Tanahun Awaj
Uncategorized

समाजवाद र लोकतन्त्र

विगतकाे लेख: https://tanahunawaj.com.np/?p=3950

बाँकी

युवराज पोख्रेल
बिरुवा गा.पा. ५, स्याङ्जा

समाजवाद र लोकतन्त्र कार्लमाक्सका सिद्धान्तहरुः
१) वर्गसङ्घर्षको सिद्धान्तः पूँजीवादी समाजमा सम्पत्तिको महत्व धेरै हुन्छ । पहुँचवालाको हातमा श्रोत र साधन हुने हुँदा समाज विकासको क्रम अगाडि बढे पनि वर्ग विभाजन भई द्धन्द सुरु हुन्छ । समाजको मुल्य मान्यता आर्थिक कुराले प्रभाव पर्छ । असमानता बढ्दै जाँदा बर्गीय ध्रुबिकरण हुन्छ । पुँजीपतिको चरम शोषणले श्रमजीबिहरु संगठित हुन्छन् । आफ्नो वर्गको रक्षा गर्न केन्द्रित हुन्छन् । उध्योगको नाफा मालिकले लिन्छन् । श्रमजीविमा गरीबी, अभाव र असुरक्षा
बढ्छ । श्रमको उचित मुल्य प्राप्त गर्ने र शोषणको अन्त्यको लागि क्रान्ति गर्नैपर्ने अवस्था आउँछ र पूँजीबादको अन्त्यका लागि क्रान्तिको नेतृत्व श्रमजिवि वर्गले गर्छन् । अल्प संख्यामा रहेको हुनाले पुँजीपति वर्गको पतन भई समाजवादी व्यवस्थाको स्थापना हुन्छ । यसले उत्पादनका साधनहरुलाई एकाधिकारबाट सामुहिक करणमा बदल्छन् ।
२) अतिरिक्त मुल्यको सिद्धान्तः वस्तु र सेवाको उत्पादनको मूल्य, श्रमले निर्धारण गर्छ तर पूँजीवादी अर्थ व्यवस्थामा वास्तविक श्रमको मूल्य श्रमिकले
पाउँदैनन् । वस्तुको मूल्यको अनुपातमा श्रमिकलाई थोरै ज्याल दिएर पूँजीपति वर्गले धेरै नाफा लिने हुँदा श्रमिक वर्गको असन्तुष्टि वर्ग सङ्घर्षको कारण बन्दछ ।
३) आर्थिक निर्धारकको सिद्धान्तः आर्थिक तत्व नै समाज विकासको मूलतत्व हो । यसले अन्य व्यवस्थाको सिर्जना गर्छ । उत्पादन प्रणाली न्याय सङ्गत हुनुपर्छ । उत्पादनका साधनमा सीमित व्यक्तिको एकधिकार हुनु हुँदैन । जल जङ्गल, जडीबुटी, जमिन, उद्योग तथा वितरण प्रणालीमा जसको पहुँच हुन्छ, उही सम्पन्न हुन्छ ।
४) ऐतिहासिक, द्धन्द्धात्मक, भौतिकवादी सिद्धान्तः सबै वस्तुको अस्तित्व एक अर्कामा निहित हुने हुनाले कुनै एउटा वस्तु वा व्यक्ति स्वतन्त्र हुन सक्दैन । सामाजिक संरचनामा खास उद्देश्य अनुरुप मानिसहरुमा एकता पनि देखिन्छ तर अर्को समूह वा एकाइमा सङ्घर्ष पनि हुन्छ । यो अन्तरविरोधको गर्दा सङघर्षले सङ्ख्यात्मक रुपबाट गुणात्मक फड्को मार्छ । पछिल्लो चरण झन् परिष्कृत हुन्छ । आदिम साम्यवादलाई दास प्रथाले विस्थापित गर्यो, दासप्रथालाई सामन्ती समाजले विस्थापित गर्यो । सामन्तवादलाई पूँजीवादले विस्थापन गरे जस्तै पूँजीवादलाई समाजवादले विस्थापन गराउँछ । समाजवाद पनि साम्यवादी समाजद्धारा विस्थापित हुन्छ ।
इतिहासको अध्ययन गरी घटनाको कारण खोज्नु पर्छ । पदार्थले नै चेतना हुनाले भौतिक सत्यतालाई मान्नु पर्छ । पदार्थले नै चेतना बनाउने हुनाले भौतिक सत्यतालाई मान्नु पर्छ । विगतको समीक्षा गर्नैपर्छ, द्धन्द्धको नियमलाई बुझ्नै पर्छ र दृष्टि वैज्ञानिक हुनै पर्छ ।
५) उत्पादनको व्यवस्था बारे विश्लेषणः आदिम उत्पादन प्रणाली, दास युगको उत्पादन प्रणाली, सामन्ती उत्पादन प्रणाली पूँजीवादी उत्पादन प्रणाली र समाजवादी उत्पादन प्रणालीको अवधारणा फरक फरक हुन्छ । उत्पादन प्रणालीले मानिसको विचार र मान्यतामा फरक ल्याउँछ । वातावरण फरक हुँदा सोच्ने तरिका फरक हुनु स्वभाविक हो अवस्था अनुसार विचार बन्दछ ।

