रेमिट्यान्स वर्तमान अवस्थामा नेपाली अर्थतन्त्रको एउटा प्रमुख आधार स्तम्भको रुपमा रहेको छ । मलेसिया दुवइ, कतार, साउदी अरेविया लगायतका खाडी मुलुकबाट बर्षेनी करोडौं रुपया रेमिट्यान्सको रुपमा नेपाल भित्रन्छ । पछिल्लो स मय जापान कोरीया लगायत अध्ययन प्रवेषाज्ञामा नेपाली विद्यार्थी जाने प्रमुख गन्तब्य अष्ट्रेलियादेखि लिएर डिघि परेर अमेरीका जाने नेपालीहरुको पनि रेमिट्यान्समा ठूलो योगदान रहेको छ । साथै छिटपुट यूरोपियन देशहरु र इराक, अफगानिस्तान जस्ता श्रम सम्झौता नभएका देशमा श्रम बेचिरहेका नेपाली जनको पनि रेमिट्यान्समा योगदान छ । खुल्ला सीमाना र आवतजावतका लागि राहदानी आवश्यक नभएको हुँदा छिमेकी मुलुकी भारतमा काम गर्ने नेपाली कामदारहरु मार्फत भित्रिने रेमिट्यान्सको खासै लेखाजोशा छैन र पनि लाखौं रुपयाँ बर्षेनी नेपाल भित्रन्छ । समग्रमा बार्षिक अर्बौ रुपयाँ रेमिट्यान्सको रुपमा नेपाल भित्रन्छ, विश्वको विभिन्न देशबाट । तत्कालको लागि फाईदाजक देखिएपनि दिर्घकालिन रुपमा राष्ट्रिय अर्थतन्त्रमा रेमिट्यान्सको ठूलो हिस्सा हुनु राष्ट्रको भविष्यका लागि शुभ संकेत होइन । किनभने वैदेशिक रोजगारीको माध्यमबाट रेमिट्यान्स भित्रनुको अर्थ नेपाली श्रम अन्य मुलुकको विकासको निम्ति प्रयोग भैरहेको छ भन्नु हो । यसरी हेर्दा नेपालीहरुको सक्रिय जीवन अन्य मुलुकको लागि खर्च भैरहेको छ र श्रमशक्ति सकिएपछिको निष्कृय जीवन मात्र नेपाली भूमिमा वित्ने गर्दछ । त्यसमाथि वैदेशिक रोजगारीमा जाने अधिकांश नेपाली कामदार अर्धदक्ष (Semiskilled) अदक्ष (Unskilled) बर्गमा पर्दछन् । थोरै नेपालीहरु मात्र दक्ष (Skilled) कामदारको रुपमा विदेश पुग्दछन् । यसको अर्थ वैदेशिक रोजगारीमा जाने नेपालीहरुको कामको सुनिश्चितता दिर्घकालिन रुपमा छैन । या फेरी यसलाई अर्को कोणबाट नियालौं, अहिले कामदारको रुपमा नेपालीलाई लैजाने मुलुकहरुलाई विकासको एउटा विन्दुमा पुगेपछि नेपाली कामदारको आवश्यकता पर्नेछैन । भलै त्यो समय यतिछिट्टै नआउला । तर जब त्यो सयम आउनेछ, विदेशी भूमिमा रहेका लाखौं नेपाली स्वदेश फिर्नुको विकल्प रहने छैन । त्यतिखेर रेमिट्यान्सले धानेको नेपाली अर्थतन्त्र स्वतः कमजोर हुनेछ । त्यसकारण पनि राष्ट्रिय अर्थतन्त्रमा रेमिट्यान्सको ठूलो हिस्सा हुनु दिर्घकालिन रुपमा घातक सिद्ध हुन सक्दछ । तर यो आलेखमा वैदेशिक रोजगारीको यो पाटो भन्दा पनि वैदेशिक रोजगारीबाट नेपालमा भित्रिएको रेमिट्यान्स कहाँ र कसरी प्रयोग भैरहेको छ भन्ने सन्दर्भमा चर्चा गर्न चाहन्छु ।
