Tanahun Awaj
Uncategorized

न्याय हराएको दुई वर्ष-सम्पादकीय

निर्मला तिमीले न्याय पाउने अझै कति दिन रुने हो
ति बाबु आमाको अझै कतिदिन आँखामा आँशु हुने हो
गर्दैमा चित्कार कल्पना उनको मन दुख्नु पर्ने हो नी
भिजेनन् परेला सम्झेर निर्मला मन हाम्रो ढुङ्गे भो नी

कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको तीन वर्ष भएको छ । उनले न्याय नपाउँदा बाबु आमाले सहनु परेको व्यथा, उनको आत्माले न्यायका लागि गरेको चित्कार अनि संवेदनहिन राज्यको चित्रण गर्न व्यास–१ गल्बुबसीकी अप्सरा भट्टराईले दुइ वर्ष अगाडि लेखेको माथिको कवितांश अझै सान्दर्भिक रहको छ । यो अवधिमा हाम्रो सुरक्षा निकाय बलात्कारी हत्यारा समाउन र उसलाई कानूनको कठघरामा ल्याउन सफल भएको छैन । आमनागरिकको अभिभावक बन्नु पर्ने राज्य पिडकको पक्षपाती र पिडितको घाउमा नुनचुक छर्ने खालको भएपछि न्याय प्राप्ति सहज हुने कुरै भएन जुन थुप्रै निर्मलाहरुको हकमा र अन्य पहूँच विहिनहरुको हकमा हामीले देखिरहेका छौं ।
यो दुइ वर्षमा सरकारले निर्मला बलात्कारी हत्याराको खोजीका लागि विभिन्न समितिहरु बनायो । तर ति कुनैले पनि दोषी किटान गर्न सकेनन् बरु समिति पिच्छेका विरोधाभाषपूर्ण प्रतिवेदन आए । प्रहरीले कहिले बलात्कारी हत्यारा भनेर मानसिक रोगीलाई त कहिले आफ्नै हिरासतमा रहेको मानिसलाई आम नागरिक सामु प्रस्तुत गरेर आफ्नो असक्षमता प्रदर्शन गरिरह्यो । दर्जनौ शंकास्पदको डिएनए परिक्षण गरेको भनियो तर कसैको पनि निर्मलाको शवबाट संकलित स्वावसंग मिलेन । अझ विडम्बना के छ भने देशको शान्ति सुरक्षाको जिम्मा लिएका गृहमन्त्रीले निर्मलाको जस्तो घटना पहिलो नभएको र भविष्यमा पनि हुने भनेर आममानिस खासगरी महिलाहरुमा त्रास छर्ने काम गरे । अहिले त झन प्रहरी के गरिरहेको छ ? निर्मलाको बलात्कार पछि भएको हत्याका बारेमा खोजिनीति भए नभएको केही जानकारी छैन ।
न्यायको माग गर्दा गोलीको शिकार हुनपर्ने विडम्बनाबाट पनि हामी गुज्रियौं । अब आमनेपालीको मनमा उब्जेका प्रश्न के हो भने के हामीले यस्तै व्यवस्थाका लागि लडेका हौं, जहाँ न्यायको माग गर्दा गोली खानु परोस् वा अश्रु ग्याँस खानु परोस् ? अवश्य होइन । थाहा छैन निर्मला पन्त र अरु थुप्रै निर्मलाहरुले कहिले न्याय पाउने हुन् । न्यायप्राप्ति सहज होस् साथै निर्मलाले छिट्टै न्याय पाउन भन्ने कामना । निर्मलाको आत्माले शान्ति पाओस्, हाम्रो शव्द श्रद्धा । यो दुइवर्ष न्याय हराएर गयो । आगामी दिन त्यस्तो नहोस् ।

Related posts

लालिगुराँस आमा समुहको भवन उद्घाटन

admin

भृकुटीको ३८औं वार्षिकोत्सव

admin

सहिद दिवसमा दोस्रो अल्ट्रा म्याराथान दौड नेपाली सेनाका खगेन्द्र बने विजेता

admin