माक्सवादको सिर्जनात्मक प्रयोग र ज.ब.ज.

देशको खास वस्तु स्थितिको सही विश्लेषण गरेर श्रमजीवी जनताको हितमा काम गर्दा माक्सवादी सिद्धान्तलाई आधार बनाएर यसको प्रयोग गर्नु वा माक्सवादी दृष्टिकोणको व्याख्या गर्नु संसोधन गर्नु वा नयाँ प्रयोग गर्नु पनि माक्सवाद नै हो यसलाई वा ‘मक्सवादको सिर्जनात्मक प्रयोग भनिन्छ’ माक्सवादको सिद्धान्त वा कुनै मोडेललाई हुबहु जस्ताको तस्तै प्रयोग गर्न खोज्नुलाई जडसुत्रवाद भनिन्छ ।
औधोगिककरण पछि मजदुरको संघर्षले समाजवादी क्रान्ति हुन्छ भन्ने माक्सको भनाई रहे पनि सोभियत रुसमा मजदुर र किसानको संयुक्त संघर्ष ‘अक्टोबर क्रान्ति’ मार्फत लेनिनले समाजवादी क्रान्ति सम्पन्न गरे तर सत्तरी वर्ष सम्म एउटै तरिकाले चल्न खोज्दा र विश्व परिस्थिति र वातावरण अनुकुल परिवर्तन हुन नजान्दा रुसको समाजवादी व्यवस्थाको पतन भयो । चिनका नेता माओत्सेतुङ्ले किसानलाई क्रान्तिको स्रोत मानेर गुरिल्ला युद्ध मार्फत समाजवादी व्यवस्था स्थापना गरे । संसारका थुप्रै देशहरुमा आफ्नो आफ्नो देशको परिस्थिति अनुसार समाजवादी विचारलाई अघाडी बढाउन माक्सावादको प्रयोग गरेका छन् । क्युवामा फ्रिडेल क्यास्ट्रो, उत्तर कोरियामा किम इल सुङ्ग भियतनाममा हो चि मिन्हले आ–आफ्नो तरिका प्रयोग गरे ।
नेपालको विशेष परिस्थिति, विश्वको लहर, रुस लगायतका देशमा समाजवादी व्यवस्था पतन हुनाको कारण, जनताको चेतना स्तर, राजनितिक शक्ति सन्तुलन, भूराजनीतिक अवस्था समेत विचार गरेर नेपालका माक्सवादी नेता मदन भण्डारीले माक्सवादको सिर्जनात्मक प्रयोग गर्न ‘जनताको बहुदलीय जनवाद’ भन्ने सिद्धान्त प्रतिपादन गरेका छन् । उनले समाजमा फरक विचार र सङ्गठन भएको यथार्थलाई स्वीकार गर्दै नेपाली समाजमा रहेको बहुदलवादी चरित्रलाई स्वीकार गर्नु पर्ने कुरा बताएका छन् । राज्यसत्ताको संघर्षको बलले लिनुपर्छ । भन्ने पुरानो मान्यता भए पनि जनताको मन जितेर चुनाबबाट निर्वा्चित भई श्रेष्ठता कायम गरेर सरकारमा जाने र लोक प्रिय कार्यक्रम गरी बहुसख्यक जनताको हित हुने काम गरेर पनि समाजवाद सम्म पुग्न सकिन्छ भन्ने उनको निष्कर्ष छ । माक्सवादीहरु अधिनायकवादी हुन्छन् भन्ने आलोचनालाई चिर्दै लोकतन्त्रका सबै राम्रा पक्षहरुलाई अगालेर संगठनलाई समेत लोकतान्त्रीकरण गर्ने पर्ने उनको निष्कर्ष छ । आवधिक निर्वाचन, स्वतन्त्र प्रेस, मानव अधिकारको रक्षा, समावेशी र समानुपातीक प्रतिनिधित्व, संघ संस्था र राजनैतिक दलको स्वतन्त्रता, बहुमतको सरकार र अल्पमतको प्रतिपक्ष जनताको प्रतिनिधिले बनाएको संविधान र कानुन, कानुनी राज्य ‘विधिको शासन’ लोककल्याणकारी सरकार शुसासनका मान्यताहरुलाई स्वीकार गर्दै प्रतिस्पर्धाको आधारमा चुनाब मार्फत समाजवाद तर्फ अगाडी बढ्न सकिन्छ र बढ्नु पर्छ भन्ने मदन मण्डरीको निस्कर्ष छ । लोकतन्त्रका राम्रा पक्षलाई आत्मसात गर्दै सबै प्रकारका विवेदहरुको अन्त्य गर्दै समाजवादले खोजेको सामाजिक न्याय सहित आर्थिक समाजिक रुपमान्त्रण गर्ने निर्देश राजनैतिक कार्यक्रमलाई ‘जनताको बहुदलिय जनवाद’ भनिन्छ । छोटकरीमा ‘ज.ब.ज.’ भनिन्छ । जबजको सिद्धान्त प्रतिपादन गरेको हुनाले मदन भण्डारीलाई जननेता भन्ने गरिन्छ ।

