28.8 C
Damauli
October 9, 2026
Tanahun Awaj
Uncategorized

एशियाको ज्योतिको सम्झना

दमौली/इङ्ल्याण्डबाट प्रकाशित हुने डेली टेलिग्राफका सम्पादक सर एडविन आर्नोल्डको सन् १८७९ मा एउटा पुस्तक प्रकाशित भयो, जसको नाम थियो “एसियाको ज्योति”। उक्त पुस्तक नेपालको लुम्बिनीमा जन्मेर संसारलाई अहिंसाको पाठ सिकाउने आदर्श व्यक्ति गौतम बुद्धको बारेमा लेखिएको थियो । आज तिनै अहिंसाका पुजारी गौतम बुद्धको २५६८ औं जन्म जयन्ती मनाईँदैछ ।
संसारमा दुःख छ र दुःख हटाउन सके निर्वाण वा शान्ति प्राप्त हुन्छ , भन्ने ज्ञानका प्रवर्त्तक गौतम बुद्धको जन्म पिता सुद्धोदन र माता मायाँ देवीको कोखमा वैशाख पूर्णिमाको दिन भएको थियो । राजसी सुखसयल त्यागेर मानिसको दुःख हटाउने हिडेका उनले बैशाख पुर्णिमाकै दिन ज्ञान प्राप्त गरेका थिए भने उनको मृत्यु पनि वैशाख पूर्णिमाकै दिन भएको थियो ।
भनिन्छ, संसारमा सबैभन्दा धेरै पुस्तक गौतम बुद्धकै विषयमा लेखिएका छन् । आर्नाेल्डको एशियाको ज्योति बाहेक भारतीय विद्वान डा. भीमराव राम अम्बेडकरको ‘बुद्ध र उनको धर्म’ नोबेल पुरस्कार िवजेता जर्मन उपन्यासकार हर्मन हेस्सेको ’सिद्धार्थ’ गौतम बुद्धलाई संसार प्रसिद्ध बनाउन सफल पुस्तक हुन् ।
आज नेपाल लगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धको सम्झना गर्ने गर्दछन् । उनै विश्व पुरुषको सम्मानमा विसं २००८बाट बुद्ध पूर्णिमाको दिनमा विदा दिन थालिएको हो।
विश्वका अतिप्रसिद्ध अक्सफोर्ड, क्याम्ब्रिज, हार्वर्ड आदि विश्वविद्यालयमा बौद्धदर्शन अध्ययन अध्यापन हुँदै आइरहेको छ । त्रिभुवन विश्वविद्यालयले पनि बौद्ध दर्शनमा स्नातकोत्तर (एमए)को अध्ययन–अध्यापन गर्दै आएको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालय र प्रस्तावित सिद्धार्थ विश्वविद्यालयले पनि बौद्ध दर्शनको अनुसन्धान र चर्चा परिचर्चा गर्ने गरेका छन् ।
विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्म दिनको अवसरमा अहिंसा परमो धर्म भन्ने बुद्ध वाणीलाई हामी सबैले अनुशरण गर्ने अभ्यास गर्नु जरुरी छ ।

Related posts

सामाजिक सद्भावको नमुना

admin

त्रुटी, हेलचक्राई वा लापरवाहीबाट हानि

admin

बढ्दै कोरोना कहर दैनिक संक्रमित हजार नाध्न थाले

admin