23.1 C
Damauli
September 17, 2026
Tanahun Awaj
विचार/दृष्टिकोण

भद्रता भत्काउँदै चीन

रमेश पोखरेल

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चिनयिङले फागुन ११ गते बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको सम्झौता “पान्डोराज बक्स” वा उपहार के हो भनेर प्रश्न गरिन् । कतिपय नेपाली नेताले अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले एमसीसी सम्झौता पारित नभए द्विपक्षीय सम्बन्धमा प्रभावित हुने भनि चेतावनी दिएको अभिव्यक्ति दिएसंगै प्रवक्ता चिनयिङले त्यस प्रति लक्षित गर्दै, नेपालस्थित अमेरिकी दूतावासले अमेरिकी जनताको तर्फबाट नेपालीलाई ५० करोड अमेरिकी डलरको उपहार भनेको तर उपहार संगै धम्की आएको बताउँदै त्यस प्रकारको उपहार नेपालले कसरी स्वीकार्न सक्छ ? भनेर प्रश्न गरेकी थिइन् ।

आफ्नो स्वार्थ पूर्तिका लागि कुनै अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप, राजनीतिक स्वार्थ प्रेरित सम्बन्ध, धम्कीपूर्ण कूटनीति नभइ देशको सार्वभौमिकताको चासो र जनताको चाहनालाई पूर्ण सम्मान गरिनुपर्छ भनेकी प्रवक्ता चिनयिङले अझ थपेकी छन् नेपालको नजिकको मित्र , छिमेकी र विकास साझेदार चीनले नेपाली जनतालाई स्वतन्त्रतापूर्वक आफ्नो विकासको बाटो छान्ने र आफ्नो क्षमताले भ्याएसम्म नेपालको आर्थिक सामाजिक विकासमा समर्थन र सहयोग निरन्तर रुपमा सहयोग गर्नेछ ।

आजकल चाइना इन्टरनेशनल रेडियोको नेपाली सेवा सुन्यौं भने एमसिसि अमेरिकाको इण्डो–प्यासिफिक रणनीति अन्तर्गत भएको, सम्झौतामा भएका प्रावधानले अन्य अमेरिकी कानुन वा नीतिको पालना गर्न नेपाल बाध्य हुने, बौद्धिक सम्पत्तिमा अमेरिकाको मात्र स्वामित्व हुने जस्ता प्रावधान भएकाले नेपालको लागि हितकर नभएको बताउने गर्दछ । यतिमात्र होइन, आयोजनाको लेखा परिक्षण नेपालमा नहुने, प्रशारणा आयोजनाको नाममा भएको जमिन सदाका लागि अमेरिकाको हुने तथा नेपालले चाहँदैमा सम्झौता रद्ध नहुने जस्ता प्र्रावधान भएकाले नेपालको हितमा नभएको भन्दै एमसिसि नेपालले स्वीकार्न नहुने आसयका सामग्री प्रसारण गरिरहेको छ ।

रेडियोमा कस्ता समाग्री आइरहेका छन भन्ने प्रसंग पछि जोडौंँला पहिले प्रवक्ता चिनयिङको भनाई तर्फ लागौं । प्रवक्ता चिनयिङको भनाईमा दुइवटा कुरा रहेका छन् । एक, एमसिसि पाण्डोराज बक्स हो र दुइ, नेपालले कसरी स्वीकार्र्न सक्छ ? भनेर प्रश्न गर्नुको अर्थ नेपालले स्वीकार्नु हुँदैन । एकछिन् पाण्डोराज बक्स भनेको के हो भन्ने ग्रीक कथा पढौं अनि अरु चर्चा गरौला ।

पाण्डोराज बक्सका बारेमा विभिन्न तरिकाले भनिएका कथाहरु होलान् । मैले सुनेको कथा छोटकरीमा यस्तो छ । प्राचिन ग्रीकका जीयस नामका राजाले आफ्नी मानसपुत्री पाण्डोरालाई विवाहपछि एउटा कलात्मक र आकर्षक चन्दनको काठले बनेको बाकस उपहार दिए । राजाले छोरीलाई भने मैले पृथ्वीका मानवजातिको लागि यो उपहार दिएको हँु । तर तिमीले यस बाकसलाई कहिल्यै नखोल्नु । उनले त्यस बाकसको साँचो भने ज्वाईँ फिमिथियसलाई दिए । केही दिन त पाण्डोरा बाबुको बाकस नखोल्ने चेतावनी सम्झेर बाकस खोल्न हिच्किचाइन् । तर उनी भित्रको उत्सुकताले बाकस नखोलिरहन दिएन र एकदिन एफिमिथियस घरमा नभएको मौका पारेर पाण्डोराले साँचो खोजेर त्यो बाकस खोलिन् । बाकस खौल्नासाथ थुप्रै किराहरु त्यहाँबाट निस्किए । उनले सोधिन , तिमीहरु को हौं ? उनीहरुले जवाफ दिए, हामी घृणा, लोभ, स्वार्थ, दुःख, रिस लगाएत पृथ्वीमा रहेका मानिसहरुका नराम्रा खराबीहरु हौं । पाण्डोरा निकै दुःखी भइन् । तर समय निकै घर्कीसकेको थियो ।