माक्सवादको आलोचनाः
माक्सवादको विपक्षमा तर्क गर्नेहरुको यसको आलोचना गर्दछन् । माक्सवाद मान्न् र नमान्ने गरी विश्व दुई ध्रुवमा विभाजित छ । मानिसले मान्दै आएको भन्दा फरक बुझाइ हुनाले पनि आलोचना हुनु स्वभाविक छ ।
१) पूँजीवादी समाजशास्त्रीहरुले माक्सवादको खण्डन गरेका छन् । समाजको समग्र विकास प्रक्रियालाई नियाल्दा द्धन्द्धमात्र समाज निमार्णको कारण नभई समान स्वार्थ, पद, हैसियत, लिङ्ग र पेसासँग सम्बन्धित सवालमा समन्वय र सहकार्यको महत्वलाई बिर्सन हुँदैन भन्ने उनीहरुको तर्क छ ।
२) ईश्वरको अस्तित्वलाई अस्वीकार गरेको हुनाले आध्यात्मिक जगतले ‘नास्तिक’ भनी माक्सवादको आलोचना गर्दछ ।
३) व्यक्तिगत स्वतन्त्रताका पक्षधर संसदीय लोकतन्त्रका पक्षधरहरुले सर्वहराको अधिनायकत्व अस्वीकार गर्दछन् ।
४) पूँजीवादी देशहरुले गरेको प्रगति र विकासले समाजवाले मात्र समस्याको समाधान दिन्छ भन्ने तर्कलाई चुनौती दिइरहेको छ ।
५) समाजमा वर्ग विभाजन गर्ने तत्व आर्थिक आधार मात्र नभई जात, धर्म, संस्कृति, ज्ञान, लिङ्ग, शिक्षा र सिद्धान्तहरु पनि हुन् भन्ने आलोचकहरुको तर्क छ ।
६) समाजमा कार्यगत एकता, एकीकरण, समन्वय मेलमिलाप र सहिष्णुतालाई द्धन्द्धवादी दृष्टिकोणबाट मात्र हेरिनु हुँदैन ।
७) श्रमले वस्तु वा सेवाको मूल्य निर्धारण गर्छ भन्ने माक्सवादी विचार छ तर वस्तुको मुल्य पूँजी, प्रविधि र बजारको अवस्थाले निर्धारण गर्छ भन्ने आलोचकहरुको तर्क छ ।
८) धनी र गरीब (मालिक र श्रमजीवी) बीच सधै सङ्घर्षमात्र नभई विभिन्न तर्कहरु र बाध्याताहरुले सम्झौता पनि हुने गरेको छ ।
९) कतिपय दार्श्निकहरुले कार्लमाक्सले परिकल्पना गरेको साम्यवाद (रामराज्य) जस्तो हुनुपर्छ र त्यो सम्भव छ भनेका छन् । दार्श्निक ओशो यस्तै तर्क गर्ने मध्येका एक हुन् । माक्सले भने जस्तै सामूहिक बसाइ (कम्युन) को प्रयोग आध्यात्मिक आश्रमको रुपमा ओशोले अमेरिकामा गरेका थिए ।
१०) उत्पादन संरचना राष्ट्रियकरण गर्ने समाजवादी ढाँचाको पनि आलोचना गरिएको छ ।

