रमेश विकल
नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा मंगलबार असार २९ मा नेपालको ४३ औं प्रधानमन्त्रीका रुपमा नियुक्त भएका छन् ।
२०५७ भदौ ७ मा पहिलो पटक प्रधानमन्त्री भएका देउवाको यस पटकको नियुक्ति पाँचौं पटकको हो । प्रधानमन्त्रीत्वको चौथो कार्यकालमा स्थानीय निकायदेखि प्रदेश र संघको निर्वाचन गरेर आफुले आँटेको काम गरेरै छाड्ने नेताको उपमा पाएका देउवाको पाँचौ कार्यकाल भने सहज छैन । एकातिर सरकारभन्दा बलियो र बदलाको भावनाले पे्ररित प्रतिपक्ष छ भने सत्ताधारी दलका सांसदहरु नै जता मल्कु उतै ढल्कु गर्ने खालका छन् ।
नियुक्तिमै विवाद भएर राष्ट्रपतिले सपथका लागि बोलाएको समयमा नगएका देउवाले राष्ट्रपतिबाट बधाई समेत
पाएनन् । यसबाट प्रष्ट हुन्छ, देउवाको यो कार्यकाल सहज हुने छैन । यस पटक देउवाका अगाडी चुनौतिका चाङ छन् । सत्ता सहयात्री चरम अवसरवादी छन् भन्ने कुरा शायद देउवाले गत निर्वाचनमा सत्तामा आफुसंग सहयात्रा गर्ने तर निर्वाचनमा अर्कैसंग गठबन्धन गर्ने माओवादी अध्यक्ष प्रचण्डको धोखापूर्ण व्यवहार विर्सेका छैनन् । यस्तै माधव नेपालको विगत पनि ढाबको किलो जस्तो रहने गरेको थियो र त्यस्तै व्यवहार यसपटक पनि प्रदर्शन गर्ने लक्षण देखिइसकेको छ । मधेशवादी दलबाट माथि उठेर राष्ट्रिय दल बनेको भनिएको अर्काे सहयात्री झन अवसरवादी छ । यस्तोमा सबैलाई सन्तुलनमा राखेर संसदको बाँकी कार्यकाल गुजार्न देउवालाई हम्मेहम्मे पर्नेछ ।
देशका नागरिक कोरोना र त्यसको नियन्त्रणको रामबाण अस्त्रको रुपमा सरकारले प्रयोग गर्दै आएको निशेधाज्ञाका कारण आक्रान्त छन् । कोरोना विरुद्धको खोप सहज हुन सकेको छैन । यहि समयमा बाढी पहिरोले देशका अधिकांश भागका नागरिक घरबार विहिन भएका छन् । अब देउवाले कोरोना विरुद्ध लड्न आम नागरिकलाई एकताबद्ध तुल्याउनु छ । ओलीले झै नागरिकलाई सत्तोसराप गरे भने उनको सत्ता यात्रा पनि छोटिँदै जानेछ । बाढी पिडित नागरिकलाई सरकार छ भन्ने अनुभूत गराउने र उनीहरु पिडामा मलम लगाउने काम पनि देउवाको काँधमा आएको छ ।
यतिमात्र होइन, नेपाली चेलीहरु दिनदिनै बालात्कृत हुने र मृत्युवरण गर्नु पर्ने तर पिडितले न्याय नपाउने अवस्था छ । जसको उदाहरण कञ्चनपुरकी बालिका निर्मला पन्तलाई हेरे पुग्छ । थुप्रै निर्मलाको परिवार न्याय नपाएर आंशुको पोखरीमा डुबुल्की मारेको अवस्था छ । उनिहरुमा न्याय पाउने आशा जगाउनु छ र न्याय दिलाउनु पनि छ ।
विसं २००३ साल जेठ ३१ मा डडेल्धुरामा जन्मेका देउवाका चुनौति यतिमै सकिँदैन । यति र ओम्नीले ओलीको आडमा राज्यको सम्पत्तिमाथि गरेको दोहन बन्द गर्नुछ ।
७० करोड देखि कोरोना विरुद्धको औषधी खरिदमा भ्रष्टाचारका अनेकौ काण्डहरु घटे त्यसको पर्दाफास गरेर दोषिलाई कानुनको दायरामा ल्याउने काम पनि देउवाको हो । ओलीले विगारेर छाडेको राज्य प्रणालीका हरेक अंगको बनावटलाई यथास्थितिमा फर्काउनु पनि देउवाको दायित्व
पनि हो ।
कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले भनेझै “आम नागरिकमा आशा जगाउनका लागि नयाँ सरकार केपी ओली प्रवृतिको विकल्प बन्नुपर्छ । आचरण, कार्यक्षमता, कार्यशैली, चारित्रिक तथा नैतिक दृष्टीले अबको सरकार ओली प्रवृतिको विकल्प बन्नुपर्छ । भ्रष्टचारलाई शुन्य सहनशिलतामा लैजान पनि वर्तमान सरकार सबल बन्नुपर्छ । भ्रष्टचारको निष्पक्ष छानविनका लागि अख्तियारलाई ओली सरकारले बनाएको सरकारी छाँयाबाट मुक्त गराउनुपर्छ । अबको सरकारले ओली सरकारले गरेको असंवैधानिक नियुक्तीको खारेजी, लोकतान्त्रिक मर्ममाथि प्रहार गर्ने अध्यादेश तथा कानुनहरुको खारेजीको काम तत्काल
थाल्नुपर्छ । सरकारलाई अब साँच्चै समाजवादी चरित्रको बनाउनका लागि आमनागरिकका समस्यालाई सम्बोधन गर्ने काम सरकारले फटाफट गर्नुपर्छ । संविधानसभाबाट बनेको संविधानले नागरिकलाई दिएका अधिकारहरु कार्यान्वयन गर्ने दिशामा सरकार अगाडि
बढ्नुपर्छ ।”
कांग्रेस युवा नेता गगन थापा यो सरकारको जिम्मेबारी एकातर्फ संविधान कार्यान्वयन गर्ने रहेको उल्लेख गर्छन भने अर्कातर्फ ओली सरकारको अकर्मण्यताले महामारी लगाएतका समस्यामा भोग्नु परेको सास्तीबाट निराश नागरिकलाई आशा र भरोषा दिलाउनु हो । थापा भन्छन्, हामीलाई चुक्ने सुविधा छैन । यो चुनौतिलाई अवसरमा बदलेर जिम्मेबारी पूरा गर्नु देउवा सरकारको प्राथमिक काम हुनेछ ।
देउवाले जनमनमा बस्ने गरी काम गर्लान् भन्ने आमअपेक्षा छैन । आमअपेक्षालाई गलत सावित गर्र्दै नागरिकका पक्षमा काम गर्नु र गौरवशाली इतिहास निर्माण गर्नु पार्टीलाई पूर्वावस्थामा फर्काउने अठोट गरेका देउवाको काम हो । चुस्त र कर्ममा विश्वास गर्ने टिम बनाएर काम गर्न सके जनमनमा बस्नेछन् न भए सिँहदरबारको भित्तामा एउटा फोटो झुण्डाउने बाहेक कुनै उपलब्धी हुनेछैन भन्ने आमनागरिकका बीच चर्चा परिचर्चा चलिरहेका छन् ।
देउवा पाँचौ पटक प्रधानमन्त्री नियुक्त जनमनका कि सिंहदरबारको भित्तामा
previous post