दुईदिन पछि हामीले नयाँ वर्ष २०७६लाई स्वागत र वर्ष २०७५ लाई विदाइ गर्दैछौं । वर्षाै देखिको राजनैतिक अस्थिरताबाट आजित भएका नेपाली मतदाताले आफ्नो अभिमत मार्फत स्थीर सरकार दिए पछिको पहिलो वर्ष २०७५ हाम्रा लागि औषत रह्यो ।
सामान्य नागरिकका लागि पनि आधारभूत आवश्यकताको परिपूर्तिमा सहजता आउने अनुमान आम नेपालीले गरेका थिए, यो वर्ष । स्थानीय सरकार बनेको एक वर्ष हुन लागेका थियो । नयाँ अभ्यास भएका कारण विवाद र वहस त थियो नै नागरिकका चुलिएका आकांक्षा सम्बोेधन गर्न स्थानीय सरकारहरु चुक्दा असन्तुष्टिहरु पनि देखिन्थे । तर आम मानिसलाई प्रदेश र संघमा बलियो सरकार भएपछि आफ्ना मागको सम्बोधन हुने आशा थियो । बढ्दो आर्थिक असमानता कम गर्न ग्रामिण क्षेत्रमा बसोबास गर्ने विपन्न नागरिक केन्द्रित जनमुखी कार्यक्रमहरु सरकारले ल्याउने अपेक्षा आम नगरिकको थियो । जुन स्वभाविक पनि हो, किनभने नेपालको राजनैतिक इतिहासमा यति बलियो सरकार बनेकै थिएन ।
तर माथि नै भनियो, वर्ष २०७५ सरकारका तर्फबाट आम नागरिकका आकांक्षा सम्वोधन गर्ने मामिलामा औषत नै भयो । वर्षको सुरुमा बडो उत्साह लिएर आएको यातायात क्षेत्रको सिण्डिकेटको अन्त्य गर्ने सरकारी कार्यक्रम अहिले अलपत्र छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको सम्पत्ति छानविन गर्ने कुरा पनि कुरामै सिमित भयो । नौ महिना वितिसक्दा निर्मला पन्तका बलात्कारी हत्यारा पत्ता लागेको छैन । आर्थिक परिसूचकहरु उल्टो गतिमा छन् । शान्ति सुरक्षाको अवस्था कमजोर छ । महंगीले सर्व साधारणको जीवनलाई दुरुह बनाए दिएको छ । समग्रमा नेपाली जनताले चैनको सास फेर्ने वातावरण सरकारले यो वर्ष तयार गर्न सकेन । आलोचना गर्नेहरुलाई ओठे जवाफ फर्काएर नै सरकारले वर्ष २०७५ वितायो । जवाफ फर्काउन तिर नलागेर काम गर्न तर्फ लागेको भए शायद सकारात्मक उपलब्धि प्राप्त हुने थिए ।
तर पनि नेपाली जनताले समृद्धि र विकासको आशा गर्न छाडेका छैनन् । समृद्धि हाम्रै पालामा भन्न छाडेका छैनन् । डाडु पन्यू चलाउने पात्र फेरिए पनि प्रवृत्ति नफेरिँदा नेपाली जनता आजित भने भै सकेका छन् । वर्षेनी पात्रोे फेरिने तर जीवन पद्धतिमा कुनै फेरबदल नहुने कुराले आम नेपालीलाई निशास तुल्याउनु अघि नै सरकारमा रहने र अन्य सरोकोरवालाहरुले गम्भीर भएर सोच्नु जरुरी छ । वर्ष २०७६ सकारात्मक परिवर्तनको अपेक्षालाई पूर्ण गर्ने गरेर आओस् हाम्रो कामना । वर्ष २०७६मा थुप्रै सकारात्मक परिवर्तनका खवरहरु पत्रिकामा प्रकाशन गर्न पाइयोस् । नयाँ वर्षको अवसरमा सम्पूर्ण पाठक, विज्ञापन दाता, शुभचिन्तक लगाएत अन्य सबैमा तनहुँ आवाज साप्ताहिकको तर्फबाट हार्दिक मंगलमय शुभकामना ।