26.3 C
Damauli
September 20, 2026
Tanahun Awaj
Uncategorized

संघीय लोकतान्त्रिक गणतन्त्रको कानूनी राज

ऋषिराम पोख्रेल
अधिवक्ता

पृष्ठभूमिः
हामीले संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएको अभियुक्तको विरुद्ध अभियोग दायर गर्ने न्यायाधिवक्ता रातारात भगुवा सरुवा लिन पर्ने अवस्थाका लागि होइन । हामी स्वतन्त्र न्यायपालिकाको पक्षमा उभिएको कानून बमोजिम न्याय सम्पादन गर्ने न्यायाधीश कार्यक्षेत्र नै छोडेर भाग्न पर्ने अवस्था ल्याउनका लागि होइन । रौतहत जिल्लाका न्यायाधीश दीपक ढकाल र न्यायाधिवक्ता फणीन्द्रराज कटवालको भागाभागप्रति सम्पूर्ण कानूनी राजका पक्षधरहरु संवेदनशिल र गम्भिर हुनु परेको छ । निर्दलीय पञ्चायती व्यवस्था र संघीय लोकतान्त्रिक गणतन्त्र दुई व्यवस्था मध्ये कुन व्यवस्थामा कानूनी राज थियो, आज छलफलको विषय बनेको छ । सम्बद्ध चासो बढेको छ ।

कानूनी राजः
नागरिक स्वतन्त्रता र मौलिक अधिकारको रक्षा नेपालको संविधानको प्रस्तावनाले प्रत्याभूत गरेको छ । त्यसैगरी मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र र निष्पक्ष न्यायपालिका र कानूनी राज्यको अवधारणाप्रतिको प्रतिबद्धता संविधानले प्रत्याभूत गरेको अहरणीय अधिकार हो । नेपालको कुनै पनि भागमा गै पेशा, रोजगार र उद्योग गर्ने व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रता नेपालको संविधानले प्रत्याभूत गरेको छ । करिव करिव यी अधिकारहरु २०१५ सालदेखि नै सैद्धान्तिक रुपमा नेपालीले उपभोग गर्दै आएका हुन् । २०१७ सालदेखि २०४६ सालको अवधिमा यस्ता अधिकार उपभोग गर्न पाईएको रहेछ थिएन भन्ने हाम्रो बुझाइ आज भ्रम सावीत भएको छ । देशभित्र कानूनी राजको अवस्था दयनीय अवस्थामा रहेछ ।

व्यवहारिक कानूनी राजः
व्यवहारिकताको कुरा गर्ने हो भने देशमा २०४६ पछि भएका राजनीतिक परिवर्तनले पनि त्यो अधिकारको प्रचलन गराउन नसकेको रौतहट प्रकरणले पुष्टि गरको छ । अपराधको सूचना पाएर घटनास्थल पुग्ने प्रहरी इन्स्पेक्टर इन्द्र सुवेदीको रातारात सरुवा हुनु पर्ने बाध्यताबाट बचाउन कानूनी राजको प्रत्याभुति दिलाउन जनताद्वारा निर्मित भनिएको संघीय लोकतान्त्रिक संविधानले पनि सकेन । अपराधको अनुसन्धान गर्ने सुरक्षाकर्मिलाई अभियोग लागेका व्यक्ति मोहमद अफ्ताव आलमलेले आफ्नो राजनीतिक पहूँचको आडम्बरमा कसरी धम्क्याए सामाजिक सञ्जालमा सबैले सुन्न पाएकै हुनु पर्दछ । राज्यसंयन्त्र कसरी प्रयोग भयो इन्स्पेक्टर इन्द्र सुवेदीको सरुवा पछि १२ बर्षसम्मको गुपचुपले पुष्टि गरेकै छ । हाम्रो राज्य संयन्त्र कति निरिह छ भन्ने कुरा कानुन बमोजिम आदेश गर्ने न्यायाधीश दीपक ढकाल र न्यायाधिवक्ता फणीन्द्रराज कटवालको सुरक्षाप्रति पूर्ण आश्वस्त पारेर त्यहाँ राख्न सकेन । आदेश भएको भोलि पल्टदेखि कार्यालयमा हाजिर नभै सरुवा हुँदा राज्यको सुरक्षा व्यवस्था माथि प्रश्न उठ्छ भनेर नबुझ्ने यो राज्य सत्ताबाट अरु सुरक्षाको के आशा गर्ने ?

निष्कर्षः
हामीले ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रमा देखिएको व्यवहारिक कानूनी राज निमुखा र सत्ताको पहूँच नभएकाहरुका लागि मात्रै हो भन्ने पुष्टि हुँदै गएको छ । महरा काण्ड र आलम काण्डको विशेष परिस्थितिमा बाहेक राज्यसत्ताको पहुँच प्रयोग गर्नेहरुले जतिसुकै अपराध गरेपनि उन्मुक्ति पाउने कानूनी राज हामीले उपभोग गर्दै आएका रहेछौं । त्यसैले गाउँका छोटेमोटे सत्ताउन्मादका उत्ताउला विचौलियाहरुले कार्यकर्ताहरुको आवरणमा प्रहरी र अपराधीसंग साँठगाँठ गर्ने सोझा, निमुखा नागरिकलाई प्रहरीको बर्दीधारीबाट चौकीमा पु¥याएर सत्ता र बर्दीको रवाफ देखाएर हुँदा नहुँदा मुद्धा लगाएर जेलमा सडाइ दिने धम्कि दिएर नक्कली रजिष्टर खडा गरेर तारीखमा राखेर उपस्थित गराएर दण्ड जरिवाना असुल्न र हसुर्न सफल हुँदा रहेछन् । पर्दाभित्रका यस्ता परिवेशबाट बाहिर निस्कन बाध्य कसूरहरुमा मात्र हामीेले अनुसन्धान, अभियोजन, बहसपैरवी र फैसलाको नाटक मञ्चन गरिरहेका रहेछौं भन्ने दुःखानुभूत भैरहेको छ ।

Related posts

कोरोनाको थप लक्षण

admin

प्याराग्लाडिडको सफल उडान परिक्षण

admin

प्रेस स्वतन्त्रताका पक्षमा-सम्पादकीय

admin