पृष्ठभुमी
सायद मानविय स्वभाव होला, एकै ठांउमा मात्र रम्न नसक्ने । आफ्नो ब्यस्त दैनिकी बाट केही समय निकालेर छोटै समय भएपनी ब्यस्ततालाई ओझेलमा पारेर आफ्ना दुख,कष्ट,तनाबलाई चटक्क बिर्सेर शान्त सङ्ग रमाउने अनि सुस्ताउने चाहनाहरु मानवमा रहेका हुन्छन । त्यो साथीभाइहरु जमघट भएर, नयां ठांउमा घुम्न गएर, पारिवारिक भ्रमण गरेर नै किन नहोस ? केही समयदेखि नेपालीमापनि पर्यटनको नयाँं संस्कृति थपिएको छ । ५÷७ बर्ष पछाडी फर्कने हो भने घुमघाम खासै देखिदैनथ्यो तर आजकल बर्षको एक हप्ता भएपनि अधिकांस नेपालीले आफ्नो हैसियत अनुसार भ्रमणको रुटिन बनाउने गरेका छन् । जसको कारण नेपालमा आन्तरिक पर्यटनको व्यापक विकास भएको छ भन्दा अतियुक्ती नहोला ।
यसै प्रसङ्गमा मेरो कर्म क्षेत्रका साथीहरु बिचमा कुराकानी हुँदा एउटा योजना बन्यो मनाङ जिल्लामा रहेको संसारको सबैभन्दा अग्लो स्थान (४९१९मि.उचाई) मा रहेको तिलिचो तालको भ्रमण गर्ने । दिन निश्चित गरियो २०८१ भदौ १ । त्यो जनै पुर्णिमाको अबसर पनि थियो । जुन एउटा तिर्थ यात्रा जस्तोपनि हुने घुमघाम पनि हुने थियो । साथिहरुसङ्ग समन्वय गर्दै जादा १८ जनाको समूह बन्यो । समूुहमा प्रकाश ज्योती मा वि का स्टाफ र अन्य केही हुनुहुन्थ्यो । अन्यमा पद्मराज पन्थी दाइ रउहाँका आफन्त चन्द्र मणि दाइ, विशाल भाइ र सफल भतिज लम्जुङ र काठ्माण्डुबाट तिलिचो गन्तव्य बनाएर आउनुभएको थियो । साथमा कार्यलय सहयोगी मनकुमारी गुरुङ्कका आफन्त एकजना म्याडमको सर र बाटोमा एकजना हाम्रै पुर्व बिध्यार्थी अस्मि थपिएकी थिइन ।
विद्यालयबाट हामी पद्मराज दाइ, अनिल सर, रेशम सर , रबिन सर, प्रमोद सर, चेकमान सर, म, भुमिका म्याडम, ज्योती म्याडम, सोम कुमारी म्याडम, बिन्देवी गुरुङ जो होस्टेल सहयोगी हुन, थियौं। यात्राको योजना र तयारी त भयो तर म एकदम डराइरहेको थिएँ किन कि मैले यो भन्दा पहिला २÷३ मौका गुमाइसकेको थिए आफ्नै ब्यक्तिगत कारणले । कारण के भने म हिड्न धेरै गार्हो मान्ने मान्छे त्यो यात्रामा लगभग १८ घण्टा पैदल हिड्नुपर्ने हाइ अल्टिच्युडमा । लेक लाग्छ भन्ने सुनिन्थ्यो मान्छेको तिलिचो यात्रामा मृत्यु भयो भन्ने पनि सुनिन्थ्यो । त्यसै क्रममा मेरा सहृदयी साथी चेकमान गुरुङ ले मलाई ढाडस दिदैं भन्नुभयो ढुक्क हुनुस हामी मनाङ बसिरहेका मान्छेलाई केही हुदैन समुहमा हिड्द रमाइलो हुन्छ हिडिन्छ यदि बाटोमा कुनै समस्या आयो भने त्यही बाट फर्किउँला । म ढुक्क भएर तयारीमा जुटेँ । दुई ओटा पहाडी उडानका रुपमा परिचित बोलेरो र बोलेरो म्याक्स गाडिको बन्दोबस्त गरि सबै जना आफ्ना बन्दोबस्तिका सामग्री सहित तयारी भयौं ।
