१६ कार्तिकमा दक्षिण छिमेकी भारतले आफ्नो नयाँ राजनैतिक नक्सामा नेपालको स्वामित्वमा रहेको पश्चिम नेपालको कालापनी क्षेत्र जसका लिम्पिया धुरा, कालापानी र लिपुलेक समेटे पछि उत्कर्षमा पुगेको नेपाल भारत सिमा विवाद नेपाली भूमि हुँदै भारतले सडक बनाएर गत महिना उद्घाटन समेत गरेपछि अझै उत्कर्ष तर्फ उक्लेको छ । सिमा विवाद भन्दा पनि विभिन्न ऐतिहासिक तथ्यहरुले नेपालको भूमि भनेर एकिन भनिरहेको उक्त क्षेत्र भारतले हड्प्न चाहेको देखिएको छ । भनिरहनु परेन भारतले यस्ता धेरै ठाउँ छन्, जहाँ सिमाना मिचेको छ । आफ्नो निकट छिमेकीको मन दुःखाएको छ । तिन तिर सिमा रहेको छिमेकी भारत दर्जनौं स्थानमा सिमा मिचेर हामीलाई रुवाई रहेको छ । अनि उत्तरी छिमेकी चीनपनि झण्डै डेढ दर्जन स्थानमा सिमा मिचेर घाउमा नून चुक छर्न व्यस्त छ । तर नेपाल सरकारले मन्त्री परिषदबाट भारतले हडपेका ति भूमि समेटिएको नेपालको नक्सा स्वीकृत गर्ने तथा प्रकाशित गर्न गरेसंगै भारतीय सञ्चार माध्यम नेपाल विरुद्ध खुलेरै लागेका छन् भने जेठ ३१ मा संविधान सम्सोधन गरेर निशाना छापमा समेत उक्त नक्सा राख्ने विधेयक सर्वसम्मतबाट पारित भएपछि त झन भारत आक्रामक बनेको छ ।
उत्तरी सीमामा रहेको सगरमाथा आफ्नो भएको जीकिर गर्नै चीनलाई प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाले तथ्य प्रमाणहरु प्रस्तुत गर्दै नाजवाफ बनाएर विवादको समाधान गरेका भए पनि चीनसंग केही स्थानमा सीमा विवाद बाँकी नै छ । तर भारतसंग जस्तो समस्यापूर्ण भने देखिएको छैन । भारत त रातारात सीमा पिल्लर सार्ने, दशगजा मिचेर बाटो वा नहर निर्माण गर्ने जस्ता कार्य गरिरहन्छ । यस्तो लाग्छ, नेपालसंगको सीमा अतिक्रमण नगरेको रात भारतीयहरुलाई निन्द्रा लाग्दैन ।
भारतसंगको सीमा विवादलाई राजनीति गर्ने विषय बनाएका र हाल एकिकृत भएका दुइ दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र हाल सत्तामा छन् । तथ्य प्रमाणका आधारमा कुटनीतिक तवरबाट हल गर्नु पर्ने समस्यालाई मत बटुल्ने आधार बनाउने राजनीति नेपालमा रहेसम्म यो समस्या समाधान हुने देखिँदैन । यसको अनूभूति यसपटक ओली र प्रचण्ड दुवैलाई भएको हुनु पर्ने हो तर त्यस्तो भएको अनुभूत गर्न नेपालीले पाएका छैनन । र त प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेका ओली भारतबाट आएको कोरोना कडा भएको तथा भारतको निशाना छापका बारेमा तल्लो स्तरको टिप्पणी गर्छन । । भारतलाई मैत्रीपूर्ण ढंगले, तथ्यतथ्याङ्क राखेर सम्झाएरै सीमा विवाद हल गर्ने कुरामा अझै पनि ओली दाहाल जान चाहेको देखिएका छैनन् ।
