22.3 C
Damauli
September 16, 2026
Tanahun Awaj
Uncategorized

स्वस्थानी ब्रतकथा र हाम्रो राजनीति

पौष शुक्ल पुर्णिमाको दिन सुरु भएर माघ शुक्ल पूर्णिमाको दिन सकिने स्वस्थानी ब्रत सोमबारबाट प्रारम्भ भएको छ । ब्रत बस्नेले हात गोडाको नङ काट्ने, शुद्ध हुने, एकचित्त रहने, एकभक्त हुने भन्ने कुराले हामीले कुनै पनि लक्ष्य प्राप्तीका लागि तन मनको शुद्धता र एकाग्रता चाहिन्छ भन्ने शिक्षा दिन्छ– स्वस्थानी ब्रत कथाले । बालबिवाह पछिका नकारात्मक असरहरुबारे पनि कथामा राम्रै चित्रण गरिएको छ । मानव अङ्ग प्रत्यारोपणको कल्पना यो कथाले गरेको छ, जुन सदियौ अगाडी रचना गरिएको थियो र अहिले त्यो यथार्थमा परिणत हुँदै आएको छ । अनावश्यक घमण्डले पतन निम्त्याउँछ भन्ने बुझ्न दक्षप्रजापतिको कथा पढे पुग्छ ।

यतिमात्र होइन, यस्ता धेरै व्यवहारिक ज्ञानहरु छन्, स्वस्थानीमा जसको अर्थ आत्मसाथ गर्न सक्दा हामी आफ्नो जीवनलाई सहज र खुसी बनाउन सक्छौं । संसारमा आमाबाबु जति ठूलो अरु कोही हुँदैन भन्ने दृष्टान्त बुझ्न स्वस्थानीको गणेश र कुमारसंग सम्बन्धित कथा पढ्दा हुन्छ । कथामा गणेशले जसरी आमाबाबुको महत्व आत्मसाथ गरेर संसारमा आफ्नो लागि बाबु आमा भन्दा ठूलो कोही छैन भनेका छन् र प्रथम पुज्य भएका छन् । के यो हामीले आफ्ना आमा बाबुलाई सदा आदर गर्नुपर्छ भनेर सिकाउन पर्याप्त छैन र ?

तर दुर्भाग्य हाम्रा राजनीतिकर्मीले यही कुराको गलत अर्थ लगाए र अहिले जो नेताको वरीपरी घुमेर चाकडी गर्छ, त्यसैले सबैतिरबाट लाभ प्राप्त गर्ने अवस्था निम्तिएको छ । नेताको वरपर घुम्ने गणेशहरु फलिफाप भएका छन् र कथामा वर्णन गरिए झै कार्यक्षेत्रमा खटिएर काम गर्ने कार्यकर्ताहरु कुमारको नियती भोग्दै छन् । हरेक कुराबाट नकरात्मकता मात्र ग्रहण गर्न अभ्यस्त हामीले कुमार र गणेशको कथाबाट पनि नकरात्मकता मात्र सिक्यौं । स्वस्थानी कथामै अर्काे सन्दर्भ पनि छ–चन्द्रावतीको । जब नवराज राजा बन्छन्, उनकी श्रीमती चन्द्रावतीमा अहम्ले घर गर्न थाल्छ । शायद हाम्रा राजनीतिज्ञहरु चन्द्रावतीलाई गुरु मान्दा हुन् । र त कुनै पद प्राप्त गरेपछि नागरिकको दुःखसुखसंग सरोकार नै राख्दैनन् । आफुलाई आम मानिस भन्दा अलग सम्झन्छन् । अहम्ले चन्द्रावतीलाई खाएको कुरा बिर्सेर चन्द्रावतीको सिको गर्ने दौडमा छन् हाम्रा नेताहरु । सायद यसैको पछिल्लो कडी हो, राष्ट्रपति विद्यादेवी भण्डारीको करोडौंको गाडी चढ्ने शौख र हेलिकप्टरमा हिउँदे बाली अवलोकन गर्ने कार्य ।

योग्यता भन्दा चाकडीको भरमा अवसर प्राप्त गर्ने वा माथिल्लो पदमा पुगेपछि जनताको बेवास्ता गर्ने प्रवृति अनि आम मानिसभन्दा आफुलाई भिन्न ठान्दै आफ्नो देवत्वकरण गर्ने प्रवृतिको निरन्तरताका लागि नेपाली नागरिकले बारम्बार आन्दोलन गरेका होइनन् । तर हाम्रा राजनीतिज्ञले त्यसलाई बुझेर पनि नबुझे जस्तो गरिरहेका छन् । हरेक शोषित, शोषक बन्न चाहन्छ भन्ने भनाइलाई हाम्रा राजनीतिज्ञ आत्मसाथ र कार्यान्वयन गर्दैछन् । यो नेपाली जनताको विश्वास माथिको घात हो । कसैले पनि चन्द्रावतीको नियती भोग्न नपरोस् । माघ महिनामा श्री स्वस्थानीले हाम्रा नेताहरुमा सद्बुद्धि दिउन् ।

Related posts

श्रमिक दिवशको दु्रुपयोग,सडकमा लफडा सभामा झगडा

admin

कोरोनाबाट बच्न नाका नाकामा सचेतना

admin

बालश्रमको वैधानिक प्रावधान

admin