यात्राको पहिलो दिन(२०८१/५/१ गते)
बिहान ६ बजे उठेर नित्यकर्म सकेर चिया नास्ता गरेपछि सबै साथीहरु एक एक लौराका साथ जम्मा भइयो सबै साथीहरुमा विशेष कौतुहलता थियो, तिलिचो यात्राको । तर मेरो मन भने कता कता डराइरहेको थियो कतै यात्रा पूरा नगरिकन बिचबाटोबाटै फर्कन पर्ने हो कि भनेर । सबै साथीहरु जम्मा भैयो । एउटा बोलेरो म्याक्स मा १० जना र अर्को बोलेरोमा ८ जना सहितको यात्रा सुरु भयो ७ः५० बजे! गाडिहरु हुइंकिय रफ्तार लिएर । साना गाडी, मोटा अनि सिट संख्या भन्दा धेरै मान्छे बसाई खासै आरामदायी नभएपनि सबैमा रमाइलोपन थियो ,कौतुहलता थियो,उत्सुकता थियो कसैले कठिनाई महसुस गरेका थिएनन ।
गाडी बगरछाप, दानाक्यु,तिमाङ, थानचोक, कोतो जस्ता ठांउहरु छिचोल्दै मनाङको सदरमुकाम चामे पुग्यो र
रोकियो । हामीले यात्राका लागि चाहिने केही छुट्पुट सामानहरु किन्यौं, आवश्यकता अनुसार । हल्का चिया नास्ता खाइयो अनि फेरि यात्रा अगाडि बढ्यो । मनाङको भुगोल जुन धेरै मानिसको कल्पना भन्दा बाहिर होला जस्तो लाग्छ । धेरै सांगुरो भुमी, सार्है सानो आकाश, हाम्रो घरको आंगन जस्तै लाग्ने जमिन केबल मर्सायाङ्दी र त्यस्तै खोलाहरुको किनारामा सार्है जोखिम युक्त बस्तिहरु । दायाँ बायाँ पहाडै पहाड जुन पहाडको टुप्पोमा हेर्दा टोपी सहजै खस्थ्यो। सडकको अबस्था हेर्दा मुटु काम्ने, एक मिस गेम फिनिस भने जस्तो गाडी वा मान्छे खसेमा चिम्टा लिएर खोज्न पर्ने । ड्राइभरहरुको त्यो कन्फिडेन्सलाई सम्मान गर्न पर्ने जस्तो लाग्छ त्यो सडकमा गाडी कुदाएको देख्दा । त्यस्तै बाटोबाट गाडी अगाडि बढ्यो तलेखु हुँदै गाडी भ्राताङ पुग्यो । भ्राताङमा नेपालमै प्रसिद्धी कमाएको करिब ७०० रोपनी क्षेत्रफलमा फैलिएको स्याउ फर्म छ । उन्नत जातका स्याउका बिरुवाहरु रोपेर चमत्कारिक ढङ्ग बाट संचालन गरिएको छ त्यही नै मनाङ ब्राण्डको नामबाट एउटा रक्सी कम्पनी पनि संचालन छ जुन प्रोजेक्ट मनाङ जिल्लाका भु.पु. प्रतिनिधी सभा सदस्य पाल्देन छोपङ गुरुङ को रहेछ । त्यंहा पुगेर करिब ४५ मिनेट उक्त फर्म हेर्ने फोटा खिच्ने र फर्मको बारेमा जानकारी लिइ सकेपछि हाम्रो यात्रा अगाडि बढ्यो र रोकियो स्वर्गद्वारीमा गएर । हजुरहरुलाई लाग्यो होला मनाङमा पनि स्वर्गद्वारी ? हो मनाङमा पनि एउटा स्वर्गद्वारी छ जहाँ एउटै चट्टान लमतन्न परेर झण्डै दुई किलोमिटर भन्दा बढी रहेको छ । किम्बदन्ती अनुसार पांच पान्डवहरुले यात्रा गर्दै जांदा बास बस्दा उक्त पहाडको टुप्पोमा कुकुर बाँधेको जस्तो