30.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

गोवद्र्धन शर्माको “मेरो जीवन यात्रा” लोकार्पण

दमौली/प्रजातन्त्रका सेनानी तथा नेपाली कांग्रेसका नेता स्व. गोवद्र्धन शर्माको आत्म वृतान्त ‘मेरो जीवन यात्रा’को एक कार्यक्रम बीच नेपाली कांग्रेसका सभापति शरेबहादुर देउवाले लोकार्पण गरेका छन् ।

पुस्तक लोकार्पण गर्दै सभापति देउवाले नेपालको प्रजातान्त्रीक इतिहासमा गौवशाली इतिहास भएको जिल्लाका रुपमा आफुले तनहुँलाई चिन्ने गरेको बताए । देउवाले गोवद्र्धन शर्मा अत्यन्त उत्साहि, नथाक्ने नझुक्ने स्वभावका भएको स्मरण गर्दै वर्तमान पुस्ताले शर्माको जीवनबाट सिक्नु पर्ने उल्लेख गरे । फरक प्रसंंगमा देउवाले सरकार दुइतिहाइको आडमा नागरिकका प्रजातान्त्रीक अधिकार खोस्ने कार्यमा लागेको आरोप लगाउँदै प्रजातन्त्रका लागी सात दशक देखि लडेको कांग्रेसलाई यो सैह्य नहुने बताए । उनले कम्युनिस्ट पार्टीको सरकार भएको तर सत्ताधारी दल कम्युनिस्ट राज्य भए जसरी अगाडि बढ्न खोजेको उल्लेख गर्दै त्यो भ्रममा नपर्न नेकपाका नेता कार्यकर्तालाई आग्रह गरे ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले शर्मा सधै आफ्ना लागि प्रेणाको श्रोत भएको बताए । पौडेलले संघर्ष गरेर लोकतन्त्र ल्याउने अठोटका साथ जीवन पर्यन्त लडेका शर्मा सधै गरिब र दलितका पक्षमा लडेको स्मण गरे । वर्तमान सरकार प्रजातन्त्रको उपयोग गर्दै सत्तामा पुगेर प्राप्त शक्तिको दुरुपयोग गर्दै प्रजातन्त्र नै समाप्त गर्न लागेको हो कि भन्ने शंका कांग्रेसलाई रहेको पौडेलले बताए । अख्तियार, अदालत लगाएतका संवैधानिक निकायलाई तर्साउने कार्यमा सरकार लागि परेको पौडेलको आरोप थियो ।

कांग्रेस महामन्त्री सशांक कोइरालाले आफुले शर्मालाई पहिलो पटक बनारसमा भेटेको उल्लेख गर्दै जननायक बीपी कोइरालाको अत्यन्त नजिकको व्यक्तित्वको रुपमा आफुले शर्मालाई चिनेको बताए । कोइरालाले कांग्रेस एक भए कसैले हराउन नसक्ने उल्लेख गर्दै आगामि उप निर्वाचनमा कांग्रेस उम्मेदवालाई जिताउन सबै नेता कार्यकर्तालाई एकतावद्ध भए लागि पर्न आग्रह गरे ।

नेकपाका केन्दीय सदस्य प्रतापलाल श्रेष्ठले इतिहास बीरहरुको लेखिने भन्दै पञ्चायती व्यवस्थाको अन्तयका लागि शर्माको पुस्ताले र गणतन्त्र स्थापनाका लागि वर्तमान पुस्ताले गरेको योगदानको सम्मान हुनुपर्ने बताए । श्रेष्ठले प्रतिगामी तत्वहरुले वर्तमान सरकारको अनावश्यक आलोचना गरिहँदा कांग्रेस समेत आलोचनामा उत्रेर उनीहरुलाई नै सहयोग गरेको त होइन भन्ने लाग्न थालेको भन्दै कांग्रेसको आलोचना गरे ।

पुस्तक समिक्षा गर्दै वष्ठि पत्रकार कुलचन्द्र वाग्लेले शर्माले कहिल्यै अवसरसंग साट्न राजनीति नगरेको उल्लेख गर्दै पुस्तक पठनिय रहेको बताए । गोवद्र्धन शर्मा स्मृति कोषका सचिव एवं शर्माका सुपुत्र रामचन्द्र पोखेलले स्वागत गरेको कार्यक्रममा गण्डकी प्रदेशका सभासद दोवाटे विक तथा सरिता गुरुङ समेतले मन्तव्य राखेका थिए । कोषका उपाध्यक्ष विष्णुप्रसाद शर्माको सभापतित्वमा आयोजित लोकार्पण कार्यक्रममा कांग्रेस केन्दीय सदस्य शंकर भण्डारी, प्रदिप पौडेल, गोविन्द भट्टाई, पूर्व राज्यमन्त्री अमरराज कैनी, पूर्व जिल्ला सभापति ध्रुव वाग्ले लगायतका नेता तथा थुप्रै कांग्रेस समर्थक शुभेच्छुकको उपस्थिति रहेको थियो ।

Related posts

अक्षय श्रद्धाराशी संकलनार्थ देवघाटमा विराट ज्ञानमहायज्ञ

admin

पैतालीस दिने सिलाई तालिम

admin

किरियापुत्री भवनलाई सहयोग

admin