नेपालका मुस्लिम समुदायले भातृत्व , उत्साह, समानता र जीतको पर्व ईद उल फित्र हिजो मनाएका छन् । अल्लाहको महिना पनि भनिने रमजान मुस्लिम समुदायको लागि महत्वपूर्ण महिना हो । यो समयमा इस्लाम धर्मको पवित्र धर्मग्रन्थ कुरानमा उल्लेखित विचारहरु प्रकट भएको विश्वास गरिन्छ ।
रमजान महिनाको अन्तिम दिन इस्लाम धर्मावलम्वीहरु स्नान गरेर नयाँ बस्त्र लगाई घरबाटै अल्लाहको महिमा गान गाउँदै प्रार्थनाको लागि नजिकैको मस्जिदमा जाने गर्दछन्, बाटोमा भेटिनेहरुसंग शुभकामना साटासाट गर्न कुरा त छँदैछ । प्रार्थना पछि सबै परिवार खुल्ला स्थानमा जम्मा भएर भोज गर्दै ईद उल फित्रलाई रमाइलो वातावरणमा स्वागत गरिन्छ । केटाकेटीहरुका लागी यो पर्व थप उल्लास पूर्ण हुने गर्दछ, किनभने राम्रो र नयाँ लुगा लगाउन पाउने, साथी र परिवारका सदस्यसंग बसेर उल्लासपूर्ण वातावरणमा मिठाकुरा खान पाउने यतिबेला नै हो । धनी र गरिब अनि ठूला र सानाबीचको बिभेद नहुने यो पर्व वास्तवमै भाइचार र सद्भावको पर्व हो ।
यस दिन अल्लाह सबैभन्दा महत्वपूर्ण हुन भन्ने भाव बोकेको भजन पनि गाउने गर्छन, मुसलमान समुदाय । एक महिनाको कठिन ब्रतपछि धनी, गरिब, ठूला साना सबैसंगै बसेर मनाउने यो चाड समानता र सहअस्तित्वको उदाहरण पनि हो । खुल्ला आकाश मुनी सबै संगै बसेर खानु अनि आफ्ना इष्टदेवको प्रार्थना गर्नु जति आनन्ददायक अरु के होला र ? धनी परिवारले आफ्नो अहम् त्यागेर अनि गरिब भनिने परिवारले हिनता त्यागेर संगसंगै रमाउनुले दिने सन्देश आफैमा महत्वपूर्ण त छंदैछ यसले बालबालिकामा पार्ने सकारात्मक प्रभावको हिसाब नै हुन सक्दैन । त्यसैले पनि यो चाड मुसलमान समुदायका लागि मात्र होइन अन्य धर्मावलम्विहरुका लागि पनि सकारात्क सन्देश बोकेर आउँछ । भाइचारा, समर्पण र उत्साहको पर्व ईद उल फित्रको सबैमा शुभ कामना ।