Tanahun Awaj
विचार/दृष्टिकोण

दशैं–२०८१ को शुभकामना-सम्पादकीय

Editorial

	असोज महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी दसौँ दिन विहान दशमीका दिन आफूभन्दा ठुला मान्यजनहरूको हातबाट टीका–प्रसाद ग्रहण गरेर नेपालीले मनाउने महत्वपूर्ण पर्वको नाम हो, विजया दशमी । यो पर्वमा असोज शुक्ल प्रतिपदामा जमरा राखी नवमीसम्म नौरथा विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ । प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजाआजा र आराधना गरिन्छ । 
	विजया दशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप विजयको प्रतिक रातो टिका र समृद्धिको प्रतिक जमरा लगाउने चलन रहेको छ ।  यसलाई असत्य माथि सत्यको विजयको रूपमा लिइन्छ । यसकारण, यस दशमीलाई विजया दशमी भनिएको हो । आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमता अनुसार मिठो खाना खाने–ख्वाउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्घर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहकासाथ गरिन्छ ।
	नेपाली मात्रको साझा यो पर्व यस वर्ष भने खासै रमाइलो नहुने भएको छ । असोज ११ र १२ मा भएको वर्षाले आएको बाढी र पहिरोले धेरै परिवारको विचल्ली भएको छ । दुईसयभन्दा बढी नेपालीले ज्यान गुमाएका छन् । सयौं ठाउँमा सडक अबरुद्ध हुँदा आवतजावतमा समस्या भएको छ । ढुवानी समस्याको मौका पारेर व्यापारीहरुले अमानवीय ढंगले उपभोग्य सामानको मूल्य बढाएका छन् । दसैँमा मासु होइन आँसु खाने भन्ने जस्तो भएको छ । सरकारले अबरुद्ध सडक खुलाउन तदारुकता देखाएर र बजार अनुगमन गरी मूल्य नियन्त्रण गरेर नागरिक जीवन सहज बनाउनु पर्ने हो तर त्यसो हुन सकेको छैन । स्थानीय भनिएका सरकारहरु पनि यस्तो काममा असफल जस्तै देखिएका छन् । 
	परिस्थिती जे जस्तो भएपनि जहाँ जुन अवस्थामा छौं, त्यही हाँसीखुसी दसैँ मनाऔं । दुर्गामाताले नेपालीमाथि आशिष प्रदान गरिरहुन् । विजया दशमीको शुभकामना । 

Related posts

अस्तित्वको साझेदारी

admin

राजनैतिक कुसंस्कारको सन्दर्भ

admin

प्रथम नागरिक राष्ट्राध्यक्षको सम्झना

admin