30.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
विचार/दृष्टिकोण

माघ १२ः सहिद दिवस

छविदीप आले [email protected]

‘हुँदैन विहान मिमिरेमा तारा झरेर नगए, बन्दैन मूलुक दुईचार समूत मरेर नगए ।’
–भूपी शेरचन

कवि भूपी शेरचनको यी कालजयी हरफहरुको सत्यता र महत्व हिजो जति थियो आज पनि त्यतिनै छ र भोलीका दिनहरुमा पनि हुने नै छ । यहि एक श्लोकमा नै कवि शेरचनले राज्यको लागि सपुतहरुको बलिदानको आवश्यकतालाई बडो गम्भीर रुपले प्रस्तुत गर्नुभएको छ । कवि भूपीको यहि श्लोकबाट नै सहिदहरुले हाँसी हाँसी ज्यानको बलिदान दिनुको औचित्य र महिमालाई हामी स्पष्टसँग बुझ्न सक्छौं । हुन पनि हो राज्यको तत्कालिन अवस्थालाई, शासन व्यवस्थालाई परिवर्तन गर्नु छ भने क्रान्ति गर्नै पर्छ र यदि क्रान्ति गर्ने नै हो भने दुईचार जना सपूतहरुले आफ्नो जीउ ज्यानको बलिदान दिनै पर्छ । तर क्रान्ति कसको लागि गर्ने ? बलिदान कसको लागी दिने ? देश र जनताको लागि या २, ४ जना नेता भनिने धुर्तहरुको लागि ? जसले आफु सत्ता र शक्तिमा पुग्नको लागि दुईचार जना होइन हजारौं हजारको बलिदान दिन्छ, कुनै शक्तिपिठमा भाकल पुरा गर्न बोका काटिए सरी । यो सोचनीय कुरा छ ।

नेपालमा हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाईन्छ । माघ १६ नजिकिँदै गर्दा र महान सहिदहरुको सन्दर्भलाई जोडेर यो आलेख तयार पार्ने प्रयास गर्दै गर्दा कहि कतै सहिद र सहिद परिवार प्रति भूलवश अपमानजनक शब्द प्रयोग हुन पुगेमा पङ्क्तिकार हृदयदेखि नै क्षमा चाहन्छ । महान् सहिदहरुको सम्झनाकम आँच पु¥याउने घ्रष्टता पङ्क्तिकारको कदापी होइन । पङ्क्तिकारको गुनासो त ती नेपाली नागरिकहरुको बारेमा हो जसलाई सहिदको पगरी गुथाएर झुक्काउने काम भएको छ । जसको सहिदको पगरीमा टेकेर दुईचार जना महत्वकांक्षी व्यक्तिहरु सिंहासनमा पुगेका छन् । जसको आझसम्म न सासको ठेगान छ न लाशको । उनीहरुको परिवारलाई सहिद परिवार भनेर आश्वासन बाड्ने र उनीहरुको भावनासँग लुकामारी खेल्ने काम भएको छ । पङ्क्तिकारको गुनासो बस् त्यति कुरामा मात्र हो ।

