19 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

महिला सुन्दरता हेर्ने चस्मा बदलौं

जबसम्म हामी महिलाको सुन्दरतालाई शारीरिक बनावटको दृष्टिकोणले मात्र मुल्याङ्कन गछौं तबसम्म हामी महिला भनेको पुरुषको भोगाईको साधन मात्र हुन् भन्ने मानसिकताले गांजिएका छौं भनेर बुझ्नु पर्छ ।

छविदीप आले
[email protected]

–ओए! तैंले याद ग¥याछस् ? …को फिगर त क्या खत्रा छ नी ।
–बिहे गरे पनि बडी चाहिँ सहि मेन्टेन ग¥या रैछ ।
–हैन …… त बिहे गरेपछि पो झन लोभलाग्दो भाछ त !
–…… क्या छ है ? मुखै रसाउने ।
माथि उल्लेखित वाक्यांशहरु अहिलेका आधुनिक पुरुष वर्गले महिलाहरुको शारिरीक बनावटको विश्लेषण गर्दा प्रयोग गर्ने वाक्यहरुका प्रतिनिधि वाक्य हुन् । यस किसिमको भाषा विशेष गरी अल्लारे युवा पुस्तामा प्रचलित छ । तर परिपक्क मानिएका र ठानिएका वर्गले पनि यस किसिमको भाषा प्रयोग गरिरहेको देखिन्छ सुनिन्छ ।

खासमा कुनै पनि रुप आफैंमा सुन्दर र कुरुप हुँदैन । यो हेर्ने दृष्टिमा फरक पर्ने कुरा हो । तर हामीले सुन्दरतको एउटा अमुर्त खाका बनाएका छौं । जसको अमिट छाप हाम्रो मानसपटलमा छ । सुन्दरताले स्वभाविक रुपमा सबैलाई लोभ्याउँछ सबैको ध्यानाकर्षण गर्छ । त्यसैले पनि प्रायः हरकोही सुन्दर हुन चाहन्छन् । आफ्नो शरीरलाई चुस्त दुरुस्त राख्न चाहन्छन् । स्वाथ्यको दृष्टिकोणले पनि शरीरलाई अनावश्यक मोटोपन बाट जोगाउनु राम्रो कुरा हो अथवा मानौ हामीले बुभ्ने गरेको भाषामा मिलेको शरीर हुनु राम्रो हो । माथिको वाक्यांशले पनि कसैको शरीर मिलेको छ है भन्ने कुरा नै बताउँछ । तर विडम्बना के हो भने माथि उल्लेख गरिएका जस्ता भाषा न त स्वास्थ्यको दृष्टिकोणबाट भएको हो न त सुन्दरताको वर्णन गर्ने दृष्टिकोणबाट नै । यी अभिव्यत्ति केबल शारीरिक आकर्षणको दृष्टिले व्यक्त भएका हुन् । जसको सोझो अर्थ आफु त्यो महिला प्रति शारीरिक रुपले आकर्षित र सम्बन्ध राख्न इच्छुक भएको भन्ने बुझिन्छ । अझ भयङ्कर सत्य के हो भने पुरुष वर्गलाई यस्ता भाषाको प्रयोग गर्न कुनै संकोच मान्नु पर्दैन । जहाँ र जुनसुकै अवस्थामा पनि प्रयोग गरिदिन्छन् । यसले पुरुष वर्गमा रहेको एउटा डरलाग्दो र विकृत मानसिकता तर्फ इशारा गर्छ त्यो के भने ऊ महिलालाई आफूभन्दा तल्लो दर्जाको ठान्छ, महिलालाई केवल भोग्य वस्तुको रुपमा मात्र लिन्छ र हरेक सुन्दर महिलाहरुलाई पाउन चाहन्छ । कथित नेपाली आधुनिक त्यो मानसिकता अझै उदाङ्गो रुपमा देखिँदै छ । अहिले युट्युवमा सनसनी मच्चाएको “घाँटी भन्दा तलत राम्रै छे” भन्ने गीतले पनि त्यस्तै सङ्केत गरेको छ ।

