दमौली/तनहँको जेठो व्यास नगरपालिकाले आफ्नो चार वर्षे कार्यवधिको प्रगति विवरण सार्वजनिक गरको छ ।
मंगलबार नपाको जनप्रतिनिधिको रुपमा निर्वाचित भएर सपथ खाई कार्य प्रारम्भ गरेको चार वर्ष पूरा भएको अवसरमा नपाले विवरण सार्वजनिक गरेको हो । सार्वजनिक विवरणमा विकास निर्माणका पुर्वाधारहरु सडक, खानेपानी, वडा कार्यालय निर्माण, स्वास्थ्य भवनहरु निर्माण, सेवा विस्तार, कृषि, पर्यटन र शैक्षिक क्षेत्र सुधारका लागि वडागत, नगरस्तरीय, प्रदेश र संघ स्तरीय वजेट परिचालन गरिएको उल्लेख छ ।
कोभिड–१९ तथा बाढी पहिरोको प्रकोपको कारण विकास निर्माणका काममा चुनौति थपिएको भएपनि यो चार वर्षको अवधिमा मानहुँकोटको पर्यटन विकास, व्यास पराशर क्षेत्रको विकास(१०८ फुट मुर्ती निर्माण), मादीनदी एकिकृत विकास परियोजना, नारेश्वर ताल निर्माण, खड्गकाली मार्ग निर्माण, नगरपालिकाको बहुउदेश्यीय भवन निर्माण, विश्वबैंकको लगानीका शहरी पुर्वाधार शासकीय सुधारका कार्यहरुका लागि सम्झौता, फोहोरमैला व्यवस्थापन गर्ने लगाएतका महत्वपुर्ण कार्यहरुको थालनी भएको समेत विवरणमा उल्लेख छ ।
सडक निर्माण, शिक्षा, वातावरण सरसफाई, विद्युत लागाएत विभिन्न १६ शिर्षकमा विभाजन गरेर प्रस्तुत गरिएको प्रगति विवरणमा सडक तर्फ चर वर्षको अवधिमा १६.८ किलो मिटर कालोपत्रे, ४८.६८ किमि ग्रावेल सडक तथा ९८.४९ किमि कच्ची सडक निर्माण गरिएको जनाइएको छ । यस्तै शिक्षा तर्फ विभिन्न विद्यालयमा कोठा थप निर्माण, १० वटा विद्यालयमा पुस्तकालयको व्यवस्था, ९ वटा विद्यालयमा विज्ञान प्रयोग शालाको व्यवस्था , प्रविधि मैत्री विद्यालय निर्माण कार्यक्रम सञ्चालन, कक्षा ५ सम्मका बालबालिकाका लागि दिवा खाजा कार्यक्रम तथा बालविकास केन्द्र व्यवस्थापनमा सहयोग जस्ता कार्यक्रम समेटिएका
छन् ।
यहि अवधिमा कुहिने फोहरबाट मल बनाउन प्रारम्भ गरिएको प्रगति विवरणमा उल्लेख गरको नपाले फोहरको दीर्घकालिन व्यवस्थापनका लागि वडा नं ४ र १० मा वातवरणिय प्रभाव मूल्याङ्कन कार्य सम्पन्न भएको जनाएको छ । यसैगरी विद्युत तर्फ काठको पोल विस्थापनको कार्य भएको र उपभोक्ताकै योगदानमा सडक बत्ती राख्न काम समेत भएको उल्लेख छ ।
कोरोना रोकथाम र नियन्त्रणका लागि हप्तामा दुइ दिन निशुल्क पिसिआर परिक्षण तथा क्वारेन्टिन तथा आइसोलेसनको निर्माण र संक्रमितलाई खाना खुवाउने काम समेत गरिरहेको नपाले स्वास्थ्य चोकी स्थापना, आँखा शिविर तथा पाठेघरको मुखको क्यान्सर सम्वन्धी शिविर सञ्चालन तथा एम्बुलेन्स खरिदलाई आफ्नो उपलब्धीको रुपम व्याख्या गरेको छ । नपाले यसबीच कृषि क्षेत्रको विकास, पशु विकास, उद्योग तथा पर्यटन क्षेत्रका विकासमा पनि महत्वपूर्ण काम भएको जनाएको छ ।
अल्ट्रा म्याराथन तथा महिला खुल्ला हाफ म्याराथन प्रतियोगिता सञ्चालन,राष्ट्रपति रनिङ खेलकुुुद, अन्तर माध्यमिक मेयर कप छात्र फुटबल तथा उपमेयर कप छात्रा फुटवल तथा मेयर कप ब्याडमिन्टन प्रतियोगिताको आयोजना र विभिन्न स्थानमा खेल मैदान निर्माण भएको कुरालाई खेलकुद तर्फको आफ्नो चार वर्षे उपलब्धी बताएको व्यासले सबै वडामा इन्टरनेट जडान भएको, डिजिटल नागरिक वडापत्र स्थापना, कर्मचारीहरुको इ– हाजिरी तथा नपाको मोवाईल एप्लिकेशन सञ्चालन सहितका काम सूचना तथा सञ्चार तर्फ प्रगति भएको बताएको छ ।
नगर पालिकाको बहुउद्देश्यीय प्रशासनिक भवन निर्माण, नगर सभाहल निर्माण , विभिन्न ८ वटा वडाको वडा कार्यालय भवन निर्माण तथा वसपार्क निर्माण कार्यलाई पनि नपाले आफ्नो उपलब्धी बताएको छ । यसैगरी सहरी वडामा मेट्रिक ठेगाना प्रणाली लागु भएको, सुरक्षित आवास कार्यक्रम अन्तर्गत ४५८ घरको खरको छानो फेर्ने काम भएको तथा बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरणको थालनीलाई पनि उपलब्धी भनेको छ ।
चिन्तुटार रङ्गशाला तथा वीपी वन बाटिका खेलमैदान लगाएत विभिन्न २२ योजनाको गुरु योजना तथा विस्तृत परियोजना प्रतिवेदन निर्माणलाई उपलब्धीको सूचिमा राखेको व्यास नपाले सबै वडामा पुग्नेगरी चक्रपथ निर्माण, हप्तामा एकदिन किसान हाट सञ्चालन तथा कृषिमा आत्मनिर्भर कार्यक्रम जस्ता केही भावि योजना पनि प्रस्तुत गरेको छ । ,
व्यासको चार वर्षे कार्य प्रगति समिक्षा :विभिन्न सोह्र क्षेत्रमा उल्लेख्य प्रगति
previous post