लिपुलेक, लिम्पियाधुरा र कालापानी समेत गरेर ३ सय ७२ वर्ग किलोमिटर नेपाली भूमिमाथि भारले धावा बोलपछि नेपाली मन अचाक्ली थियो तर ति भूभाग समेटेर नक्सा प्रकाशित गर्ने तथा संविधान सम्सोधन गरेर त्यो भूमिलाई आफ्नो अंग बनाउने काम गएसंगै नेपाली मन केही आश्वस्त भएको छ । लिम्पियाधूरा, लिपुलेक र कालापानी दुख्न थालेको छ पूरा ६ दशक भै सकेको छ । २०१४ सालमै हो भारतीय सैन्य क्याम्प कालापानी बसेको । भनिन्छ, राजा महेन्द्रले यो विषयमा आँखा चिम्लिँदा उनीहरुले कालापानीमा बस्ने हिम्मत गरेका । यस्तो समस्या हामी नजिकै सुस्तामा पनि छ । नारायणी नदी पारी रहेको सुस्ता नेपाली भुभाग हो तर त्यहाँका नागरिकले नेपाली हुनुको अनुभूति गर्न पाएका छैनन् । बजार उतै, विद्यालय उतै । नेपाल सरकारलाई मालपोत तिर्छन, जग्गा धनी प्रमाण पुर्जा पनि छ तर खेती गर्न पाउँदैनन । आफ्नो जमिनमा अरुले खेती गरेर खाएको टुलुटुलु हेर्नु सिवाय वैकल्पिक उपाय सुस्तावासीसंग छैन ।
कञ्चनपुर, पुनर्वास –४ का वासिन्दाको अवस्था पनि सुस्ताका नागरिकको जस्तै छ । जमिन आफ्नो नाममा छ, मालपोत नेपाल सरकारलाई तिरिरहेका छन् तर उक्त जमिनमा खेती गर्न पाउँदैनन् । सिराहामा त्यस्तै समस्या छ । कतिपय नेपालीले आफ्नो भूमिमा घर बनाउन पाएका छैनन् । सीमावर्ती क्षेत्रमा जाने हो भने त्यहाँका नागरिकको पिडा प्रत्यक्ष अनुभूत गर्न पाईन्छ । तर राज्य जो आफ्ना नागरिकको संरक्षक हुन पर्ने हो, त्यो हुन सकेको छैन । भोटको राजनीति गर्न पल्केका नेपाली राजनीतिज्ञहरु निर्वाचनका बेला चर्काे स्वरमा सीमा समस्याका कुरा गर्छन । तर जब सत्तामा पुग्छन्, तब सब विर्सन्छन् । नमिठो लागे पनि सत्य के हो भने सत्ता बाहिर रहँदा नेपालका राजनैतिक दलहरु जति चर्काे आवाजमा भारतसंगको सीमा विवादका विषयमा कुरा गर्छन,आवश्यक ठाउँमा त्यो आवाज निकाल्दैनन् । अवस्था बिरालोको घाँटीका घण्टी कसले झुण्ड्याउने भनेझै छ । कालापानी क्षेत्रमा सीमा समस्या रहेको र यसलाई समाधान गर्नुपर्छ भनेर स्पष्ट रुपमा बहुदल पछिका प्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीबाहेकले भनेको पाइएको छैन ।
सीमा नदी काली भएको कुरा अस्विकार नगर्ने तर काली नदीमा मिसिन आएका र आफुलाई अनुकुल हुने साना खोल्सीलाई कालीको मूख्य मुहान हो भनेर हाम्रो जमीन मिच्च्ने जुन दुष्टता भारतले गरिरहेको छ । हामीले त्यसको सशक्त प्रतिरोध गर्नु आवश्यक थियो र त्यसको प्रारम्भ भएको छ । लिम्पियाधुरा नै कालीको मुहान हो भन्ने ऐतिहासिक प्रमाण हामीसंग छ र सोही प्रमाणका आधारमा हामीले भारतसंग सम्वाद गरेर समस्याको समाधान खोज्नुछ । यतिबेला लिम्पियाधुरा, कालापानी अनि लिपुलेको दुखाई केही कम भएको छ । ति संगै हाम्रो मन पनि केही कम दुःखेको छ । एकताबद्ध भएर छिमेकीको बद्नियत विरुद्ध आवाज बुलन्द गर्नुछ । नागरिक स्तरबाट हामीले गर्नसक्ने यही हो । मिचाहा र हेपाहा प्रवृत्तिको दक्षिणी छिमेकीको ति प्रवृत्ति विरुद्ध एक भएर आवाज उठाउँ । देखाई दिउँ आफ्नो मातृभूमिमाथि अन्याय हुँदा संसारमा बीर जाति भनेर चिनिएका नेपाली कसरी उठ्दा रहेछन् । आउनुस् सबै मिली हाम्रो जमिन फिर्ता ल्याएर देखाउँ ।
अब जमिन फिर्ता ल्याएर देखाउ
previous post