31.2 C
Damauli
September 28, 2026
Tanahun Awaj
Uncategorized

अध्यापन अनुमति पत्रको नतिजाले उब्जाएको प्रश्न

अप्सरा भट्टराई

अध्यापन अनुमती पत्रको नतिजाले उब्जाएको प्रश्न केही महिना अगाडि माध्यमिक तथा निम्न माध्यमिक तहको स्थायी अध्यापन अनुमति पत्रको नतिजा प्रकाशन भएको थियो र अघिल्लो साता प्राथमिक तहको नतिजा पनि प्रकाशन भयो । स्थायी शिक्षक छनौटका लागि शिक्षक सेवा आयोगले लिने परीक्षामा सहभागी हुन होस् या अस्थायी शिक्षक छनौटको परीक्षामा सहभागी हुन आवश्यक वान्छनिय योग्यता मध्ये उम्मेदबारसंग स्थायी अध्यापन अनुमति पत्र हुनु एउटा अनिवार्य योग्यता हो ।
त्यस अर्थमा शिक्षण पेशामा प्रवेशका लागि विभिन्न तहको अध्ययन पश्चातको खुड्किलो हो, अध्यापन अुनमति पत्रको परीक्षा । शिक्षण पेशालाई मर्यादित र सम्मानित बनाउन तथा योग्य व्यक्तिलाई शिक्षण पेशामा प्रवेश गराई बालबालिकालाई उचित शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्ने हेतुले यो व्यवस्था गरिएको बुझ्न कठिन छैन ।
पाठकहरुलाई स्मरण गराउँ कि अध्यापन अनुमती पत्र प्राप्त गर्न परीक्षार्थीले ५० प्रतिशत अंक प्राप्त गरे पुग्छ । प्रतिस्पर्धाका आधारमा धेरै अंक प्राप्त गर्ने उम्मेदबारलाई सफल मान्ने गरी निश्चित संख्या तोकेर लिइने परीक्षा होइन यसको । ५० प्रतिशत अंक प्राप्त गर्ने सबै परीक्षार्थीलाई सफल मानिन्छ र शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र प्रदान गर्दछ ।
तर जुन स्तरको जनशक्ति उत्पादन हाम्रा विद्यालय, विश्व विद्यालयले गरेका छन्, त्यो हेर्दा शिक्षा क्षेत्रको सुदूर भविष्य राम्रो देखिएको छैन । खासगरी शिक्षण पेशामा संलग्न हुन शिक्षा विषय पढेको हुनपर्ने अनिवार्य प्रावधान छ तर एसइइमा तल्लो ग्रेड हासिल गर्ने विद्यार्थीले पनि शिक्षा विषय पढ्न पाउने व्यवस्थाले भविष्यमा शिक्षा क्षेत्रले दक्ष जनशक्ति नपाउने देखिन थालेको छ । कतिपयलाई यो कुराले तीतो लाग्न सक्छ तर यथार्थ यही हो । भर्खरै प्रकाशित प्राथमिक तहको अध्यापन अनुमति पत्रको परीक्षाको नतिजाले त्यही देखाएको छ । केही अगाडि प्रकाशित मावि तथा निमाविको नतिजा पनि त्यो भन्दा भिन्न र उत्साहजनक छैन ।
एकछिन केही समय अगाडि प्रकाशित माध्यमिक तहको नतिजा हेरौं । देशभरबाट ५६ हजार २७५ परीक्षार्थी सहभागी भएकामा आठ हजार ३८८ परीक्षार्थीमात्र न्यूनतम उत्तिर्णाङ्क ल्याउन सफल भए । जुन झण्डै १५ प्रतिशत हो । यसैगरी निम्न माध्यमिक तहको नतिजा अझ कमजोर छ । एक लाख एक हजार ९८४ परीक्षार्थी सहभागी भएको उक्त परीक्षामा जम्मा चार हजार ७२४ जना मात्र ५० प्रतिशत अंक ल्याएर उत्तिर्ण हुन सफल भए । जुन पाँच प्रतिशत पनि होइन । विषयगत रुपमा गणितमा सबैभन्दा धेरै ८.९ प्रतिशत, विज्ञानमा ८.५८, अंग्रेजीमा ४.८१, नेपालीमा ४.१८, र सबैभन्दा कम सामाजिकमा ३.३६ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका छन् ।
यसैगरी प्राथमिक तहको नतिजा हेर्ने हो भने पनि निराशा नै हात लाग्ने खालको छ । उक्त परीक्षामा सहाभागी ६६ हजार ५६२ परीक्षार्थी मध्ये तीनहजार ८८२ मात्र उत्तिर्ण भए । प्रदेशगत रुपमा हिसाब गर्दा प्रदेश १ मा सबैभन्दा धेरै ९.२ प्रतिशत, वागमती प्रदेशमा ८.२, प्रदेश ५ मा ७.४, गण्डकी प्रदेशमा ७.३, प्रदेश २ र सुदुरपश्चिम प्रदेशमा समान ३.३ तथा सबैभन्दा कम कर्णाली प्रदेशमा ३.१ प्रतिशत सहभागीले मात्र ५० प्रतिशत अंक प्राप्त गरे । १० भन्दा कम अंक ल्याउने परीक्षार्थी हजार भन्दा बढी थिए भन्ने कुराले हाम्रो शिक्षाको दयनिय अवस्थालाई दर्शाउँदेन र ?
र यही बेला सरकारले स्वयम सेवक शिक्षक विद्यालयहरुमा खटाउने भनेर कार्यक्रम ल्याएको छ । मेरो बुझाईमा ति शिक्षकहरुले अध्यापन अनुमति पत्र लिनु पर्ने छैन । कल्पना गरौ त स्वयम सेवक शिक्षकको रुपमा हाम्रा सामुदायिक विद्यालयमा कस्तो जनशक्ति जाने भयो ?
फेरी पनि आफ्ना आफन्तलाई जागिर खुवाउने दाउका साथ जसरी यो प्रावधान ल्याइएको छ, यसले शिक्षा क्षेत्रलाई अझै अमर्यादित र सम्मान विहिन बनाउने निश्चित छ ।
अध्यापन अुनमति पत्रको नतिजाले सर्बत्र चिन्ता छाएको छ कि हामीले कस्तो जनशक्ति उत्पादन गरिरहेका छौ ? अब आवश्यक सुधार थाल्न हिम्मत गर्ने हो कि ?

Related posts

दुई साधारण सभालाई काँग्रेस नेता जोशीको सम्बोधन-खरो राजनीतिक र सन्तुलित भाषण

admin

शिक्षक पाल्न देउसी भैलो

admin

कार्यपालिकाका आठ निर्णय

admin