ओली सरकारका अलोकतान्त्रिक क्रियाकलाप विरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस जुर्मुराएको छ । कोरोना महामारीका कारण आम नागरिकको गास वास खोसिएका बेला सत्ताधारी दलका नेताहरु भने कुर्सीका लुछाचुँडीमा व्यस्त भएको भन्दै कांग्रेस नेताहरुले उनीहरुलाई सच्चिन आग्रह समेत गरेका छन् ।
कोभिड–१९ का कारण सरकारका तमाम जनविरोधी क्रियाकलाप विरुद्ध सडकमा आउन कांग्रेस हिचकिचाएको थियो । तर आफ्ना वरिष्ठ नेता रामचन्त्र्र पौडेललाई पुल उद्घाटनमा सत्ताधारी दलले अवरोध तथा स्थानीय प्रहरी र प्रशासनको दुरुपयोग गर्दै गिरफ्तार समेत गरेपछि सरकार विरुद्ध खनिएको हो । कांग्रेस नेताहरुको भनाई थियो, हामीलाई सडकमा आउन सरकारले नै बाध्य बनायो ।
चारवटा मुल मुद्दा लिएर कांग्रेस सडकमा आएको थियो । मकवानपुरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै पार्टी सभापति शेरवहादुर देउवाले पाँच वर्ष शासन गर्ने जनमत पाएको ओली सरकार उल्टो दिशामा हिँडेको टिप्पणी गर्दै प्रधानमन्त्री ओली संघिय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने गरी आफुमा शक्ति केन्द्रित गरेर शुरु देखि नै सर्वसत्तावादको अभ्यासमा लागेको आरोप लगाए ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाण्डौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री नै भ्रष्टाचारीको संरक्षक भएको आरोप लगाउँदै प्रधानमन्त्रीकै कारण अख्तियारको भूमिका खुम्चिएको बताए ।
देशभर आयोजित सभाका बक्ता नेताहरुले वर्तमान कम्युनिष्ट सरकार निरन्तर दमनको प्रतिक, भ्रष्टाचारको पर्यायवाची र कोभिड–१९ को नियन्त्रण र रोकथाममा पूर्ण असफल भएको बताए । बहुलबादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा नेपाली कांग्रेसको अभिभारा भएको उल्लेख गर्दै उनीहरुले सरकारबाट भएको विभेद, पक्षपात र सर्वसत्तावादका विरुद्ध आफुहरु लड्न सदा तत्पर रहेको बताए । युवा नेता गगनकुमार थापाले सर्वसत्तावादी सरकारलाई ठेगान नलागाई कांग्रेस सडकबाट नफर्कने बताए ।
राजा आउ देश बचाउ भन्दै सडकमा नारा लगाउने अवस्था ओलाीको कारण आएको बताए । प्रवक्ता विश्वप्रकाश शर्माले भने नेपाली जनता सुनौलो विहान तर्फ अगाडि बढेकोले अव चिहानको यात्रा बन्द भएको उल्लेख गरे ।
तनहुँमा आयोजित कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रय सदस्य डा. मिनेन्द्र रिजालले कांग्रेसलाई सरकारमा जान कुनै हातार नभएको उल्लेख गर्दै बरिष्ठ नेता पौडेलमाथि दुव्र्यवहार गरेर सरकारले संविधान निर्माताको अपमान गरको बताए । अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराईले कांग्रेसको सदासयतालाई कमजोरी ठानेर सरकार सर्वसत्तावाद तर्फ अग्रसर भएको बताए । स्थानीय प्रशासन नेकपाको खेलौना भएको बताउँदै भट्टराईले पौडेलको अपमान संविधानको अपमान भएको उल्लेख गरे । जिल्ला सभापति बैकुण्ठ न्यौपानेले तनहुँका कांग्रेसले हार्न नजानेको भन्दै प्रतिगमन र सर्वसत्तावाद तर्फ सरकार उन्मुख भएको र यसलाई पराजित गराएर छाड्ने बताए । प्रजातन्त्र प्राप्तको आन्दोलनमा आम नागरिक लागि रहँदा प्रतिकार समितिको सदस्य भएकाहरुले पौडेलमाथि दुव्र्यवहार गरको बताए । उनले नेकपाले पैसासंग सदस्यता बाँडेको आरोप लगाए ।
सोमबारको देशव्यापि कार्यक्रमले कांग्रेसजनमा उत्साह थपेको छ तर उनीहरु नेताहरुका कुराले सन्तुष्ट भने हुन सकेनन् । ओली सरकारको गैर न्यायीक क्रियाकलापको विरोध गरेर मात्र गएका नेताहरुबाट उनीहरुको अपेक्षा थियो, आगामि दिनमा कांग्रेसले के गर्छ ? ओलीको एक कलमा बालुवाटार धाउने क्रम रोकिन्छ कि रोकिन्न मूल नेतृत्वको ? के कांग्रेसले यस्ता कार्यक्रमको निरन्तरता देला ? जस्ता प्रश्न बोकेरै कार्यकता फर्केका छन् । सरकारको एकोहोरो विरोधले मात्रै कांग्रेसको पछि जनता नलाग्ने शुभेच्छुकको धारणा छ । नेतृत्वले आफुलाई सच्याउँदै आगामी दिनमा शसक्त प्रतिपक्षको भूमिकामा रहोस् भन्ने कामना आम कार्यकर्ता र शुभेच्छुकको चाहना छ ।
देशै भरबाट जुरुक्क उठ्यो कांग्रेस
previous post