अधिकाँश आमनागरिकले महसुस नगरेको तर देशको अर्थव्यवस्थाको बारेमा चासो राख्ने वर्गले महसुस गरेको र बुझेको एउटा तथ्य के हो भने वैदेशिक रोजगारीबाट जतिरकम रेमिट्यान्सको रुपमा नेपाल भित्रन्छ त्यतिनै रकम फेरी नेपालबाट तिनै देशहरुमा फिर्ता जान्छ । अहिले बजार क्षेत्रको कुरै छोडौं, गाउँ गाउँमा पनि चाहे त्यो विद्यालय उमेरका किसोर किसोरी हुन्, चाहे घाम तापेर दिन कटाउने बृद्ध बा आमा चाहे घरको काम गर्ने गृहीणी वा मेलापात गर्ने मानिस । धेरैको हातहातमा स्मार्ट फोन देखिन्छ । घर घरमा बत्तिस इन्चका वा चालिस इन्चका एलइ डी वा एलसिडी टेलिभिजन पाईन्छ । मसला पिस्ने सिलौटोको ठाउँ मिक्सरले लिएको छ । चिसो पानीको लागि मानिसहरुले माटो घैटो राख्न छोडि सके । त्यो ठाउँ रेफ्रिजेरेटरले लिएको छ । सायद यसरी बुझ्दा अन्यथा नहोला, अब गाउँ गाउँमा पनि घरहरु इलेक्ट्रोनिक्स सामानहरुले भरिपूर्ण छन् । एउटा कोणबाट हेर्दा मानिसहरुको जिवन शैलीमा आएको, यो परिवर्तन मानव विकासको दृष्टिले आधुनिकताको दृष्टिले सहज र ठीक मान्न सकिन्छ । तर अर्को कोणबाट हेर्ने हो भने हामीले प्रयोग गर्ने गरेका अधिकाँश सामानहरु (लगभग सबै) नेपालमा बन्दैनन् । आयाता गरिने नै हुन् । जसको सोझो अर्थ हामीले रगत पसिना बगाएर दुःख गरेर कमाएको पैसा, फेरी विदेश फिर्ता गर्नु हो । र अर्को कुरा भलै हामीले प्रयोग गर्ने गरेका सामानहरुले हाम्रो जीवनशैली सहज बनाई दिएका छन् । तर त्यो भनेको विलकुलै अनुत्पादक क्षेत्र हो । एक पटक लगानी गरेपछि त्यो पैसा विस्तारै सकिदै जाने हो त्यसले कुनै प्रतिफल दिँदैन । यसरी हेर्दा रेमट्यान्सको ठूलो हिस्सा इलेक्ट्रोनिक सामानको माध्यमबाट फेरी विदेशै फिर्ता हुने गरेको छ ।
प्रत्येक नेपालीको सपना हुन्छ, जीवनमा आफ्नै नाममा एउटा घर होस्, जहाँ आफ्नो परिवारसंग खुशीले बस्न पाईयोस्, आवास मानिसको एउटा आधारभूत आवश्यकता पनि हो । घरले मानिसलाई घाम, पानी हावाहुरी जस्ता प्राकृतिक प्रकोपबाट मात्र बचाउँदैन । समाजमा उसको उपस्थिति र पहिचानको पनि आभाष गराउँदछ । त्यसैले पनि प्रत्येक व्यक्तिको सपना हुन्छ, आफ्नै घर, आफ्नै घरको सपना देख्दै गर्दा हामीले विचार गर्न भुलेको एउटा कुरा चाहि कस्तो घर, कत्रो घर, अनि कति खर्चको घर। विदेशबाट दुःख गरेर नेपाल भित्रिएको रकम पुनः विदेश नै फिर्ता गर्ने एउटा माध्यम घर पनि हो । अहिले गाउँगाउँमा पनि लहर चलेको छ, आर सी सी घर बनाउँने । दुई ढलान, साढे दुई, तीन ढलान । खर्च पनि कति ? चालीस लाख पचास लाख । अझ कोही कोही त मेरो त सत्तरी छोयो, पचहत्तर नाघ्यो भन्दै गरेका पनि सुनिन्छन् । वाफ रे वाफ, यत्रौ पैसा, एउटा घर बनाउँदा कूल लागतको झण्डै आधा पैसा आयातित सामानको माध्यमबाट पुनः विदेशीन्छ । तर हामीलाई त्यो कुराले कुनै फरक पर्दैन । किन भने हामी मख्ख छौं । मेरो घर आफ्नै घर । आफ्नो जीवनभरको कमाई गिटी बालुवामा खन्याएर हामी मख्ख पर्दछौं । आफ्नै घर । यो कुराको लागि प्रत्यक्ष अप्रत्यक्ष रुपमा समाजले पनि प्रेरित गरिरहेको हुन्छ । विदेश गएर पहिलो छुट्टी आउन पाएको छैन । मानिसहरु