Tanahun Awaj
विचार/दृष्टिकोण

रेबिजबारे जानकारी राखौं- सम्पादकीय

Editorial

आगामी शनिबार संसारभर विश्व रेबिज दिवस मनाइँदैछ । हरेक वर्ष सेप्टेम्बर २८ तारिखमा मनाईने यो दिवस मनाउनुको कारण रेबिज रोगका बारेमा विश्व समुदायले पर्याप्त जानकारी राखोस् र यसबाट बच्ने उपाय अपनाओस् भन्ने नै हो । एक समय थियो, रेबिजलाई मानव सभ्यताको विकास र तत्कालिन चिकित्सा पद्दतिका लागि गम्भीर चुनौतिको रुपमा हेरिन्थ्यो । अहिले आधुनिक चिकित्सा पद्धती अनि प्रतिरोधात्मक खोपहरु प्रयोग गरेर तथा यस्तो जनावरले टोकि सकेपछि पनि औषधिको मात्रा पूरा गरेर, सुई लगाएर रेविजलाई समयमै निको पार्न सकिन्छ र अब यो चुनौति रहेन । तर उपचारमा ढिलाई भएमा यसले संक्रमितको प्राण लिन्छ ।
आजभन्दा २३ सय वर्ष अगाडी दार्शनिक एरिस्टोटलले लेखेको नोटमा रेविज लागेको कुकरले मान्छेलाई टोकेमा या उक्त कुकुरले अन्य जनावरलाई टोकेमा अनि ति जनावरसंगको सम्पर्कमा मान्छे आएमा रेविज लाग्ने तथ्य उल्लेख भएबाट यो रोग कति पुरानो रहेछ भन्ने सहज अनुमान लगाउन सकिन्छ । तर विकसित देशहरु बाहेक हाम्रो जस्तो देशमा यो एउटा स्वास्थ्य समस्याको रुपमा रहिरहेको छ । यसका कारण वर्षेनी थुप्रै नेपालीले ज्यान गुमाउने गरेका छन् । यद्यपी उपचार सुविधाको अभावभन्दा संक्रमितको असावधानी धेरै हदसम्म जिम्मेबार छ ।
रेबिज विरुद्धको खोप पत्ता लगाउने व्यक्ति लुइ पास्चरको मृत्यु भएको दिन सेप्टेम्बर २८ मा उनले यो खोप पत्ता लगाएर संसारका धेरै मानिसको ज्यान जोगाउन गरेको योगदानका सम्मान गर्ने हेतुले यही दिन विश्व रेबिज दिवस मनाउन थालिएको हो । यो अवसरमा हामी सबैले रेबिजका बारेमा पर्याप्त जानकारी राख्ने, तपाईं–हामीले पनि पालेको जनावर र विशेषगरि कुकुरलाई समयमैं रेविज विरुद्धको खोप लगाइदिने, रेविजबाट हुनसक्ने सक्रमण संभावना अनि स्वास्थ्य सुरक्षा तथा सेवाहरु, उपचारात्मक र निरोधात्मक विधी सम्बन्धमा सबैसंगै भएर जागरुक भई रेविजलाई संसारबाटै उन्मूलन गर्ने कार्यमा लाग्नु जरुरी छ । आउनुहोस्, जनचेतना, खोप र उन्मूलन भन्ने नाराका साथ मनाउन लागिएको यस वर्षको यो दिवसको नाराको सार्थकताका लागि हामी सबै सचेततापूर्वक लागि परौं ।

Related posts

कैलाश शिरोहीया पक्राउको कानुनी पक्ष

admin

पुस्तकको महत्व आत्मसाथ गरौं-सम्पादकीय

admin

बाल संरक्षण–राज्य र स्थानीय सरकार

admin