24.5 C
Damauli
September 18, 2026
Tanahun Awaj
समाचार

पत्रकार महासंघ तनहुँको साधारण सभा असार १८ मा

क्रियाशिल सात पत्रकार पुरस्कृत हुने

दमौली/नेपाल पत्रकार महासंघ तनहुँको १४औं साधरणसभा असार १८ गते सम्पन्न हुने भएको छ । महासंघको असार ११ गते मंगलबार बसेको बैठकले असार १८ गते साधारणसभा गर्ने निर्णय गरेको नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलले जानकारी दिए ।
अध्यक्ष पौडेलले महासंघ मातहतका विभिन्न शीर्षकका पत्रकारिता पुरस्कारबाट जिल्लाका सात क्रियाशील पत्रकारलाई पुरस्कृत गर्न छनोट गरिएको समेत जानकारी दिए । मुक्तिनाथ खनालद्वारा स्थापित ११ हजार राशीको ‘भवानी खनाल स्मृति पत्रकारिता पुरस्कार’बाट प्रेस युनियन तनहुँका पूर्व अध्यक्ष एवं तनहुँ आवाज साप्ताहिकका सम्पादक ऋषिराम पोख्रेललाई पुरस्कृत गर्ने निर्णय भएको सचिव प्रताप रानाले जानकारी दिए ।
त्यस्तै भाग्यशाली ढुङ्गानाद्वारा स्थापित १० हजार राशीको टीकानीधि ढुङ्गाना स्मृति व्यास पराशर पत्रकारिता पुस्कार रिपोटर्स क्लब तनहुँका अध्यक्ष एवं प्रादेशिक खबर राष्ट्रिय दैनिकका सम्पादक मदन वाग्ले, पाँच हजार राशीको सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार पत्रकार रामबहादुर घले, प्रदीप काफ्लेद्वारा स्थापित १० हजार राशीको पुरुषोत्तम काफ्ले स्मृति पत्रकारिता पुरस्कार तनहुँ टेलिभिजनकी समाचार वाचक एवं मादीसेती प्रवाह दैनिककी सम्पादक अन्जना तिमल्सेनालाई प्रदान गर्ने निर्णय महासंघले गरेको छ ।
यसैगरी सांसद कृष्णकुमार श्रेष्ठ किसानद्वारा स्थापित भर्लेली केवलबहादुर स्मृति पत्रकारिता पुरस्कार खबरपुञ्जका सम्पादक कृष्ण न्यौपाने, उत्तम र सुमन भट्टराईद्वारा स्थापित हरिभक्त भट्टराई स्मृति पत्रकारिता पुरस्कार पत्रकार राजीवलाल श्रेष्ठ र वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेद्वारा स्थापित चिरञ्जिवी हरिमाया स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर सम्वाददाता सम्झना रसाइलीलाई प्रदान गर्ने निर्णय भएको सचिव रानाले बताए । यी तीनवटै पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ ।
महासंघले न्याय, सहकारी, धार्मिक, सांस्कृतिक तथा पर्यटनलगायतका क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्न स्थापित विभिन्न पुरस्कारबाट पुरस्कृत गर्दै आएको छ । विभिन्न व्यक्तित्वबाट स्थापित पुरस्कारले पत्रकारलाई प्रोत्साहन मिल्ने अध्यक्ष पौडेलले बताए ।
बैठकले नेपाल पत्रकार महासंघ तनहुँका पूर्व सचिव एवं व्यासश्री साप्ताहिकका प्रधान सम्पादक डा.बसन्त कंडेललाई स्थानीय सरकारको भाषा नीतिको क्षेत्रमा विद्यावारिधि हासिल गरेकोमा बधाई ज्ञापन गर्ने निर्णय गर्नुका साथै नेपाल पत्रकार महासंघका साधारण सदस्य स्वर्गीय मनोरथ शर्माको निधनप्रति समवेदना प्रकट गरेको छ ।

Related posts

छुट्टाछुट्टै ४०औं बीपी स्मृती दिवस

admin

प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२: घण्टी चर्काे बज्यो, रुख मुर्झायो,सूर्य र ताराको चमक हरायो

Deepak Joshi

भिमाद नगरको बनभोज कार्यक्रम

admin