फ्याट्ट सोधिदिन्छन्, अब त घर बनाउने होला नि । उ पनि के कम जोस्सिदिन्छ, २५÷३० जति आफैसंग छ, बाँकी खोजखाज गर्नु पर्ला । अनि तीस लाख गोजीमा बोकेर साठी लाखको घर आँटी दिन्छ । ऋण लागोस तर दिन नलागोस् रे । मेरो एउटा नजिकैको नाता पर्ने दाई हुनुहुन्छ । भरखरै उहाँले पनि घर बनाए सक्नु भयो । तीन ढलानको । अस्तीताका भन्दै हुनुहुन्थ्यो, भित्री डेकोरोशन चल्दैछ । दाइको चारजनाको परिवार छ, बैंकबाट लोन लिएर घर बनाउनु भएको रहेछ । मासिक ४० हजार जति त व्याज मात्र तिर्नु हुन्छ रे । एक पटक बनाउँनै पर्दछ, बनाउँदा बनाउँदा ठुलै बनाए भन्दै हुनुहुन्थ्यो । मैले भनें ऋण त मज्जैले लागेछ नि दाइ उहाँले सहज उत्तर दिनु भयो, दैवले तँ आँट म पु¥याउँछु भन्छ रे भाई । अलि अलि पैसा आफैसंग पनि थियो, शुरु गरिहालें । घर उभ्भिइ हाल्यो । ऋण त के छ र भाई तिर्दै गरौंला नि । अहिलेसम्म हातखुट्टा चलेकै छ । मैले पनि प्रसंसा गर्दै भने, मान्छे तपाई आँटिलो हो दाई । उनि गमक्क फुले र म तिर प्रश्न सुचक आँखाले हेर्दै सोधे– अनि भाई तिमीले बनाउने होइन, आफ्नो मासिक २६ हजार तलब सम्झिएर हतार भएको बहाना बनाउँदै म उनिसंग छुट्टिएँ ।
घर बनाउनु, सुख सुविधा र विलासीताको सामान प्रयोग गर्नु, यो नितान्त व्यक्तिगत कुरा हो । प्रत्येक व्यक्ति आफ्नो जीवन आफ्नै तरिकाले जीउन स्वतन्त्र छ । यसमा कसैले हस्तक्षेप गर्नु हुँदैन । तर यस्ता कुराहरुमा खर्च गर्दै गर्दा समाजको लहड भन्दा पनि आफ्नो इच्छा र त्यो भन्दा धेरै आवश्यकतालाई ख्याल गर्नु पर्दछ । खर्च कहिले र कसरी गर्ने भन्ने कुरा पनि त्यतिकै विचार गर्नु पर्दछ । माथिकै घटनाको कुरा गनेृ हो भने पनि चार जनाको परिवार भएको ती दाईलार्य त्यति ठूलो घरको आवश्यकता नै थिएन । अर्को कुरा आफूसंग भएको पैसा ५/७ बर्षका लागि एउटा राम्रो व्यापार व्यवसायमा लगाएको भए, सायद त्यतिबेला, ति दाईसंग घर पनि हुन्थ्यो र पैसा पनि । तर अब लाग्दछ, ती दाईको पुरा जीवन बैंकको सावाँव्याजको हिसाब किताबमै वित्ने छ ।
मैले माथि नै उल्लेख गरिसकें । प्रत्येक व्यक्ति आफ्नै तरिकाले जीवन जीउन स्वतन्त्र छ । यो आलेख मार्फत कोहि कसैलाई घोचपेच गर्नु, आघात पु¥याउनु, पंक्तिकारको मनसाय विलकुल होइन । अधिकाँश नेपाली युवा वैदेशिक रोजगारीमा जाँदा देशको उर्वरभूमि बाँझै बसेको तितो यथार्थ हामीसंग छँदैछ । त्यहाँबाट कमाएर ल्याएको पैसा पनि उत्पादन मुलक क्षेत्रमा लगानि हुन नसकेको, यथार्थलाई मात्र एक आमनागरिकको हिसाबले चिन्ता व्यक्त गरेको हूँ । मेरो आशय के मात्र हो भने बर्षौं विदेशी भूमिमा रगत पसिना बगाएर कमाएको पैसालाई चार आनाको जग्गामा वालुवा र सिमेन्ट थुपारेर सक्नुको साटो केही उत्पादन मुलक क्षेत्रमा पनि लगानि गर्ने कि ? र सरकारले पनि त्यो किसिमको वातावरण बनाउन प्रयास गर्ने कि ?