नेपालको आजको अवस्थामा उभिएर हेर्ने हो भने या त सहिद शब्दको परिभाषा फेर्नुपर्छ या त कवि शेरचनको श्लोक गलत छ । सहिद को हो ? पक्कै पनि देश र जनताको लागी आफ्नो जीउज्यानको बलिदान दिने व्यक्ति सहिद हो । जसलाई थाहा हुन्छ उसले चालेका कदमहरुको पाइला पाइलामा मृत्युको साक्षातकार उसले गर्नुपर्ने हुन्छ । त्यसो भए नेपालमा सहिद कति छन् त ? यसको यकिन तथ्याङ्क न त सरकारसँग छ न त नागरिकलाई बलजफ्ति युद्धमा धकेल्ने तत्कालिन नेकपा माओवादी पार्टीसँग जसको आज अस्तित्व नै समाप्त भईसक्यो एउटा दृष्टिकोणले हेर्ने हो भने किन भने यदि सर्वोच्च अदालतबाट आदेश आउँदैनथ्यो भने आजको दिनमा माओवादी भन्ने पार्टी नै हुँदैनथ्यो । प्रचण्डले आफ्नो सिद्धान्त र ईमानको सम्झौता सत्ता र शक्तिको लागि जो गरेका थिए । को को हुन् सहिदहरु ? कति छन् सहिदहरु ? यसको जवाफ कसैसँग पनि छैन आजको मितिमा । सहिदहरुको मुल्य साह्रै पातलिएको छ अचेल । पहिले नेपालको सहिद हुन्थ्यो अचेल तनहुँको सहिद हुन्छ, कस्कीको सहिद हुन्छ, रोल्पोको सहिद हुन्छ । पहिले सहिदको सम्मानमा राजधानीमा सहिदगेट चोकचोकमा गल्ली गल्लीमा सहिदगेट छ । यसले सहिदहरुको महत्व, सहिदहरुको सम्मान बढाएको हो कि घटाएको हो खै कुन्नी ? हामी विद्यालय पढ्दै गर्दा सहिदहरुको योगदान र बलिदान अमूल्य हुन्छ भनेर पढ्थ्यौ । अहिले सहिदहरुको योगदान र बलिदानको मूल्य १०,००,०००।– भएको छ । यसले सहिदहरुको महिमा घटाएको हो कि बढाएको हो भेउ पाउनै गाह्रो । माओवादीको शसस्त्र विद्रोहको बेला हजारौं नागरिकले ज्यान गुमाए, सयौं बेपत्ता पारिए । ती सबैलाई सहिद घोषणा गर्न माओवादीले माग ग¥यो । सरकारले पनि गर्दै गयो । यसरी कोहि बुझेर, कोहि नबुझिकनै बहकावमा लागेर त कोहि जवरजस्ती बाध्य पारिएर युद्धमा होमिन पुगे । के ती सबैलाई जसले युद्धमा ज्यान गुमाए एकमुष्ट सहिद भनेर घोषणा गर्नु उपयुक्त हो त ? यदि हो भने मलाई माफ गर भूपी शेरचन तिमि गलत रहेछौं । तिमि दुईचार सपूत नमरी मूलुक बन्दैन भन्थ्यौ यहाँ हजार गर्दा पनि मूलुक बन्न सकेको छैन । सायद तिम्रो अङ्कगणित कम रहेछ भूपी ।
युद्धमा ज्यान गुमाएकाहरुलाई एकमुष्ट सहिद भनिदिने या सहिदको पनि दर्जा छुट्याउनुपर्ने हो, त्यो बहसको अलग विषय बन्न सक्ला । अहिले सम्म राज्यले सबैलाई एकैखाले सहिदको स्थान दिएको हुँदा सहिदकै स्थानमा सबैलाई राखेर कुरा गरौं । के ति ज्ञात, अज्ञात, मारिएका, बेपत्ता पारिएका जति पनि छन् तिनिहरुको योगदानको मूल्य केबल १० लाख रुपैयाँ प्रतिव्यक्ति मात्र हो त ? के त्यति रकमकै लागि मात्र उनिहरुले युद्धमा होमिएर आफ्नो ज्यान फालेका हुन् त ? उनिहरुको कुनै सपनै थिएन होला ? आफुले गरेको क्रान्तिले देशमा ल्याउने परिवर्तनको कुन खालको रुपरेखा कोरेका थिए होलान् ? कस्तो आशाले लागेका थिए होलान् क्रान्तिमा ? के उनिहरुका सपना पुरा भए ? के नागरीकले परिवर्तनको सुख समृद्धिको, विकास अनुभूति गर्न पाईरहेका छन् त ? क्रान्तिको नाममा करोडौं लुटेका दुईचार जना भन्दा बाहेक अरुको जिवनस्तर सुध्रिएको छ त ? आम नागरीकको त कुरै छोडौं स्वयम् क्रान्तिमा संलग्न भएका व्यक्तिको, उसको घर परिवारको घाउमा मलम लागेको छ त ? सधैको राजनीतिक लुछाचुडी र भागबण्डा बाहेक अरु केहि महशुस गरेका छन् त नागरीकले ? एउटा उदाहरण हेरौ. हिजो कम्यूनिष्टको सरकारले इन्धनको मूल्य काँग्रेसीहरुले विरोध गरे । खुब गालि गरे कम्युनिष्टले देश बनाउन सक्दैन । कम्युनिष्टहरु तानाशाहि हुन् भनेर मच्याउनु रडाको मच्चाए । आज काँग्रेसले नेतृत्व गरेको गठबन्धनको सरकारले भाउ बढाउँदा कम्यूनिष्टहरु त्यहि मानिरहेछन्, जो हिजो काँग्रेसले कम्यूनिष्टलाई भनेका थिए । फूटबल खेले जस्तो मैदान उही, खेलाडि उही, खेल्ने शैली उही खाली गोलपोष्ट मात्र परिवर्तन । अनि दर्शक रुपी कार्यकर्ता । आफ्नो टोलीले गोल गर्दा परर ताली बजायो, हार्न लागे झेली गर्दियो, धाँधली गर्दियो । आफ्नो टोलीले खुट्टैमा हान्दिए पनि नदेख्ने, अर्को टोलीले सफै खेलेपनि झेली खेलेको देख्ने । आमनागरिकलाई केही न केही । न उसले पुरस्कार पाउनु छ, न त जीतको भोज नै । विचरा खेलको नियम पनि राम्रोसंग बुझ्न सक्दैनन् । खेलाडि चिन्ने कोशिश गर्दा गर्दै अर्को खेल शुरु भै सक्छ । भोज मोज सबै उनलाई । नागरिकलाई त खाली के हुँदैछ यहाँ भन्ने सोंच र आफ्नो जिवीका चलाउने खोज मात्र ।

