म आफुलाई पनि त्यस्तै लाग्ने हुनाले राजनीतिसँग सम्बन्धित आलेखहरुमा प्रायः एउटा वाक्य वा त्यस्तै आशय आउने वाक्यहरु प्रयोग गरिरहेको हुन्छु । त्यो हो राजनीतिमा सबै सम्भव हुन्छ । असम्भव भन्ने नै हुँदैन र राजनीतिको एकमात्र केन्द्र सत्ता नै हो । पछिल्लो समयको नेपालमा घटिरहेको राजनीतिक घटनाक्रमहरुको अध्ययन र बुझाई एवम् अग्रज राजनीतिक विश्लेषकहरुको राजनीतिक विश्लेषण सुन्दा र स्वयम् नेताहरुले नै भनेको सुन्दा पनि मेरो बुझाई गलत रहेनछ जस्तो लाग्छ ।
दोस्रो प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन पछि राष्ट्रिय रुपमा नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो, नेकपा माओवादी केन्द्र तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी चौथो राजनैतिक शक्तिको भएको थियो । जुन निर्वाचनको पूर्वसन्ध्यामा मात्रै गठन भएको हो भन्दा पनि फरक पर्दैन । राजनीतिक दलहरुले प्राप्त गरेको मत परिणामको आधारमा पहिलो, दोस्रो, तेस्रो र चौथो राजनीतिक दल वा शक्ति भनेर भनिएपनि दलहरुको मिलन र बिद्धोह, सांठगांठ र घात प्रतिघात पूर्ण व्यवहारको कारणबाट निम्तिएको राजनीतिक परिस्थिति र त्यसले सृजना गरेको अवस्थाबाट को पहिलो ? को दोस्रो ? को कमजोर ? को शक्तिशाली ? छुट्याउनै गाह्रो परेको छ । संसदीय राजनीतिको अभ्यास गर्ने सबै मुलुकमा यस्तै ताल होलाकी नेपालमा मात्र होला द्वविधाले पङ्तिकार अलमल्ल परेको छ ।
मत परिणामको आधारमा तेस्रो शक्तिको रुपमा उदाएको पार्टीले देशको कार्यकारी प्रमुखको पद पाउनु र सबै भन्दा ठूलो दल प्रतिपक्षमा बस्न बाध्य हुनु पक्कै पनि अनौठो मान्नै पर्ने कुरा हो तर सत्ताको बाँडफाँडमा भागबन्डा मिलाउन गरिने राजनीतिक समिकरणमा यस्तो पनि हुँदो रहेछ । अब सायद यस्तै भनेर चित्त बुझाउनुको विकल्प छैन । किनभने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्माननिय प्रधानमन्त्रीको पद पाउनु भन्दा पनि अनौठो, कहि नभएको जात्रा हाँडिगाउँमा भन्ने जस्तो घटना नेपालको राजनीतिमा घटेको छ । प्रधानमन्त्रीको पद देउवा र प्रचण्ड दुवैको तारो थियो । दुवै आँफु पहिले बस्न चाहन्थ्ये त्यो कुर्चीमा । आफ्नो दुनो सोझ्याउनको लागि दुवैले भरपुर कसरत र तिगडमवाजी गरेकै हुन् । सहमति गर्ने अन्तिम समयसम्म पनि सहमति हुन नसकेको कारण देखाउँदै संविधानले गरेको व्यवस्था अनुसार ठूलो दलको नेता भएको हैसियतले आफु प्रधानमन्त्रीको कुर्चीमा बस्ने दाउमा थिए देउवा । तर आफु सत्तामा रहन को को सँग कहिले मिल्नुपर्छ ? कसलाई कहिले छोड्नुपर्छ ? भनेर बुझेका चतुर प्रचण्डले स्वाट्ट ओलीसँग बालकोटको बार्दलीमा हात मिलाएर देउवालाई ट्वाँ पारिदिए । पहिले आफै प्रधानमन्त्री हुने देउवाको हठ भए देउवा मात्रै ट्वाँ भए । यदि देउवा प्रधानमन्त्री भए स्वार्थ लुट्न पाईन्छ भनेर उक्साउन पछि लाग्नेहरु भए ति सबै पनि ट्वाँ भए । ‘कहिँ नभएको जात्रा हाँडिगाउँमा’ भने जस्तो चाहि के भयो भने त्यसरी आफुलाई ट्वाँ पार्दिने, ‘हिस्स बुढि हरियो दाँत’ भनेझैं गर्दिने, ‘हात्ती आयो हात्ती आयो फुस्सा’ बनाईदिने प्रचण्डलाई देउवाले विश्वासको मत दिए । प्रतिपक्ष दलले सरकारलाई विश्वासको मत दिनु भनेको संसारमा विरलै हुने घटना हो । किनभने प्रतिपक्षको काम र धर्म नै सरकारलाई अविश्वास गर्नु हो । सरकारलाई उसले गरेको गलत र अनुचित कामको जानकारी गराउँनु र विरोध गर्नु हो । ताकि सरकार अनुशासन बाहिर जान नसकोस् । सरकार तानशाहि नबनोस् । तर प्रतिपक्ष र राष्ट्रिय राजनीतिकै ठूलो दलले सरकारलाई विश्वासको मत दिए पछि प्रतिपक्षको काम के ? हैसियत के ? सरकारलाई भोलिको दिनमा कुन नैतिकताले सचेत र सावधान गराउने ? नैतिकताको कुन धरातमा उभिएर भोलि सरकारको गलत कदमको विरोध गर्ने ? किनकि हिजोको दिनमा आफैले ठीक छ भनेर मत दिएको सरकार हो । प्रतिपक्ष