26.3 C
Damauli
September 20, 2026
Tanahun Awaj
Uncategorized

कांग्रेसका युवा नेता पार्टी जीवनको अगुवा कि विसर्जनको साक्षी

रमेश विकल

नेपाली कांग्रेसमा १४ औं महाधिवेशनको मिति नजिकिँदै गर्दा नेतृत्वमा जान चाहनेहरुको चाहना मुखरित हुन थालेको छ । उक्त महाधिवेशनबाट पार्टी सत्ता खासगरी सभापति हुन चाहनेहरुको सूचि लामै भैसकेको छ । वर्तमान सभापति जसरी पनि पुनः सभापति हुने दाउमा छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल सहित अन्य दोस्रो तथा तेस्रो पुस्ताका नेताहरुले समेत सभापति बन्ने आकांक्षा खुलेरै प्रस्तुत गरेका छन् । राजनीतिमा लागेका जो कोहिलाई त्यो दलको उच्च पदमा पुग्ने, आफ्नो दललाई सरकारको नेतृत्वमा पु¥याउने र आफ्नो दर्शन र सिद्धान्त अनुसारका कार्यक्रमहरु कार्यान्वयन गरेर देश र जनतालाई समृद्धिको मार्गमा उन्मुख गराउने अपेक्षा राख्नु स्वाभाविक हो ।
कांग्रेसको एउटा समर्थक र शुभेच्छुकले रुख चिन्हमा मतदान गर्दै गर्दा उसले अपेक्षा गरेको हुन्छ, यो पार्टीले म जस्ता तल्लो तहका समर्थक ÷शुभेच्छुकको समृद्धिको चाहनालाई कांग्रेसको सरकार बनेमा वा नबनेमा पनि पूर्ण गर्ने तर्फ यसका नेताहरु लागि पर्नेछन् र मेरो मतको कदर हुनेछ । त्यो मतसंग उसका सपनाहरु जोडिएका हुन्छन् । उसको आमा बुबाको सपना गाँसिएको हुन्छ अनि उसका भाइबहिनी र सन्तानको भविष्य गाँसिएको हुन्छ । एउटा कांग्रेस कार्यकर्ता चारतारे झण्डा बोकेर संगठन गर्ने भन्दै घरबाट निस्कँदै गर्दा उसलाई दैनिक खाना बनाएर खुवाउने आमाको विश्वास त्यो सन्तानसंगै संगठनमा गएको हुन्छ । ति आमा ठान्छिन्, मेरो सन्तानको कामले मेरो र मेरो समाजको उन्नयनमा सघाउने छ । तर के वर्तमान कांग्रेस नेतृत्वका क्रियाकलाप त्यो शुभेच्छु ÷समर्थकको सपना पुरा गर्ने तर्फ उन्मूख छ । के कांग्रेस नेतृत्वका क्रियाकलाप कांग्रेस कार्यकर्ता आफ्नो छोरालाई विना कुनै प्रश्न दैनिक समयमा खाना बनाएर खुवाउने आमाको सपना साकार पार्ने तर्फ अनि उनको विश्वास टुट्न नदिने तर्फ उन्मुख छ ? भनिरहुन परेन, छैन । अझ अहिले त कांग्रेस कहाँ छ भनेर खोज्नु पर्ने अवस्था आइसकेको हुन्थ्यो यदि चौधौ महाधिवेशन नआएको भए ।
कांग्रेस नेतृत्व खासगरी सभापति शेरबहादुर देउवा प्रतिपक्षि जस्तो छैनन् बरु सत्ता सहयोगी जस्ता छन् । प्रजातन्त्रको पर्याय भन्ने कांग्रेसमा आन्तरिक प्रजातन्त्र सून्य छ । नेतृत्वमा रहनेहरु अरुका कुरा सुन्न तयार छैनन् । तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालामा प्रजातान्त्रिक संस्कार नभएको भनेर दशौं महाधिवेशनका बेला पोखरामा गिरिजाका अगाडी आफु कसाईले काट्न तयार पारेको खसीको अवस्थामा रहेको भाषण गरेका देउवा अहिले विधि र पद्धतिलाई घोती लगाउँदै धमाधम महाधिवेशनको परिणामा आफु अनुकुल बनाउने गरी विभिन्न काम गरिरहेका छन् । गिरिजाप्रसाद कोइराला सभापति हुँदा देउवाको भन्दा दयनिय हालत अहिले पौडेल वा सिटौलाहरुको छ । जसका कुरा सुन्न र प्रजातान्त्रिक संस्कार देखाउन देउवा तयार छैनन् । आफ्ना व्यक्तिलाई विभिन्न लाभका पद दिलाउन प्रधानमन्त्री ओलीसंग गर्ने गरेका भनिएका सांठगाँठले देउवालाई नैतिक रुपमा अत्यन्त कमजोर बनाएको छ । र कम्तिमा कांग्रेसका युवामाझ देउवाको विश्वास मरेको छ । चार पटक प्रधानमन्त्री बनेका देउवाले आफ्नो प्रधानमन्त्रीत्वमा पार्टीको साख बढाउने भन्दा घटाउने काम धेरै गरे ।