देशमा केही पनि प्रगति हुँदै नभएको पक्कै होइन, तर हजारौं सहिदहरुले साढे दुई दशक युद्धमा होमिएर ल्याएको परिवर्तनले हुनु पर्ने प्रगति र उपलब्धी यति मात्र हो त ? रोजगारी नपाएर विदेश जाने क्रम घटेको छैन, मूल्यबृद्धि घटेको छैन, महंगीले गर्दा शिक्षा र स्वास्थ्य छोईसक्नु छैन । समाजबाट छुवाछुत हराएको छैन । जति पनि सहिदहरु छन्, हिजो उनिहरु युद्धमा होमिदै गर्दा यिनै र यस्तै कुराहरुमा सुधार आउँनु पर्दछ, ल्याउनु पर्दछ र एक दिन पक्कै आउँछ भनेर नै लागेका होइनन् र ? उनिहरुको सपना पुरा भएको छ त ? अझ भनौं पुरा हुने छाँट मात्र पनि देखिएको छ त ? हजारौं हजारको बलिदानबाट राजतन्त्र फालियो, गणतन्त्र ल्याईयो, जनताकै छोरा छोरीलाई सिंहाशनसम्म पु¥याईयो । कागजमा नयाँ नयाँ कानुन बनाईयो । तर नत सहिदहरुको सपना पुरा भए, न त नागरिकले जे पाउनु पर्ने त्यो पाए, सायदै त्यसैले होला, दुई चार सपूत नमरी मुलुक बन्दैन भन्ने उनै भूपिले भनेका छन्ः
‘मैले पिएकोमा रिसाएका साथीहरु,
पिएर त हेर पिउन झन गाह्रोछ,
मरेर सहिद हुनेहरु जिएर त हेर,
जिउन झन गाह्रो छ ।’

Related posts

मर्यादित जीवनको पक्षमा

admin

विश्वव्यापीकरण र आर्थिक नीतिमा परिवर्तन

admin

सम्पदा संरक्षण गरौं-सम्पादकीय

admin