साहित्य सृजनाहरुमा , गीत रचनाहरुमा खासगरी महिलाको शारीरिक सुन्दरताको वर्णन गरिनु नौलो कुरा होइन् । यो पहिलेदेखि हुँदै आएको छ । तर कसरी वर्णन गरिएको छ, कस्तो भाषा प्रयोग भएको छ भन्ने कुराले महत्व राख्छ । साहित्यिक रचनाहरुमा प्रतिकात्मक रुपले सुन्दरताको वर्णन गर्दा राम्रो मानिन्छ । जस्तै ः पीपल पाते ओठ, रेशमी केश, मृगनयनी, मोती जस्ता दन्त लहर, गाजलु आँखा, चन्द्रवदना आदि । केही समय पहिला एउटा गीतले खुबै बजार तताएको थियो । गीतको बोल थियो “तिम्रो फिगर कोकाकोला”। तुलना गरेर हेर्ने हो भने तिम्रो फिगर कोकाकोला भन्नु र घाँटीभन्दा तल त राम्रै छे भन्नुमा केही फरक छैन, दुवैको अर्थ शरिर राम्रो छ भन्नु हो । तर एउटै अर्थ दिनुमा पनि कस्ता शव्द प्रयोग गरिएको छ भन्ने कुराले फरक पार्छ । फिगर कोकाकोला हिट हुनु र घाँटी भन्दा तल विवादमा तानिनुमा ती गीतमा प्रयुक्त शब्दकै प्रमुख हात छ । पङ्तिकारलाई यो आलेख मार्फत कुनै पनि सर्जकको आलोचना गर्नु छैन । तर सर्जकहरुले सृजानाका क्रममा शब्द चयन गर्दा ध्यान पु¥याउनु होला भन्ने आशा र शुभेच्छा चाहिँ राख्न चाहन्छु ।

मैले यो आलेखमा घाँटी भन्दा तल त राम्रै छे भन्ने गीतको सन्दर्भ किन समेट्नुको कारण चाहिँ सर्जकले प्रयोग गरेका शब्दहरु मात्र हैन । यो गीतको भिडियो हेरिसकेपछि मलाई एउटा खुल्दुलीले साह्रै सताएको छ । उनलाई यहि आशयको गीत लेख्न किन सुझ्यो ? अनि उनले यस्तै प्रकारका शब्दहरुनै किन चयन गरे ? मलाई लागेसम्म सर्जकहरु दुइ प्रकारका हुन्छन् । एक आफ्नै वरपरको वास्तविकतालाई रचनामा प्रस्तुत गर्ने । अर्काे वास्तविकता भन्दा धेरै परको कुराहरु कल्पना गरेर सृजना गर्ने । एकाधलाई छोडेर धेरै सर्जकहरु पहिलो कोटीका हुन्छन् । उनीहरुको सृजना र रचनाहरुमा समाजको वास्तविकता, संस्कृति र भाषाको प्रत्यक्ष प्रभाव हुन्छ । यो दृष्टिकोणबाट हेर्ने हो भने यो गीत कतै एैना तै हैन जहाँ हामी आफ्नै अनुहार देखेर ऐनासंग रिसाएका छौं ? आफ्नै मुहारको प्रतिविम्व देखेर लज्जित भएका छौं र ऐनालाई दोष थोपर्दै छौं । यसो भन्दै गर्दा प्रस्तुत गीत ठीक छ भन्नु मेरो तात्पर्य होइन । साहित्य रचना गीत, संगित सालिन र सौम्य हुनै पर्छ, यिनीहरुले समाजमा राम्रो सन्देश दिनैपर्छ । तर सत्य कुरा के पनि हो भने यो गीतले हाम्रो समाजको दुइवटा तितो यथार्थलाई कोट्याईदिएको छ । एक पुरुषहरुले महिलाको सुन्दरतालाई कसरी मूल्याङ्कन गर्छन् र उनीहरु महिलाबाट के चाहन्छन् । दोस्रो बर्तमान नेपाली समाजमा बढ्दै गएको विवाहेत्तर सम्बन्धको छाडापन । यो आलेख पढ्दैगर्दा आदरणिय पाठकज्यूहरुलाई ममाथि आक्रोष उत्पन्न हुनसक्छ । किनभने तपाईँहरु स्वयम चाहिँ त्यो वर्गमा नपर्नुहोला तर यस्तो विकृत मानसिकता भएका व्यक्तिहरु हाम्रै वरपर छन्, राम्रोसंग नियाल्नु मात्र पर्छ । विवाह पछि परपुरुष वा परस्त्रीसंगको सम्वन्धले घरबार विग्रिएकाहरु हाम्रै छिमेका छन् । र त निस्किएको छ घाँटीभन्दा तल त राम्रै छे , अरुकै श्रीमती भएपनि पट्याईदिउँकी भन्ने आशयका गीतहरु ।