समाजवाद र लोकतन्त्रमा के फरक छ ?
जनताले चुनेका प्रतिनिधिले जनताकै हित गर्ने गरी जनतालाई नै शासन गर्ने पद्धतिलाई लोकतन्त्र भनिन्छ (By the people to the people for the people) माक्सवादको सिर्जनात्मक प्रयोग गर्ने नव माक्सवादीहरुले पनि लोकतन्त्रका सबै राम्रा पक्षहरुलाई स्वीकार गर्ने कुरा गर्छन् । तर पनि माक्सवादी र लोकतन्त्रवादी (पूँजीवादी) को सोचाइँ तथा दृष्टिकोणमा केही आधारभूत भिन्नता छन् । लोकतन्त्रवादीहरु खुल्ला बजार नीतिको पक्षमा हुन्छन् भने माक्सवादीहरु राज्य नियन्त्रित बजारनीतिको पक्षमा हुन्छन् । व्यक्ति असल भए परिवार राम्रो बन्छ । परिवार राम्रो भए समाज राम्रो हुन्छ । समाज राम्रो भए पछी देश पनि राम्रो हुन्छ भन्ने सोचाइ लोकतन्त्रवादीहरुको हुन्छ । राष्ट्र सक्षम र आत्मनिर्भर भए समाज राम्रो बनाउन सकिन्छ, समाज व्यवस्थित भएपछी शोषण हुँदैन र परिवार राम्रो बन्छ । समाज र परिवार राम्रो भए पछी देशका हरेक नागरिक असल सक्षम हुन्छन् भन्ने माक्सवादीको विचार हुन्छ । माक्सवादीहरु आफूलाई भौतिकवादी भन्दछन् । लोकतन्त्रवादीहरु ईश्वर मान्ने वा नमान्ने निर्णय व्यक्तिगत स्वतन्त्रता हो भन्दछन् । माक्वादीहरु पनि जनताको धार्मिक स्वतन्त्रतामा अवरोध गर्न चाहँदैनन् । तर उनीहरु आफू भने धर्म मान्दैनन् । जनतालाई धर्मको बिरुद्ध बल प्रयोग गर्दैनन् । मान्छे धर्म मान्ने पनि हुन्छन् भन्ने पनि हुन्छन् । सबै धर्म मान्ने जति असल मात्र वा खराब मात्र पनि हुँदैनन् । त्यस्तै सबै नास्तिक पनि असलै मात्र पनि हुँदैनन् । माक्सवादीहरु सिद्धान्त, पद्धति र अनुशासनमा जोड दिन्छन् भने लोकतन्त्रवादीहरु, अभ्यास, प्रचलित मुल्यमान्यता, कानुन र मानव अधिकारमा बढी जोड दिन्छन् । साहित्य र संस्कृति आर्थिक वितरण प्रणालीले निर्धारण गर्छ । साहित्य पनि वर्गीय सोंच अनुसार फरक हुन्छ । आफ्नो वर्गको उत्थान गर्ने प्रगतिशिल साहित्य रचना गर्नु पर्छ भन्ने माक्सवादी दृष्टिकोण छ । मानिसको सोचाईं, जीवन भोगाईं, र अनुभूति नै साहित्य हो, त्यसकारण यसलाई वर्गीय दृष्टिकोणबाट हेरिनु हुँदैन, स्वतन्त्र छोड्नु पर्छ भन्ने लोकतन्त्रवादीको दृष्टिकोण छ । वस्तुको मूल्य श्रमले निर्धारण गर्ने हुनाले मजदुरहरु शोषणमा परेका छन् । पूँजीको मूल्य छुट्टयाएर बचेको नाफा कमाउनु पर्छ । श्रमको मूल्य दिए पछि बँचेको नाफा लगानीकर्ताको हुनु पर्छ भन्ने पूँजीपतिहरुको विचार हुन्छ । लोकतन्त्रले बहुदलिय प्रतिस्पर्धा, मानवअधिकार, स्वतन्त्र प्रेस, पैत्रिक सम्पत्तिमा सन्तानको पूर्ण अधिकारको वकालत गर्दछ । समाजवादले समानतामा आधारित समतामूल समाज, पछाडि परेका वर्ग समुदायको उत्थान, आर्थिक प्राकृतिक श्रोत साधनको न्यायपूर्ण वितरण, समावेशी, समानुपातिक प्रतिनिधित्व, पहुँच र पहिचानमा जोड दिन्छन् ।
दृष्टिकोण फरक भए पनि लोकतन्त्रवादीहरुले समाजवादले दिशानिर्देश गर्न खोजेको राम्रा पक्षहरुको अनुशरण गर्न थालेका छन् । समाजवादीहरुले पनि लोकतन्त्रका आधारभूत मूल्य मान्यतालाई आत्मसात गर्दै गएका छन् । संसारका धेरै देशहरुले मिश्रित अर्थ नीति अँगालेका छन् । मिश्रित अर्थतन्त्र सफल पनि भइरहेको छ ।
हाम्रो एउटा छिमेकी मुलुक चीन माओत्सेतुङ्गले देखाएको समाजवादको मार्गमा अगाडि बढिरहेको छ । अर्को छिमेकी मुलुक भारत महात्मा गान्धीले देखाएको लोकतन्त्रको मार्गमा हिँडिरहेको छ ।

