दुलेगौंडा/तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जका तत्कालिन अध्यक्ष पूर्ण कुमार श्रेष्ठको स्मृतिमा स्थापित पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम. सम्मान तथा पुरस्कार–२०८२ का लागि सम्मानित हुने व्यक्तिहरु छनौट गरिएको छ । चौथो पटक प्रदान गर्न लागिएको सम्मानमा साहित्यतर्फ टुकादेवी पौडेल आचार्य, पत्रकारितातर्फ हरि खरेल र समाजसेवातर्फ लालप्रसाद गर्तौला छनौट भएका छन् ।

पत्रकारिता र साहित्यतर्फ पुरस्कारको राशी नगद १०/१० हजार, प्रमाण पत्र र पूर्ण स्मृति सामाजिक सेवा पुरस्कार तथा सम्मानतर्फ नगद ५ हजार र प्रमाणपत्र रहेको छ । तनहुँ जिल्लामा साहित्यिक क्षेत्रमा क्रियाशिल रहेका मध्य एक, खोज पत्रकारिता क्षेत्रमा लागेका व्यक्ति र शुक्लागण्डकी नगर क्षेत्रमा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिबाट छनौट गरिएको हो ।
पुरस्कृत एवम् सम्मानित व्यक्तित्व छनौटका लागि रेडियोका पूर्व अध्यक्ष नारायण कुमार श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय छनोट समिति गठन गरिएको थियो । समिति सदस्यहरुमा रेडियोका निवर्तमान अध्यक्ष ऋषेश्वर भुवाई ‘ऋतु’ र सल्लाहकार कृष्णप्रसाद पौडेल रहेका थिए । उनीहरुलाई आगामी पुष ७ गते रेडियोको दशौं वार्षिक साधारणसभाको अवसरमा सम्मान गरिने अध्यक्ष शिव पौडेलले जानकारी दिए ।
रेडियोका शेयरधनी सदस्य, शुभेच्छुकबाट स्वतस्फूर्त र केहि रकम उहाँको परिवारबाट जम्मा गरि ३ लाख रुपैयाको अक्षयकोष स्थापना गरिएको हो । सोहि रकमको ब्याजबाट प्राप्त आम्दानीले प्रत्येक वर्ष ३ विधामा क्रियाशिल व्यक्तिहरुलाई पुरस्कार प्रदान गरिदै आएको सचिव टिकाराम श्रेष्ठले जानकारी दिए । रेडियोको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका पूर्णको २०७८ जेठ १२ गते हृदयघातका कारण ४८ वर्षको उमेरमा निधन भएको थियो ।