सात पटक प्रधानमन्त्री बन्ने ज्योतिषको भविष्यवाणीमा विश्वास गरेर फेरी प्रधानमन्त्री बन्ने बाहेक देउवासंग सभापति बन्ने र फेरी प्रधानमन्त्री बन्नका लागि कुनै नविन कार्यक्रम छैनन् ।
यतिबेला कांग्रेस आफै वर्तमान सरकारका तमाम जनविरोधी क्रियाकलापको विरुद्धमा अनसनमा हुनु पर्ने हो । तर कांग्रेस जनताको आवाज उठाउने मामलामा कति कमजोर सावित भएको छ भने इनफ इज इनफ नामको समूहले गरेको अनसनमा ऐक्यवद्धता जनाउने अवस्थामा पुगेको छ । सरकारका भ्रष्टाचारजन्य क्रियाकलापको विराधमा पार्टीले गर्ने कार्यक्रम एकदिन हुने र अर्काे दिन सकिने खालको बनाएर वार्गेनिङको माध्यम बनाए देउवाले ।
यी सबैको परिणाम स्वरुप पार्टी विसर्जनको अवस्थामा पुग्न लागेको चिन्ता आम कार्यकर्ता र शुभेच्छकमा छाएको छ । त्यसो भए कांग्रेसको पुनः जीवनको कुनै उपाय छैन त ?
छ । कांग्रेसलाई पुनः जीवन दिने तागत युवा पुस्ताक नेताहरुमा छ । अहिले आएर त्यो दायित्व बोध गरेका १२ युवा नेताले समूह नै बनाएर युवाहरु नेतृत्वमा पुग्ने वातावरण निर्माण गर्न लागि परेको सुन्नमा आएको छ । गगन, प्रदिप, धनराज, चन्द्र , गुरु लगाएतका युवाले पनि अब हामी युवा हौं र पार्टी नेतृत्वमा हामीलाई पु¥याएमा हामी राम्रो गर्छाै भनेर मात्र पुग्दैन के गर्ने, कसरी गर्ने भन्ने कुराको स्पष्ट खाका सहित आउनु आवश्यक छ । यसो भएमा महाधिवेशन प्रतिनिधिको रोजाइमा अवश्य युवा नेता पर्नेछन् ।
युवा नेता भनेका निभ्न लागेको कांग्रेस रुपि दीपको तेल हुन् । युवाको भूमिका कमजोर हुनु वा युवा अव पनि पार्टी नेतृत्वमा नआउनु भनेको तेल सकिँदै जानु हो र भनिरहुन परेन तेल सकिएसंगै दीयोको हालत के हुन्छ । त्यो दीपलाई निभ्ने दिने या जगाइराख्ने भन्ने कांग्रेसका नेता कार्यकर्ताको हातमा छ र अहिले जबरजस्त हस्तक्षेप मार्फत तेलको भूमिकामा युवाहरु उदाउनु पर्ने नै छ । आशा गरौं आफ्नो भूमिकामा खरो सावित हुनेछन् । र पार्टीको अवसानको साक्षी नभएर पार्टी पुनः जीवनको अगुवा बन्न युवा नेताहरु सक्षम हुनेछन् ।
युवा नेता प्रदिप पौडेल भन्छन्, बिपीका पालामा कांग्रेसले पटक–पटक नयाँ जीवन पाउँथ्यो । नयाँ जीवनतर्फको त्यो गति कांग्रेसमा अहिले अवरुद्ध छ, पार्टी मूल्य र विचारहीनताको गहिरो दलदलमा भासिएको छ । यसर्थ, आउने महाधिवेशनमा सबैभन्दा प्रखर रूपमा छलफल हुनुपर्ने विषय यही नै हो । पौडेलले भनेझै कांग्रेसमा यस पटक राम्रो वैचारिक बहस होस् र युवा नेतृत्वले पार्टीको जीवनको अगुवाई गरुन् । कांग्रेस पुर्नजीवनको कामना !

Related posts

घट्दो एचआइभी संक्रमण, नेपालको महत्वपूर्ण उपलब्धी

admin

वेरोजगारी व्यवस्थापन र सार्थक जनगणना

admin

विपद् पूर्वतयारी तालिम सम्पन्न

admin