30.6 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

तातो पानीमा नुहाएर कमजोरी पखालिँदैन

रमेश विकल

चैत्र २४ मा अन्नपूर्ण पोष्ट दैनिकको पाठक पत्र मार्फत अभिव्यक्त धादिङ आदमटारका कांग्रेस शुभचिन्तक कृष्ण कुम्पुरेको आक्रोष र निराशाले समग्र कांग्रेसको अहिलेको अवस्था प्रतिविम्वित गरेको छ । हुनपनि कांग्रेस निर्वाचनपछि पराजयका कार

णहरुको निरुपण गर्दै पार्टीलाई बलियो बनाउने काममा लाग्ने छ भन्ने आम शुभचिन्तकको अपेक्षा विपरित आन्तरिक लडाईं झगडामा व्यस्त छ । केही हप्ता अगाडि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल म्याग्दीको तातोपानी पुगेर नुहाएको खबर पत्रपत्रिका र सामाजिक संजालमा छायो । आम विश्वासलाई आधार मान्ने हो भने देउवा र पौडेल विभिन्न खालका छालाका रोगहरुबाट मुक्त भए होलान । पछिल्लो समय गरेको देश दौडाहाबाट थाकेका नेताद्वयको शरिरले आराम पायो होला । तर के नेतृत्वको कमजोरीका कारण नेपाली कांग्रेसको अहिले जुन हालत भएको छ, त्यो कमजोरी म्याग्दीको तातो पानीले पखालेर लग्यो होला ? के तनलाई जस्तै नेताहरुको मनलाई गुटगत राजनीति नगर्ने गरी शुद्ध बनायो होला ? के तातोपानीमा नुहाएपछि सभापति देउवा गुटको नभएर समग्र कांग्रेस पार्टीको सभापति हुँ भन्ने सोचमा पुगे होलान ?

एक छिनलाई गएको निर्वाचनमा भएको कांग्रेसको लज्जास्पद हार नेतृत्वको कमजोरीका कारण थिएन भन्ने मानौं । यसको कारण दुई ठूला बामपन्थी दलबीच एकिकरण भएकाले हो भन्ने पनि मानि दिऊँ । निर्वाचनका बेला टिकट बेचेको भनि बजारमा चलेको हल्लालाई पनि निराधार मानौं । तर त्यस यता पार्टीलाई एक ढिक्का बनाउन र सरकारले गरेका गलत कामको विरोधमा उत्रन कांग्रेस नेतृत्वले नसकेको होइन ? हुनपनि देउवाले नेतृत्व गरेको तीन वर्षमा नेपाली कांग्रेस केन्द्रीय सदस्य प्रकाशमान सिंहले भने झै कता छ भनेर खोज्नुपर्ने अवस्थामा पुगेको छ । बहुदलिय व्यवस्थामा संसद र सडक प्रतिपक्षको भनिन्छ तर यो एक वर्षमा कांग्रेसलाई नेपाली नागरिकले न त सदनमा सशक्त प्रतिपक्षको रुपमा देख्न पाए न त सडकमा नै ।

सरकारले संसदमा प्रस्तुत गरेका नीति तथा कार्यक्रममा कुनै प्रतिक्रिया नदिएर मौन समर्थन गरेको कांग्रेसलाई त्यतिबेलै लुते प्रतिपक्षी भनेर धेरैले आलोचना गरे । निर्मला पन्तको बलात्कार पछि भएको हत्यामा संलग्नको खोजी र आवश्यक कानूनी कारवाहीमा सरकारले चरम लापरवाही ग–यो । राज्य हत्याराको संरक्षक र पिडितको घाउमा नूनचुक छर्ने काम गरिरहँदा कांग्रेस कर्मकाण्डी रुपमा मात्र प्रस्तुत भयो । संसदमा विश्वप्रकाश र गगन बाहेक जनताका आवाजलाई मुखरित गर्नेहरु देखिएनन् ।

