भोली विसं २०७८ को विजया दशमी पर्व । नेपालीहरुको महत्वपूर्ण पर्व हो दशैं र त देश विदेशमा भएका नेपालीहरु अरु बेला घर आउन नपाए वा नसके पनि दशैंका बेला घर आउँछन् । अरु बेला सुनसान हुने गाउँ दशैंको बेला रमाइलो हुन्छ । बजारमा किनमेल गर्नेहरुको भिड हुन्छ, यात्रुबाहक सवारीमा यात्रुहरुको कोचाकोच । भरपेट मासु खान, चामलको भात खान अनि नयाँ लुगा लगाउन दशैं कुर्नुपर्ने अवस्था अहिले छैन र दशैंको उमंग पनि पहिले जति छैन । गाउँबाट रोटे पिङ तथा लिङ्गे पिङ हराउँदै गएका छन् । दशैंका लागि भनेर गाउँ–टोल, ठाँटी–पौवा, इनार–कुवा सफा गर्ने, विग्रे भत्केका ठाउँमा गाउँले मिलेर बाटो मर्मत गर्ने कुरा पनि विस्तारै हराउँदै गएका छन् । यतिमात्र होइन, विजय दशमीका दिन गाउँभरीका मान्यजनसंग टीका थाप्न हिँड्ने कुरा पनि विस्तारै हराउँदै गएको छ ।
असत्यमाथि सत्यको विजयको प्रतिकका रुपमा हामीले मनाउने गरेको यो चाडको महत्व यत्तिमा मात्र सिमित छैन । आफन्तजनसंग भेटघाट गर्ने, मान्यजनहरुबाट निधारमा रातो अक्षता लगाएर अशिर्वाद लिने जस्ता कुराहरु हाम्रा सांस्कृतिक निधी हुन् तर विडम्बना ति निधीहरु विस्तारै लोप हुँदै गएका छन् ।
मात्रृ शक्तिको पुजा आराधाना गर्ने पर्व हो दशैं । नवरात्र भनिने यो पर्वमा घटस्थापनादेखि नवमीसम्म देवी दुर्गाका विभिन्न रुपको पुजा आराधना गरिन्छ । नवदुर्गाका नामले समेत पुकारिने यी देवीको नौ दिनसम्म गरिने आराधनाले उनको साक्षात दर्शन पाईन्छ भन्ने विश्वास रहेको छ । हिन्दु धर्ममा मात्रृ शक्तिको महत्व कति छ भन्ने कुराको दृष्टान्त पनि हो विजया दशमी ।
दुर्गा आराधनाको नाममा जुन रुपमा पशु वली दिने प्रचलन रहेको छ, त्यसबारे समिक्षा गर्नु जरुरी छ तर विजया दशमीका अन्य राम्रा पक्षहरुलाई भने निरन्तरता दिनु आवश्यक छ । भनिन्छ नि संस्कृति, परम्परा, भाषा र सभ्यता विनाको मानव मानव
हुँदैन । तसर्थ हाम्रा राम्रा परम्परालाई निरन्तरता दिने प्रेरणा यो दशैंले प्रदान गरोस् । हाम्रा विज्ञापनदाता, पाठक, लेखक तथा शुभेच्छुक सबैमा विजया दशमीको शुभकामना । विजया दशमीको रौनक फेरी फर्केर आओस् । यही कामना ।