Tanahun Awaj
Uncategorized

अधिनायकवाद विरुद्ध कांग्रेसको आनदोलन :वरिष्ठ नेता पौडेल

दमौली/नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुईतिहाइको दम्भमा वर्तमान सरकारले नेपाली नागरिकमाथि अधिनायकवाद थोपर्न लागेकाले नेपाली कांग्रेसले आन्दोलन गर्नु परेको बताएका छन् । नेता पौडेलले नेपाली कांग्रेस तनहुँद्वारा दमौलीमा सोमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । नेपाली कांगे्रस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले दुईतिहाइको दम्भ बोकेर वर्तमान सरकार प्रतिपक्षी कांग्रेसलाई पेलेर जाने प्रयत्नमा रहेको र यसले सरकारलाई गलत बाटो तर्फ लगेकाले कांग्रेसले आन्दोलन गर्नु परेको बताए । भ्रष्टाचारमा संलग्नलाई कारवाही गर्नुसाटो उल्टै सरकारले संरक्षण दिने गरेको आरोप नेता पौडेलको थियो । ओली सरकारले अख्तियार र अदालतलाई समेत आफ्नो कब्जामा राख्न खोजेकाले नागरिकहरु सचेत हुनुपर्ने उल्लेख गर्दै नेता पौडेलले कांग्रेसलाई पेलेर अगाडि बढ्न सक्छौ भनेर नचिताउन समेत उनको चेतावनी थियो । सरकारका गैर संसदिय क्रियाकलापप्रति लक्षित गर्दे पौडेलले भने “कांग्रेसलाई सिध्याउँछु भन्दा राणा र राजा आफैं सकिए ।” उनले भने यदि कांग्रेससंग निहु खोजे भने कम्युनिस्टको पनि राजा र राणाकै हालत हुन्छ । भेनेजुयला प्रकरणमा पनि सरकारले कुटनैतिक अपरिपक्वता प्रदर्शन गरेको पौडेलको भनाइ थियो । सभामा बोल्दै कांग्रेस केन्द्रिय सदस्य एवं युवानेता प्रदिप पौडेलले कम्यनिस्टहरुले निर्वाचनका बेला मतदातालाई मिठा आश्वासन बाँड्ने तर काम भने उल्टो गर्ने गरेको उल्लेख गर्दै सरकारका गलत कामको कांग्रेसले आलोचना गर्ने बताए । जनताले सधै कांग्रेसलाई विश्वास गरेर सत्तामा पठाउनु पर्छ भन्ने होइन तर नेपाली मतदाताको विश्वासलाई नेकपाका नेताहरुले कायम राख्न नसकेको पौडेलको जिकिर थियो । कार्यक्रममा नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य एवं पूर्व राज्यमन्त्री अमरराज कैनी, संविधान सभा सदस्य रामचन्द्र पोख्रेल तथा झुलबहादुर आले, नेका व्यास नगर सभापति एवं जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, भानु नगरपालिकाका प्रमुख उदयराज गौली, नेपाल महिला संघ तनहुँकी अध्यक्ष पवित्रा पौडेल तथा नेवि संघका सभापति चुडामणी खनाल लगायतले मन्तव्य राख्दै सरकारको अधिनायकवादी क्रियाकलापको डटेर विरोध गर्ने बताएका थिए ।

Related posts

कोरोना नियन्त्रणमा नागरिक पहल

admin

कोभिड–१९ः संक्रमणको जोखिममा ग्रामीण क्षेत्र

admin

अग्रजलाई सम्मान गरौं-सम्पादकीय

admin