निर्वाचन पछिको यो एक वर्षमा मूल्यबृद्धिले आकाश छोया । प्रधानमन्त्रीले सार्वभौम संसदसामु सरासर झुठो विवरण प्रस्तुत गरेर आफुलाई भएको जीकिर गरे तर न त कांग्रेसले महँगीका बारेमा बोलेर जनआवाजलाई मुखरित गर्न सक्यो न त ढंटुवा प्रधानमन्त्रीको मखुण्डो आम नागरिक सामु खोल्न सक्यो । बुढीगण्डकी जलविद्युत आयोजनाकै कुरा गरौं । नेपालमा उपभोग हुने पेट्रोलियम पदार्थमा प्रतिलिटर पाँच रुपैयाँ कर लगाउने र संकलित रकमबाट अर्थात नेपालीकै लगानीमा बुढी गण्डकी बनाउने भनेर रकम संकलन सुरु भयो । कोषमा जब अरबौं रुपैयाँ संकलन भयो, प्रधानमन्त्री केपी ओलीले छिमेकी चीनलाई रिझाउनकै लागि चीनिया कम्पनीलाई विना प्रतिस्पर्धा बुढी गण्डकी सुम्पिए । भनिरहनु परेन बुढीगण्डकी निर्माण कोषमा हरेक नेपालीको रगत र पसिना मिसिएको छ । तर सरकारले हाम्रो रगत र पसिना कमिसनसंग साट्यो । यो कुरा संसदमा र सडकमा सशक्त ढंगले उठाएर कांग्रेसले आम नेपाली नागरिक र खासगरी निर्वाचनका बेला ओलीको राष्ट्रवादको भुलभलैयामा परेर एमाले र माओवादीलाई मतदान गर्नेहरुलाई जानकारी गराउनु पर्ने होइन ? यत्रा सञ्चार माध्यमहरु छन्, तिनको उपयोग गर्नु पर्ने होइन ? पत्रपत्रिका मार्फत भन्नु पर्ने होइन ?

वाइडबडी विमान खरिद गर्दा २४ अर्व रुपैयाँ अनियमितता भएको सार्वजनिक भएको छ । यत्रो भ्रष्टाचार काण्डमा कांग्रेस बोल्नु पर्दैन ? संवैधानिक आयोगका प्रमुखहरुको नियुक्तिमा सरकारले प्रमुख प्रतिपक्षिलाई छलेर कामहरु गरिरहेको छ, यसमा पनि कांगे्रस चुप छ । नियुक्ति सिफारिसका बैठकहरुमा उपस्थित भएर आफ्ना धारणा राख्नु साटो सभापति देउवा त्यसो गर्दैनन् । आखिर किन ? निकट विगत कै कुरा गरौं । सरकारले विधि र प्रक्रिया विपरित सर्वाेच्च लगाएतका अदालतमा न्यायाधीस नियुक्ति सिफारिस ग–यो । कानून र संविधानका ज्ञाताहरु यसले आफुहरुलाई चिन्तित तुल्याएको विचार प्रकट गर्दैछन् । तर प्रतिपक्षमा रहेको कांग्रेस नेतृत्व मौन छ । प्रतिक्रिया जनाएको भएपनि प्रतिक्रियाका लागि प्रतिक्रिया जनाउने काम भएको छ । सुनिदैं छ, कांग्रेसको भागमा पनि प्रधानन्यायाधिसको रोलक्रममा रहने गरी एक जना नियुक्ति सिफारिसका परेका कारण कांगे्रस नेतृत्व चुप बसेको हो । यदि यो सत्य हो भने यो भन्दा विडम्वना अरु के हुन सक्छ र ? न्यायालयबाट न्याय पाईन्छ भन्ने कुरामा आम नागरिक विश्वस्त हुन नसकिरहेका बेला भएको यस्तो घटनाले न्यायालय प्रतिको आस्था र विश्वासलाई झन घटाउने निश्चित छ । न्यायालयहरु फैसला दिन्छन्, न्याय दिदैनन् भन्ने कुरालाई यस्ता क्रियाकलापले बल पु¥याउने हुन्छ । खै यसमा कांगे्रस नेतृत्वको ध्यान ?

कांग्रेसले आफ्नो भूमिका राम्रोसंग निर्वाह गर्न नसक्दा नागरिकले दुःख पाएका छन् । आफ्नो जीविकासंग सम्वन्धित कुराहरु उठाएर कांग्रेसले घाउमा मलम लगाओस भन्ने आम चाहना छ तर कांग्रेस नेतृत्व यस्ता कुरामा बेखवर जस्तै देखिन्छ । अझै बेला घर्केको छैन, गुटउपगुटको राजनीति गर्न छाड्ने र नागरिकका दैनिक जीवनमा आइपरेका समस्यालाई सडक र सदन मार्फत शसक्त ढंगले उठाउने हो भने कांग्रेसले पुःन जीवन पाउन सक्छ । यस तर्फ कांग्रेस नेतृत्वको ध्यान जाओस् । तातो पानीमा नुहाएर यावत कमजोरी पखालिएको छैन ।

Related posts

तेस्रो दिनमा महायज्ञ

admin

मेरो सम्झनाको दशैं

admin

अनुसन्धानबाट अभियुक्त किटान

admin