एउटा कुम्हाले माटोको भाँडा बनाउने तयारी गर्दै थियो । उसकीश्रीमती आएर सोधि के बनाउन लाग्यौं, आज ? उसले जवाफ दियो, चिलिम बनाउँदै छु । आजकल यसको खसब फेसन छ यसको र व्यापार राम्रो छ । श्रीमान्का कुरा सुनिसकेर श्रीमतीले भनिन्, गर्मी लाग्दैछ , बरु सुराही बनाऊ । यसको पनि राम्रो व्यापार हुन्छ । दुनियाँले चिसो पानी पिउन पाउँछन् । उसलाई आफ्नी अर्धाङिगनीको कुरा जायज लाग्यो र चिलिम बनाउने सोच त्याग्दै सुराही बनाउने सोचका साथ मुछेको माटोलाई सुराहीको आकार दिन थाल्यो । त्यस्तैमा माटो बोल्यो । तिमी के बनाउँदै छौ मलाई ? अघि त चिलिम बनाउने विचारमा थियौ । कुम्हालेले भन्यो, मेरो विचार बदलियो । म अब तिमीलाई सुरराहीको आकार दिँदैछु । कुम्हालेको जवाफ सुनेर माटोले भन्यो, तिम्रो बदलिएको विचारले मेरो स्वरुप मात्र बदलेन बरु मेरो त जिन्दगी नै बदलियो । यदि मलाई सुराही बनाएको भए ओगो बोकेर हिँड्ने पथ्र्याै र आफु पनि जल्थें र अरुलाई पनि जलाउँथें । तर अब सुराही बनेपछि म भित्र पानी भरिन्छ । अनि आफु सितल हुन्छु र अरुलाई पनि सितलता प्रदान गर्छु ।
स्थानीय निकायको निर्वाचनको मिति तोकिएको सन्दर्भमा दलहरु गाउँ गाउँ जान थालेका छन् । सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस फागुन २९ देखि एक महिने कार्यक्रम लिएर गाउँ पसेको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि आकर्षक नारा र विभिन्न कार्यक्रम लिएर गाउँ पसेको छ । एकिकृत माओवादी तथा एकिकृत समाजवादी लगाएत अन्य साना दलहरु समेत संगठन निर्माण गर्दै र मत माग्दै गाउँ गाउँ पुगेका छन् । निर्वाचन नजिकिँदै गर्दा नेताहरुबीच एकले अर्कालाई होच्याउने, निचा देखाउने प्रतिस्पर्धा नै सुरु भएको छ । आफ्नो दलले आम जनताका लागि के गर्न सक्छ ? यस अघि बाचा गरिएका अनुसारका काम किन हुन सकेनन् । ति काम पूरा गर्न आगामी कार्यक्रम के के छन् ? जस्ता कुराहरु कुनै नेता तथा कार्यकर्ताका मुखबाट सुन्न पाइएको छैन । अरुलाई निचा देखाउन सक्दा आफ्नो कद उँचो हुने वा आफ्नो दलका प्रति जनसमर्थन बढ्ने नेताहरुमा व्याप्त धारणाका कारण यस्तो भएको हुनसक्छ । हुनपनि जुन नेताले अन्य दल वा नेताको चर्काे आलोचना गर्न सक्छ, जसले भित्र जे भएपनि आवरणमा राष्टवादी कुरा गर्न सक्छ त्यही नेताको पछि जनमत देखिने भएका कारण पनि यस्तो भएको होला ।
यो वा उ पार्टी भन्ने छैन । सबै पार्टीका एकथरी नेता यस्ता छन्, जसलाई अरुभन्दा अब्बल देखिन र राष्ट्रवादी तथा नागरिकको सुख दुःखमा चासो राख्ने नेता कहलाउन अस्वाभाविक कुरा बोल्नै पर्छ । अरुलाई होच्याउनै पर्छ । यस्तो लाग्छ, अरुलाई निचा नदेखाउने हो भने नेताहुनुको गरिमा नै रहँदैन । कार्यकर्ता र समर्थकले भाषणका क्रममा ताली नबजाए, हुटिङ नगरे भाषण गरेको जस्तै लाग्दैन र श्रोता पनि यस्ता छौं कि अरुलाई गाली गरेको वा होच्याएको भाषण नसुन्दासम्म मजै लाग्दैन । ताली पिटेको अनि हुटिङ गरेको सुन्ने मोहमा परेर ति नेताहरु फरक विचार राख्नेहरुलाई तथानामा गाली गर्छन् । आफ्नो पदिय मर्यादा भुल्छन् । राजनीतिमा अनेकौं सम्भावनाका कुरा गर्ने उनीहरुले आफैले घारेहात लगाएका नेतासंग भोली सहकार्य गर्नुपर्ने कुरा समेत भुल्छन् या कार्यकर्ता र आम श्रोताको ताली पाउने लालसामा भुलेको बहाना बनाउँछन् ।
पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको कुरा गरौं । उनी हरेक भाषणमा दिन दिनै फरक विचार राख्ने नेताहरुको विभिन्न तरिकाले तिखो आलोचना गर्छन् । दुइपटक प्रधानमन्त्री भइसकेका उनलाई आफु त्यो पदमा थिएँ भन्ने याद रहँदैन कि जस्तो लाग्छ, उनका तुच्छ गाली गलौज सुन्दा । कसैको जिउडाल र चालढालको नक्कल गर्छन् त कसैको बोलीको नक्कल गर्छन् र होच्याउँछन् । आफ्ना समकालिन राजनीतिज्ञहरुलाई चिम्पाञ्जी जस्तो भनेर खिस्याउँछन् । अनि आफु चाहिँ आलोचनाको अ पनि सुन्न चाहँदैनन् र भन्छन्, आलोचकहरुलाई अरिँगाल बनेर चिल्नु, बघिनी बनेर झम्टिनु । उनी बोली पिच्छे आगो ओकल्छन् । ओलीमात्र होइन एमालेका अन्य नेताहरु सूर्य थापा, गुरु भट्टराई, भिम रावल यस्ता नेताहरु हुन् जसको खाना अरुको तुच्छ आलोचना नगरेसम्म पच्दैन । ताली र हुटिङका लागि मर्यादाका सबै सिमा नाघ्न तयार हुने नेताहरुको लामै सूचि बन्छ, एमालेमा ।
अर्काे ठूलो दल नेपाली कांग्रेसमा पनि यस्ता नेताहरुको संख्यामा कमि छैन् । फरक यत्तिमात्रै हो कि तुलनात्मक रुपमा उनीहरु सालिन छन्, तथ्यमा टेकेर आलोचना गर्छन्, आफ्नो मर्यादाको उल्लङ्घन गर्दैनन, आलोचना पचाउने क्षमता राख्छन र संख्यामा थोरै छन् । तुलनात्मक रुपमा सालिन लाग्ने नेता तथा उपसभापति धनराज गुरुङ आजकल फरक विचार राख्नेको तिखो आलोचक भएका छन् । सत्ता सहयात्री दललाई चमेरो भन्दै आफ्नो दललाई हात्तीको संज्ञा दिएका उनको अभिब्यक्ति स्वाभाविक मानिएको छैन् ।
एकिकृत माओवादीको स्कुलिङ नै अरुको आलोचना गर्ने तर आफ्नो आलोचना नसहने भएकाले स्वाभाविक छ, उनीहरु अन्य दलका नेताको तिब्र आलोचना गर्छन् । तर आफ्नो आलोचना भने सहँदैनन भन्ने कुरा त भर्खरै सार्वजनिक प्रकाश सपुतको गितलाई युट्युवबाट तुरुन्त हटाउन अन्यथा कारवाहीको भागिदार हुन दिइएको धम्कीबाट प्रष्ट हुन्छ । एकिकृत समाजवादी लगाएत अन्य दलमा पनि त्यस्ता नेताहरुको कमी छैन ।
समग्रमा हाम्रो राजनीति मैले राम्रो गर्छु र नागरिकको मन जितेर मत हासिल गर्दै शासन सञ्चालन गर्छु भन्नेमा भन्दा पनि अरुको आलोचना गरेर, अरुलाई निचा देखाएर जनमत आफ्नो बनाउँछु भन्ने ध्याउन्नमा छ । माथि उल्लेख गरिएको कथाको चिलिम बनेर आफु पनि पोलिने र अरुलाई पनि पोल्ने ध्याउन्नमा केन्द्रीत छ हाम्रो राजनीति । किनभने अरुको अनावश्यक आलोचना गरेर आर्जन गरेको जनमत धेरै टिक्दैन । बरु जनताको दुःख सुखमा सहभागी भएर उनीहरुको मनमा सितलता प्रदान गर्न सके सुराहीको जस्तो आफु पनि सितल हुने र अरुलाई पनि सितलता प्रदान गर्ने अवस्था बन्न सक्थ्यो । …. को न्यानो भने जस्तो अनावश्यक र तुच्छ आलोचनाले क्षणिक आनन्द दिन्छ, एकछिनका लागि जनमत पनि प्राप्त हुन्छ तर त्यो दीर्घजीवि हुँदैन । त्यसैले हाम्रा नेताहरु चिलिम बन्न छोडेर सुराही बन्ने प्रयत्नमा लागुन् भन्ने कामना ।