हामीले बुझ्नु पर्ने र कतिपय हकमा बुझेर पनि बुझ पचाएको कुरा के हो जस्तो लाग्छ भने महिलाको सुन्दरता मापन गर्ने आधार उसको शारीरिक बनावट मात्र हैन । कुनै पनि महिला सुन्दर हुनुमा उसको शारीरिक बनावट मात्र हैन । उसको रुप, गुण, कला, सीप, बानी र व्यवहारको पनि त्यतिकै महत्व रहेको हुन्छ । जबसम्म हामी महिलाको सुन्दरतालाई शारीरिक बनावटको दृष्टिकोणले मात्र मुल्याङ्कन गछौं तबसम्म हामी महिला भनेको पुरुषको भोगाईको साधन मात्र हुन् भन्ने मानसिकताले गांजिएका छौं भनेर बुझ्नु पर्छ । एकातिर हामी तिनै महिलाको पुजा गछौं हिंसा र क्रोधको समन गर्ने शक्तिको श्रोतको रुपमा देवी दुर्गाको नाममा अनि धन धान्यको पूर्णताको कामना गर्दै लक्ष्मी भनेर र विद्याको श्रोतको रुपमा सरस्वती भनेर अनि अर्काे तिर फिगर कोकाकोला र घाँटीभन्दा तल त राम्री छे भनेर तिनै महिलाको देहको सुन्दरताको तुच्छ कुरा गरेर आफु आकर्षित भएको कुरा गर्छौं । भोग गर्न चाहेको लालसा प्रकट गर्छाै । यो त हाम्रो दोहोरो चरित्र भएन र ? झमककुमारी घिमिरे र पारिजातमा देहको सुन्दरता खोज्ने कि बौद्धिक ? पासाङलाम्हु शेर्पाको देहको सुन्दरताको कुरा गर्ने कि संसार जित्ने अदम्य साहसको ? मंगलादेवी सिंह र साहाना प्रधानहरुको जहानिया राणा शासन अनि ३० वर्षे पञ्चायती कालरात्री विरुद्ध लड्ने अथक उत्साह र त्यागको कुरा गर्ने कि कोकाकोला फिगरको ? योगमायाको समाज बदल्ने निरन्तर प्रयासको कुरा गर्ने कि घाँटी भन्दा तलको सुन्दरताको ? अर्काे पनि समस्या छ हामीमा सुन्दरताको परख गर्ने । हामीलाई आफ्नो परिवारको छोरी , बहिनी, दिदी वा आमा कोही जस्तो भएपनि चन्द्रवदना, सुनयना लाग्छ तर घर बाहिरका महिलाको कुरा गर्ने वित्तिकै बत्तिस लक्षणको खोजी गर्छाैं । त्यसकारण आउनुहोस हाम्रो दृष्टिको त्यो चस्मा फुकालेर हेरौ जसले महिलाको सुन्दरतालाई शारीरिक बनावटको नजरले मात्र हेर्छ । यदि हामीले त्यो चस्मा फुकाल्न सक्यौ भने महिलाहरु साँच्चिकै सुन्दर
छन् । हामीले सोचे भन्दा हजारौं गुणा बढि सुन्दर । तब मात्र हामी महशुस गर्न सक्छौं महिला मात्र पुरुषको लागि बनेका होइनन् । पुरुष र महिला एक अर्काको लागि बनेका हन् । जुन दिन हामी प्रत्येक एकएक पुरुषले यो कुरालाई महशुस गर्न सक्छौं, त्यो दिन हाम्रो समाज साँच्चै सुन्दर हुनेछ । हामी यहि स्वर्ग भेट्ने छौं । हामीले फेरी कहिल्यै पनि घाँटी भन्दा तल त ……जस्ता गीतहरु सुन्नु पर्ने छैन । हाम्रो महिलालाई हेर्ने दृष्टिकोण बदलियोस् सर्जकहरुमा शब्दचयन गर्ने ज्ञान बुध्दि फिरोस् । सबैको कल्याणको कामना ।

Related posts

दुर्गा प्र. भट्टराई/मुक्तिनाथ पडित को हुन् ?

admin

गजल

admin

कांग्रेस नेता जोशीको तनहुँमा सुरक्षित रहन आग्रह

admin