दलको सबैभन्दा ठूलो दलसँग नै नैतिकता नभएपछि अरु साना दलले त विचरा चाहेर पनि के नै गरुन् र ? अचम्म लाग्दो कुरा चाहिँ के पनि हो भने नेपाली काँग्रेस जस्तो गर्विलो इतिहास बोकेको पार्टीले किन एक पछि अर्को गल्ति क्रमश गरिरहेको छ ? पहिलो गल्ति गठबन्धनको भरमा निर्वाचन लड्नु, एक्लै लड्ने साहस नगर्नु । दोस्रो गल्ति माओवादी केन्द्रलाई कार्यकारी प्रमुखको पहिलो कार्यकाल दिन नचाहनु र तेस्रो गल्ति पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिनु । आखिर किन कांग्रेस यसरी एक पछि अर्को गल्ति गर्दैछ ? कतै यो पतनको मेसो त हैन ? आम काँग्रेसी कार्यकर्ता र काँग्रेस नेतृत्वले अब सतर्क हुनैपर्छ ।
यी काँग्रेसका कुुराहरु भए । अब फेरी एकछिन सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै कुरा गरौं । अहिलेलाई ओली बा को कुरा चाहिँ नगरौं किनभने उनलाई त अपुताली परि नै गो । प्रमुख प्रतिपक्ष दल भएर बस्नुपर्ने पार्टी सरकारको प्रमुख साझेदार भएपछि के चाहियो र अरु । गुइह्य कुरा भन्ने हो भने यो सरकार प्रचण्डको कि ओलीको भनेर यसै जवाफ दिन सकिने अवस्था छैन । कुरा नगरौं भन्दाभन्दै अलिकति कुरा गरिहालियो । अब प्रचण्डतिरै फर्कौं । राजनीतिक रुपमा तेस्रो पार्टीको प्रमुख भएर पनि प्रधानमन्त्रीको कुर्ची भेट्टाउनु, अझ नपुगेर प्रमुख प्रतिपक्षी दलबाट समेत विश्वासको मत पाउनु । प्रचण्ड या त वास्तवमै भाग्यमानी हुन् या त वास्तवमै राजनीतिक रुपमा चतुर । तर उनको अप्ठेरो र चुनौती सकिईसकेको छैन । नयाँ गठन भएको र विस्तारीत मन्त्रीमण्डलमा नयाँ र युवा पुस्तालाई मौका दिएर प्रचण्ड र सरकारमा सम्मिलित दलहरुले राम्रो काम गरेका छन् । तर राष्ट्रपतिको टुङ्गो नलाग्दासम्म प्रचण्डको अप्ठेरो सकिँदैन । प्रचण्ड माथि कसको पल्ला भारि पर्छ ? कसको गुनलाई उनले ठूलो ठान्छन् त्यो हेर्न बाँकी नै छ । किनभने हिजो ओलीसँगको पार्टी एकतापछि अलगिएर एक्लो र विचरो भएको प्रचण्डलाई काँग्रेसले साथ दिएर गुन लाएकै हो तर फेरी त्यहि काँग्रेसले धोखा दिने शुर गरेर के गरौं र कसो गरौंको अवस्थामा पु¥याउँदा ‘कोईन कोई पुरानो पोई’ भनेजस्तो ओलीले नै प्रचण्डलाई बचाएका हुन् । लगत्तै विश्वासको मत दिएर सरकार चलाउन सजिलो पार्दिनु पनि काँग्रेसको सानो सहयोग चाहिँ होइन । प्रचण्डको ब्रह्मले के निर्णय गर्छ त्यो पनि चाखपूर्ण प्रतिक्षाकै विषय हो । किनभने आफुलाई प्रधानमन्त्री बन्न अवरोध गरेर गठबन्धन टुट्नुको कारण बनाईदिने काँग्रेसलाई राष्ट्रपति पद दिन त पक्कै मन नहुँदो हो । विश्वासको मत दिएर राष्ट्रपतिको पदको लागि चारो हालेपनि । अर्को तर्फ एमालेलाई दिऊँ भने राष्ट्रपति सभामुख सबै एमालेको हुँदा सरकारमा आफ्नै अस्तित्व नरहला कि भन्ने डर । एमाले र काँग्रेस यि दुवै भन्दा बाहिर जान प्रचण्डलाई पनि सम्भव छैन । समस्या त समस्यामै छन्, प्रचण्ड पनि । तर समस्यामै भएपनि प्रचण्ड जत्तिको माहिर र चतुर खेलाडीले आफुलाई फाईदा हुने गरेरै समाधान निकाल्छन् भन्ने कुरामा त दुईमत पक्कै छैन ।
नेपालको निर्वाचन पछिको घटनाक्रमलाई सरसर्ती नियाल्ने हो भने पहिलो को ? र सफल को भयो ? भन्ने कुरा चाहिँ ठ्याक्कै भन्न साँचिकै गाह्रो कुरा हो । सबै भन्दा धेरै सिट जितेको काँग्रेस पहिलो र शक्तिशाली भनौं भने प्रतिपक्षमा बस्नुपरेको छ । प्रचण्ड सफल भनौं भने सत्ताको लागि कहिले यता त कहिले उता गर्नुपरेको छ । र पनि समस्या सकिइसकेको छैन । एमाले सफल भयो भनौं भने प्रचण्डको स्वार्थ पूर्तिको लागि थुकेको थुक चाट्नुपरेको छ । हिजो भर्खर गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले गृह जस्तो शक्तिशाली मन्त्रालय पाएको छ तर वरियतामा चौंथो क्रममा छ । साँच्चै, वास्तवमै भन्नुपर्दा यतिबेला नेपालको पहिलो पार्टी हो चाहिँ कुन ?
पहिलो को ?
previous post