चीनले राम्रो या नरामो जे भनेपनि फागुन १५ गते आइतबारको प्रतिनिधि सभाले एमसिसिलाई व्याख्यात्मक टिप्पणी सहित अनुमोदन गरको छ । एमसिसिले उक्त व्याख्यात्मक टिप्पणीलाई स्वीकारेको खण्डमा सम्झौता कार्यान्वयनमा जान्छ ।

चीनले भनेजस्तो एमसिसि पाण्डोराको बाकस हो कि होइन भनेर थाहा पाउन केही समय कुर्नुपर्ने हुन्छ । तर मुख्य कुरा के हो भने त्यो अमेरिकी परियोजना दुःखदायी कुराहरुले भरिएको पाण्डोराको बाकस जस्तो हो या उपहार हो भनेर छुट्याउने र लिने वा अस्विकार गर्ने भन्ने कुरा त नेपालीको हातमा छोडिदिनु पर्ने होइन र ? हाम्रो सार्वभौम अधिकार होइन यो ? यस्तो कुरामा यो या त्यो गर भनेर भन्न मिल्छ ? छिमेकीको नाताले उपहार या पाण्डोराको बाकर भनेर राम्ररी हेरेर मात्र लिने वा नलिने निर्णय गर भन्नु एउटा कुरा होला तर कसरी स्वीकार्न सक्छौं भन्नुको अर्थ त अस्विकार गर भनेको नै त हो । अनि यो हाम्रो छनौट र निर्णयको अधिकार माथिको हस्तक्षेप भएन र ?
एमसिसि पाण्डोराको बाकस भएको र त्यस्तो उपहार जसमा घृणा, लोभ, स्वार्थ, दुःख, रिस मात्र छ अर्थात यसले नेपालीलाई दुःख मात्र दिन्छ भन्ने चिन्ता साँच्चै चीनलाई भएको हो भने किन हामीले सामान ल्याउने नाकाहरु वर्षाैँदेखि बन्द गरिएको हो ? अहिले चीनबाट सामान ल्याउने क्रममा नेपालका उत्तरी नाकाबाट ल्याउन नपाएर समुन्द्री मार्ग हुँदै ल्याउँदा प्रति कन्टेनर १० देखि १२ लाख रुपैयाँ बढी दुवानी खर्च नेपाली व्यापारीले तिर्नु परेको छ र त्यसको प्रत्यक्ष मारमा सर्वसाधारण नेपाली परेका छन् । २०७२ मा भएको पारवहन सन्धी अनुसार किन सामान ल्याउने सहज बाटो नबनाएर अल्मल्याएको ? सन्धी पश्चात केही ट्याङकर इन्धन पठाएपछि किन तिमीलाई अन्तै सस्तो पर्छ भनेर पठाउन बन्द गरेको ? यस्ता विषय जसको प्रत्यक्ष सम्बन्ध नेपाली नागरिकको दैनिकीसंग छ, त्यस्ता विषयमा कुनै चासो नराख्ने तर अन्य विषयमा भने अनावश्यक उपदेश दिने र आदेश दिने काम असल छिमेकी भन्न रुचाउने चीनलाई सुहाउने काम होइन । चीनमात्र होइन कुनै पनि देशलाई हामीलाई यो गर र यो नगर भन्ने अधिकार छैन ।

एमसिसिका सन्दर्भमा चीनबाट व्यक्त विचार अनावश्यक चासो मात्र होइन्, कसरी स्वीकार्न सक्छ भनेर अस्विकार गर्न दिएको दवाव हो । नेपालको भद्र मित्र भनिने अझ भनौं शान्त कुटनीतिको भनिने चीनको यो अभिव्यक्ति पक्कै पनि भद्रताको उल्लङ्घन हो र शान्त होइन बरु आक्रामक कुटनीति हो । हाम्रो निर्णयको अधिकारमाथिको हस्तक्षेप हो ।

Related posts

समुन्नतिका आ–आफ्नै खाका
नेपाल बन्ला त समुन्नत ?

admin

ओली अहंकार र भ्यागुताको दुर्दशा

admin

अब शान्ति र व्यवस्था तर्फ-सम्पादकीय

admin