आकृती भन्ने देख्न सकिन्छ । जुन पहाडको दृश्यले मानिसलाई एकछिन सोचमग्न बनाउछ । नेपालको भुगोल र नेपालको प्रकृतिको बारेमा घोत्लिन पर्ने बनाउछ । उक्त स्थानको दृश्यावलोकन, अध्ययन र फोटो सेसनपछी हाम्रो यात्रा अगाडि बढ्यो र रोकियो ढुकुरपोखरी पुगेर । जहाँ हाम्रो खानाको बन्दोबस्त भएको थियो । ढुकुरको आकारको एउटा पोखरी भएर उक्त ठांउको नाम ढुकुरपोखरी भएको रहेछ । झण्डै एक बज्दै थियो हामीले खाना खायौं हिमाली भेगको खाना, पानी नै फरक अर्गानिक च्याउको तरकारी सङै खाना खुब स्वादसङ्ग खाइयो । केही समय वरिपरिको दृष्य हेर्दै सुस्तायौ । पुर्ण पर्यटकिय क्षेत्र त्यहा हरेक संरचनाहरु हाम्रा लागिभन्दा पनि बिदेशी पर्यटकलाइ मध्यनजरगरी निर्माण गरिएका हुने रहेछन । जुन अन्नपुर्ण पद मार्गको एउटा स्टेसन हो । हुन त हामीले यात्रा सुरु गरेदेखि कै क्षेत्र अन्नपुर्ण पदमार्ग कै हो जहाँ बर्सेनि हजारौ पर्यटकहरुले पैदल यात्रा गर्छन । ढुकुर पोखरीमा खाना र आराम पछि हाम्रो यात्रा अगाडि बढ्यो र हामी रोकियौं ग्रीन लेकको लागि । हाइवे बाट करिव १० मिनेटको पैदलमा पुगिने ग्रीन लेक जुन मर्स्याङ्दी नदीमा भएको झोलुङ्गे पूल तरेर जानू पर्ने रहेछ । हिमाली सल्लोको जङ्गलको बिचमा रहेको ग्रीन लेक को सुन्दरता लाई बयान गर्ने सब्दै भेटिन चारै तिर जङ्गल बिचमा सानै भएपनी हरियो रङ्गको पानी भएको ताल मनमोहक प्राकृतिक दृष्य जो कोहि पनि त्यहां पुग्दा लठ्ठ हुन्छ हामी पनि त्यो प्राकृतिक सुन्दरतामा एकछिन मन्त्रमुग्ध भएर रमायौ बस्यौ तस्बिरहरु लियौं सारा दुख कष्टहरु बिर्सियौ साथीहरुले भिडिओ बनाउने, टिकटक बनाउने काम गर्नुभयो लगभग एक घण्टाको समय सम्म त्यो सुन्दर प्रकृतिको रसपान गरेपछी हामी पुनः हाम्रो गन्तव्यको लागि गाडिमा फर्क्यौ र अगाडि बढ्यौ । गाडी गुड्यो तर एउटा अचम्म के लाग्यो भने मैले माथी नै उल्लेख गरेको थिए सडकको बारेमा तर माथिल्लो मनाङ सुरु भएदेखी भुगोलको अर्को रुप देखियो तलको तुलनामा धेरै खुलेको धेरै समथर जमिन सडक पनि फराकिलो लगभग पिच जस्तै ।
हुंइकिरहेको गाडी गएर रोकियो मनाङ ङिस्याङ गांउपालिकाको केन्द्र रहेको हुम्डेमा । हामी झर्यौं र देख्यौं दायाँ बायाँ बारीमा फापरखेती । अहा त्यो फापर खेतिको सुन्दरता ठिक्क फुल फुलेको बेला परेको रहेछ रातो फुल फुल्दा जमिनमा ठाउँ ठाउँमा राता गलैचा बिच्छ्याएको पो हो कि भन्ने भान हुने कति सुन्दर दृष्य। उक्त दृष्यपान गर्दै तस्विर कैद गर्दै हामी अगाडि बढ्यौ र पैदल नै पुग्यौ हिमाली जिल्ला मनाङ्मा रहेको हबाइ ग्राउन्ड तर्फ ।
क्रमशः