वि.पी. कोइराला र प्रजातान्त्रिक समाजवाद
नेपालका लोकतन्त्रवादीहरुले वि.पी. कोइरालालाई आदर्श व्यक्तिको रुपमा हेर्दछन् । राष्ट्रियता, प्रजातन्त्र र समाजवाद वि.पी.को सिद्धान्तका आधार हुन् । समाजवादको राम्रा पक्षहरुलाई अनुसरण गर्नु पर्छ । सामाजिक न्याय दिलाउनु पर्छ तर समाज पूर्ण लोकतान्त्रिक पद्धतिबाट नै चल्नु पर्छ, यसैबाट समाजले प्रगति गर्छ भन्ने उनको बुझाइ हो । नेपाली भएर पनि अङ्ग्रेज बिरुद्धको भारतीय स्वतन्त्रता आन्दोलनमा पनि सहभागी भएका वि.पी. कोइराला भारतका सन्त तथा प्रजातन्त्रवादी नेता महात्मा गान्धीबाट धेरै नै प्रभावित थिए । निडर, विद्धान, र दूरदर्शी नेताका रुपमा वि.पी.लाई नेपालीले सम्मान गर्दछन् । नेपालमा १०४ वर्षसम्म रहेको जहानीय राणाशासनको अन्त्य गर्न वि.पी. कोइरालाको नेतृत्वमा भएको आन्दोलन सफल भएको थियो । वि.पी. कोइराला नेपालका प्रथम जननिर्वा्चित प्रधानमन्त्री पनि हुन् ।
वि.पी. कोइराला साहित्यकार पनि हुन् उनले ‘सुम्निमा’, ‘दोषी चस्मा’, आत्म बृतान्त, जेल जर्नल जस्ता थुप्रै पुस्तक लेखेका छन् । यौन मनोविज्ञानमा आधारित पुस्तक लेख्ने वि.पी. कोइराला सरल र शालीन व्यक्ति थिए ।
माक्सवादीले व्याख्या गरेको समाजवाद र वि.पी.ले भनेको समाजवादमा फरक छ । प्रजातन्त्रमा समाजिक न्याय दिलाएपछि समाजवाद हुन्छ भन्ने वि.पी.को बुझाइ हो भने सर्वहारा मजदुर वर्गको अधिनायकत्व सहितको राज्य व्यवस्थालाई माक्सवादीले समाजवाद भन्दछन् ।
‘राष्ट्रमाथि सङ्कट आइपरेमा राष्ट्रवादी शक्तिहरु सबै मिलेर विदेशी हस्तक्षप वा षडयन्त्र रुपी सङ्कटको सामना गर्नु पर्छ’ भन्ने वि.पी.को राष्ट्रिय मेलमिलापको नीति हो । राष्ट्रिय स्वार्थका अगाडि व्यक्तिगत, समूहगत वा कुनै पनि स्वार्थ गौण हो । अन्तराष्ट्रिय मञ्चहरुमा देशभित्रको विवाद देखाउन हुँदैन । एकमत र एकजुट हुनुपर्छ भन्ने उनको विचार थियो ।
वि.पी.ले समाजवादभन्दा राष्ट्रियता र प्रजातन्त्रलाई नै बढी जोड दिएको देखन्छ । २०३३ सालमा लामो समयको प्रवासपछि राष्ट्रय मेलमिलापको नीति लिएर स्वदेश फर्कदा देशवासीको नाउँमा अपिल गर्दै उनले भनेका छन् ‘…. राष्ट्रिय एकता प्रजातन्त्रको जगेर्नाबाट मात्र खडा हुन सक्छ, र प्रजातन्त्रको जग देशको उत्तरोत्तर आर्थिक विकास र न्यायपूर्ण आर्थिक व्यवस्थामा मात्र बलियो हुन सक्छ । तसर्थ हाम्रो दृष्टिमा राष्ट्रियता, प्रजातन्त्र र विकास उन्नति एक अर्कामा आधारित तत्व हुन् । …..’
देशमा लोकतन्त्र आइसकेपछी यसको सही प्रयोगप्रति चिन्ता गर्दै वि.पी.ले भनेको – ‘देशमा प्रजातन्त्र आएपछि मोटाघाटा, सुकिलामुकिला, चिल्ला गाडी चढ्नेहरुको हावी हुनेछ, त्यसको विरुद्धमा आम कार्यकर्ताले फेरी एकचोटी सङ्घर्ष गर्नुपर्ने छ ।

