको छ भने नेपालमा पनि वर्षेनी ८ प्रतिशतका दरले यसका रोगी बढेको अनुमान गरिएको छ ।
मधुमेह दुइ प्रकारका हुन्छन्, विशेषगरी बच्चामा देखिने मधुमेह अन्तर्गत प्यान्क्रियाजका कोषहरू भत्किएर इन्सुलिन उत्पादन हुन नसक्ने अवस्था पर्दछ र यसको एकमात्र उपचार इन्सुलिन हो । प्यान्क्रियाजले उत्पादन गर्ने इन्सुलिनलाई हाम्रो शरीरले सही प्रयोग नगर्दा हुने अवस्था । यसको कारण भनेको मोटोपना र अनियमित जीवनशैली हो । यसका साथै तनाव लिनु अर्काे कारण हो भने वंशाणुगत रुपमा पनि यो रोग आउने गर्दछ ।
बढी तिर्खा लाग्ने,बाराम्बार पिसाब जाने, अत्यधिक भोक लाग्ने, थकाइ महसुस हुने, घाउ वा चोट निको हुन ढिलो हुने, दृष्टि धमिलो हुने भएमा मधुमेह भएको हुनसक्छ भन्ने अनुमान गरेर स्वास्थ्य संस्थामा गई जँचाउनु र आवश्यक उपचार गर्नु पर्दछ । खानपानमा सुधार, नियमित शारीरिक व्यायाम, औषधी वा इन्सुलिनको प्रयोग, रगतमा ग्लुकोजको मात्राको नियमित जाँच, तनाव व्यवस्थापन आदि गरेर मधुमेहबाट छुट्कारा पाउन सकिन्छ । धुमपान र मदिरा पान बन्द गर्नु पनि अर्काे उपयुक्त उपाय हो । मधुमेहको राम्रो उपचारका लागि जीवनशैलीमा सुधार र नियमित स्वास्थ्य जाँच गर्ने गरौं । यसले हामीलाई दीर्घजीवी बनाउन मद्दत गर्नेछ ।

Related posts

लेजरलाईट के हो र यसले कसरी काम गर्छ ?

admin

सकारात्मक विचारको खोजी

admin

अटिजमः मष्तिष्क विकास समस्या -सम्पादकीय

admin