24.7 C
Damauli
September 16, 2026
Tanahun Awaj
Uncategorized

संविधान दिवसको शुभकामना-सम्पादकीय

दुइ दिन पछि नेपालको संविधान जारी भएको पाँच वर्ष पूरा भई ६ वर्ष लाग्दैछ । २०७२ साल असोज ३ गते सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहने प्रस्तावनाका साथ यो संविधान जारी भएको थियो । संविधान सभाको दुइ तिहाइभन्दा बढी सभासदको समर्थनमा जारी यो संविधानले संघियता, गणतन्त्र र धर्म निरपेक्षता आदिलाई आत्मसाथ गरेको छ । नागरिक स्वतन्त्रता, मानव अधिकार, आवधिक निर्वाचन, मौलिक अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, जस्ता विशेषता रहेको यो संविधान नेपाली नागरिकको झण्डै सात दशक लामो आफ्नो संविधान आफै लेख्ने सपनाको पूर्णता थियो ।
३१ वटा मौलिक हकको व्यवस्था गरेको यो संविधानले प्रत्येक नेपाली नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने हक उल्लेख मात्र गरेको छैन, कुनै नागरिकलाई उत्पत्ति, जात, जाति, धर्म, वर्ण, लिंग, आर्थिक अवस्था, भाषा, क्षेत्र, वैचारिक आस्था आदिका आधारमा विभेद नहुने उल्लेख गरको छ । सामाजिक सुरक्षाको हक, जेष्ठ नागरिकको हक, महिलाको हक, बालबालिकाको हक, दलितको हक समाजिक न्यायको हक आदि मार्फत राज्यबाट सबै नागरिकले सुरक्षा र संरक्षण गर्ने उल्लेख गरिएको यो संविधान वास्तवमै उत्कृष्ठ छ । तर केही प्रश्नहरु भने बाँकी छन् ।
संविधानले खाद्य सम्बन्धी हकको व्यवस्था गरेको छ, तर कतिपय नागरिक सडकमा भोकै मर्ने अवस्थामा अझै भेटिएका छन् । हरेक नागरिकलाई उपयुक्त आवासको हक भनिएको छ तर आकाशलाई छानो बनाएर रात विताउने थुप्रै नागरिक हामी कहाँ देखिएका, भेटिएका छन् । प्रत्येक नागरिकलाई आधारभूत शिक्षाका पहुँचको हक हुने भनिएको छ तर अझै पनि चारलाख भन्दा बढी बालबालिका शिक्षाको अवसरबाट बञ्चित रहेको तथ्याङ्क हामीसंग छ । यस्ता धेरै कुराहरु छन् जसलाई हामीले संविधानमा लिपीवद्ध त ग¥यौं तर ति अधिकारको उपभोग नागरिकले निर्वाध र पूर्ण रुपमा गर्न पाउने वातावरण तयार भएको छैन ।
सबै तीन करोड नेपाली नागरिकलाई आफ्नो संविधान भएको अनुभुति गराउने गरी आगामी दिनमा राज्य सञ्चालकहरुले काम गर्दै जाउन् । सबैले आफ्ना हकको निर्वाध उपभोग गर्न पाउने वातावरण तयार होस् । संविधान दिवसको यही शुभकामना ।

Related posts

कोभिड–१९ को स्थिति

admin

सरोकारहरुबाट विमुख हुँदै हामी

admin

जापानी विद्यार्थीको सहयोग

admin