अग्रपन्थी लोकतन्त्र
समाजवाद र लोकतन्त्र एउटा चराको दुईवटा पखेटा जस्तै हुन् । यी दुवै आवश्यक छ । तर चरा उड्नलाई पखेटा मात्र काफी हुँदैन । कता उड्ने भन्ने कुरा चराको दिमागले निर्णय गर्छ भने झैं समाजवाद र लोकतन्त्रलाई सन्तुलन मिलाउन हाम्रो बुद्धि विवेक प्रयोग गर्नुपर्छ । समाजलाई अगाडि बढाउन आध्यात्मवाद र भौतिकवाद दुवै आवश्यक छ भन्ने मान्यताको विकास गर्ने कोरियाका फादरमुन हुन् । यसलाई उनले नाम ज्भबमधष्लनक म्झयअचबअथ दिएका छन् । नेपालीमा यसलाई अग्रपन्थी लोकतन्त्र भनिन्छ । सम्पूर्ण संसार एक घर, संसारका सबै मानिस एक परिवार भन्ने यसको मूल नारा हो । नेपालमा एकनाथ ढकालले यो नीतिको प्रर्वधन गरेका छन् ।

युवराज पोख्रेल
बिरुवा गा.पा. ५, स्याङ्जा

Related posts

थुनछेक आदेशमा न्यायीक सद्विवेक

admin

कांग्रेस नेता जोशीको तनहुँमा सुरक्षित रहन आग्रह

admin

सहिद

admin