21.3 C
Damauli
October 8, 2026
Tanahun Awaj
विचार/दृष्टिकोण

किराको किताब यात्रा

रमेश पोखरेल

नेपाली कांग्रेसको १४ औं महाधिवशनको उद्घाटन शत्रमा दुइ अतिथीबीच दोहोरी चल्यो । राप्रपा अध्यक्ष समेत रहेका राजेन्द्र लिङदेनले महाधिवेशनको शुभकामना दिने क्रममा जब आजकल गाउँमा कुनै राजनैतिक दलको नेता जाँदा चोर आयो भन्ने गरेका बताए । त्यसको केही समयपछि बोलेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दर्शक/श्रोता तर्फ फर्केर जब प्रश्न गरे के हामी चोर हौं त ? दर्शक/श्रोताको सामूहिक जवाफ थियो, हो ।
हुन पनि आम मानिसमा धेरै जसो राजनीतिकर्मीका प्रति घृणा छ । आक्रोष छ । मुखै नभनेपनि हरेक राजनीतिज्ञका प्रतिको आम मानिसको प्रतिक्रिया हुन्छ, यो चोर हो । उनीहरु सोच्छन राजनीतिकर्मीको काम हामी नागरिक माथि छलछाम गर्नु, फरक विचार राख्नेहरुलाई अनाहकमा दुःख दिनु, पद र पैसाका लागि जे पनि गर्न तयार हुनु हो ।
धेरे अगाडिका कुरा छोडौं । नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाउने दोस्रो जन आन्दोलनको माग नै थिएन । नेपाली नागरिक निरंकुश राजतन्त्रको अन्त्यका लागि सडकमा उत्रेका थिए न कि नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणाका लागि । पछिल्लो समय खासगरी स्थानीय निकायका जनप्रतिनिधिले आम नागरिकका प्रति दर्शाउने व्यवहार सम्झँदै भन्न थालिएको छ, हामीले एउटा राजा फालेर ७५३ राजा ल्याउन खोजेका होइनौं । हाम्रो आन्दोलनको उद्देश्य सिँहदरबार बाट प्राप्त हुनै सबै सरकारी सेवा र सुविधा गाउँबाटै प्राप्त होस भन्ने थियो । तर विडम्बना गाउँमा सिंहदरबारको सेवा आएन बरु आए त ७५३ सिंहहरु । जसरी कथामा जंगलको राजा सिहले जंगलका अन्य जनावरलाई तृण बराबर पनि मान्दैनथ्यो । अहिलेका जनप्रतिनिधी पनि आम नागरिकलाई नागरिकको सम्मान दिन खोज्दैनन् । आम मानिसको गुनासो छ, हाम्रा जनप्रतिनिधि टोल छिमेकमा तपाईहरुका समस्या के छन् ? तपाईको प्रतिनिधिका रुपमा मैले ति समस्या हल गर्न के गर्न सक्छु भनेर सोध्न कहिल्यै आएनन् । निर्वाचनका बेला नागरिकमा आकांक्षाको आँधी उठाईदिनेहरु निर्वाचित भएपछि फर्केर नआउने बरु प्रतिवद्धताको स्मरण गराउँदा पराई व्यवहार गर्ने गरेको दुःखेसो आम नागरिकको छ ।
राजनीति के का लागि ? भनेर प्रश्न ग¥यौं भने हाम्रा राजनीतिज्ञहरुको बनिबनाउ जवाफ हुन्छ, नागरिकको सेवाका लागि । तर कतिपय घटनाक्रमले आम नागरिकका द्विविधा उत्पन्न गराउँछ कि हाम्रा नेताहरु राजनीति आफुले भनेझैं देश र समाजलाई समुन्नत तुल्याउन गर्छन् कि आफु, आफ्नो परिवार, नातागोता र आसेपासेहरुको उन्नतिका लागि ? स्वस्थानी ब्रतकथामा ब्रत लिएकी महिलाले ब्रतको अन्तिम दिन १०८ रोटी, पान, सुपारी तगाएत प्रसाद बनाउने र एकसय वटा आफुले खाने तथा आठवटा आफ्नो श्रीमानलाई दिने, श्रीमान् नभए छोरालाई दिने, छोरा पनि नभए मित छोरालाई दिने, मित छोरा पनि नभए नदीमा लगेर बगाउने भन्ने उल्लेख छ । लाग्छ, हाम्रा नेताहरु स्वस्थानीको यो कथाबाट खुबै प्रभावित छन् र पदमा पुगेपछी प्राप्त हुने सबै सुविधा सके आफै लिने नभए परिवारका अन्य सदस्यलाई उपलब्ध गराउने गर्दछन् । नागरिकका भागमा त केवल भाषण र मिठो आश्वासन मात्र पर्छ ।
आम मानिसमा आफुले नेता मानेको, मतदान गरेर विजयी बनाउँदै कार्यकारी पदमा पु¥याएको व्यक्तिबाट केही आशा रहन्छ । जुन स्वाभाविक हो । तर हाम्रा नेताहरु भलाई गर्नेको आँखमा सलाई झोस्न निकै सिपालु छन् । केही अगाडिको घटनालाई लिउँ, कोभिडको महामारीका बेला भारत लगाएत देशबाट नेपाल फर्कन चाहने थुप्रै नेपाली थिए । विदेशमा रगत र पसिनासंग पैसा साटेर स्वदेश पठाउँदै देशको अर्थतन्त्र धानेका ति नेपालीलाई घर ल्याउन राज्यले चारगुणासम्म बढी भाडा असुल्यो । स्वदेश फर्कन राज्यले नदिएपछि ज्यानको बाजी राखेर महाकाली नदी तरेर देश भित्रनेलाई सहरमा नाङ्गै हिँडाउने पनि हाम्रो राज्य र त्यसको सञ्चालन हाम्रा नेताहरु । हामीले गरिब जनताका जीवन स्तर उकास्न राजनीति गरेका हौं भन्ने नेताहरुले खाए मकै नखाए भोकैको अवस्थामा रहेका बाबु आमा तथा परिवारका अन्य सदस्यलाई थोरै मिठो मसिनो खुवाउने, छोराछोरीलाई राम्रो शिक्षा–दिक्षा दिने सपना बोकेर विदेशिने नागरिकसंग स्वदेश फिर्तीका लागि चारगुणा भन्दा बढी भाडा असुले तर महंगो शुल्कमा विदेश पढ्न गएका धनाढ्य परिवारका सदस्यलाई निःशुल्क स्वदेश ल्याए ।
नागरिकका दुःख हाम्रा नेताहरुका लागि अखबारका विज्ञापन जस्ता बनेका छन्, जो देखिन्छन् तर पढिँदैनन् । साँच्चै हाम्रा दुःख उनीहरुले देख्छन् तर अनुभूत गर्दैनन् । त्यसको निवारणको बाटो खोजी गर्दैनन् । किनभने नागरिकका दुःख सकिएका दिन उनीहरुका मागी खाने भाँडो पनि रित्तिन्छ । माग्न हिँड्ने बाटो मेटिन्छ । उनीहरुका लागि तल्लो आर्थिक अवस्थाका नागरिक सहयोग जुटाउने कमण्डलुमात्र हुन् । हामीले देखेकै छौं माग्नेका कमण्डलुको अवस्था । जसले माग्नेका लागि जुटाई त दिन्छ तर आफैले भने केही पाउँदैन ।
राजनीतिलाई साँच्चै नागरिकको सेवाकर्म हो भन्ने राजनीतिज्ञ नभएका होइनन् तर ति औलामा गन्न सकिने संख्यामा मात्र छन् । उनीहरुको जोडबल देश र नागरिकको आर्थिक विकास र समृद्धि रहेको छ । दुर्भाग्य सानो संख्यामा रहेका उनीहरुको जोडबल कमसेकम आजसम्मको अवस्थामा पानी पिटे जस्तो भएको छ, उपलब्धिहिन । एकथरी अरुलाई दिनुमा आनन्द मान्ने खालका अनि अर्काथरी म खाउँ मैलाउँ, सुख सयल वा मोज मगरुँ खालका । कसैको ध्यान पुजामा कसैको ध्यान भुजामा भनेजस्तो ।
हाम्रा राजनीतिज्ञहरुको चालमाला हेर्ने, देख्ने र भोग्ने हामी नागरिकका लागि भने राजनीति किराको किताब यात्रा भएको छ । थुप्रै राजनैतिक उतारचढाबहरु देख्यौं । परिवर्तमा संवाहक बन्यौं । राजनीतिका कुरा गर्छाैं । तर कहिल्यै यसलाई सहि ढंगले बुझ्न सकिएन सायद । जसरी किराले किताबका पाना पाना चाहार्छ । त्यही बास बस्छ । त्यसैलाई घर बनाउँछ तर किताबका लेखिएको केही पढ्न सक्दैन । केही बुझ्दैन । अरुको अनूभूति पनि यस्तै हो या मेरो मात्र तर लाग्दैछ, राजनीति सम्बन्धमा मेरो बुझाई किराको किताब यात्रामा मात्र सिमित भएको छ । जसलाई कहिल्यै बुझ्न सकिएन । “भलाइ गर्नेको आँखामा सलाई कि मुखमा दूध मलाइ ।”

Related posts

विकास र जनसंख्या-सम्पादकीय

admin

सार्वजनिक पदाधिकारी पदमुक्ति अध्यादेश

Deepak Joshi

सरकारको निर्णय क्षमता आईतबारे बिदाले उब्जाएको तरङ्ग

admin