
आगामी मंगलबार पुष १५ गते गुरुङ समुदायले महत्वपूर्ण पर्व तमु ल्होसार मनाउँदैछ । गुरुङ क्यालेण्डर अनुसार यहि दिनबाट नयाँ वर्ष प्रारम्भ हुन्छ । हिन्दु सभ्यताका अनुयायीहरुका लागि पनि १५ पुष महत्वपूर्ण दिन हो ।
सन्दर्भः लेखनाथ जन्मजयन्ती
मैले यहाँ तमु ल्होसार वा १५ पुषको बारेमा होइन बरु उक्त दिन पौष शुक्ल एकादशी परेको र सोही दिन नेपाली साहित्यमा कवि शिरोमणि उपमाले विभूषित व्यक्तित्व लेखनाथ पौड्यालको जन्मदिन परेकोले उनै शिरोमणिलाई सम्झन खोजेको हुँ ।

तपाईँ कसको वा कस्ताको संगतमा हुनुहुन्छ, त्यसले तपाईँको मूल्य र महत्ता निर्धारण गर्छ भन्ने बताउन लेखिएको एउटा कवितांश हरेक नेपालीलाई मुखाग्र छ । कवितांश भनिएको छ,
योग्य स्थानविषे मान सानाले पनि पाउँछ ।
कृष्णाका तटको ढुंगो देवता कहलाउँछ ।।
नैतिक दृष्टान्त शीर्षक् कवितामा समेटिएको माथिको कवितांश जस्तै अरु धेरै प्रेरणादायी अंश उक्त कवितामा उल्लेखित छन् । जस्तैः
कसैको लोकमा छैन, एकैनास समुन्नति ।
अरुको के कुरा हेर, सन्ध्यामा सूर्यको गति ।।
हामी प्रसस्त धन आर्जन गरेकोमा वा छिमेकीको भन्दा अग्लो घर बनाउन सफल भएकोमा वा छिमेकीले भन्दा राम्रो गाडी चढेकोमा अथवा रुपवान/रुपवती भएकोमा घमण्ड गर्छौ । तर ति सबै अस्थायी हुन । त्यसमा घमण्ड गर्नु व्यर्थ छ, भन्ने बताउन माथि प्रस्तुत कवितांश काफी छ ।
धन–दौलत, रुप–लावण्य, बल–वैंश सबै अस्थायी हुन भन्ने बताउन मध्यान्ह प्रचण्ड तापले युक्त हुने सूर्य सन्ध्यामा मलिनो, कान्ती विहिन हुने गरेको उदाहरण कवितामा दिइएको छ ।
उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर ।
फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ।।‘

आम नेपाली जनजिब्रोमा झुण्डिएको सोही कविताको अर्काै अंश हो माथिको । यस्ता थुप्रै कालजयी रचना नेपाली साहित्यको भण्डारलाई प्रदान गर्ने व्यक्ति हुन्, लेखनाथ पौड्याल । उनका छन्दमा आवद्ध सिर्जनाहरुको अध्ययन गर्दा बुझ्न सकिन्छ, कति कठिन तपस्याका उपज हुन ति रचना । संसारका सबै सुख आफैले भोग्न पाए हुन्थ्यो । सबै मिठा परिकार मैले मात्र खान पाए हुन्थ्यो भन्ने आह्रिसे स्वभावको वर्तमान मानव प्रति व्यङ्ग्य गर्दै पौड्याल आफ्नो कवितामा लेख्छन्,
म खाऊँ मै लाऊँ, सुख–सयल वा मोज म गरूँ,
म बाचुँ मै नाचुँ, अरू सब मरून् दुर्बलहरू,
भनी दाह्रा धस्ने अबुझ शठदेखि छक परी,
चिता खित्का छोडी अभयसित हाँस्यो मरिमरि ।’
हालको पोखरा महानगर पालिका वडा नं २७ अर्घाैं अर्चलेमा विसं १९४१ पौष शुक्ल एकादशीका दिन जन्मेका नेपाली साहित्याकाशका अनमोल रत्न पौड्याल अरुको नक्कल र देखासिकिमा रमाउन थालेका आम नेपालीलाई नेपाल आमाको चाह बताउँदै भन्छन्,
विशुद्ध नैसर्गिकता नमारी
नचाहिँदो नक्कल दूर सारी ।
त्यै रुपरेखाहरुमा विशेष
सौन्दर्भ भर्दै गर भन्छ देश ।।
जब हामी कोही आग्रज, आफन्त, साथी वा अनुजको देहावसान भएको ठाउँमा सान्त्वना दिन, परिवार जनमा धैर्य धारण गर्न शक्ति प्राप्त होस् भन्ने कामना गर्न , । समवेदना व्यक्त गर्न, श्रद्धाञ्जली दिन अनि मृतकको आत्माको चिर शान्तिको कामना गर्न जान्छौं । त्यहाँ रहेको शोक पुस्तिकामा हामी लेख्छौं,
राजा, रङ्क, सबै समान उसका, वैषम्य गर्दैन त्यो ।
आयो, टप्प टिप्यो, लग्यो, मिति पुग्यो, टारेर टर्दैन त्यो ।।
यस्ता थुप्रै कविताहरु छन्, जसले हामीलाई बारम्बार कवि लेखनाथ पौड्यालको सम्झना दिलाउँछन् र हामी उनका प्रति श्रद्धाले नत हुन्छौं ।
संस्कृत भाषा र साहित्यको अध्ययन गरेका लेखनाथ नेपाली साहित्यमा छन्दोबद्ध कविका रुपमा परिचित छन् । नेपाली साहित्यमा परिष्कारवादी धारका थालनीकर्ता तथा आध्यात्मिक मानवतावादी कवि पौड्याललाई साहित्यमा उनको योगदानको कदर गर्दै विसं २००८ सालमा राजा त्रिभुवनले कवि शिरोमणि उपाधिले विभूषित मात्र गरेनन् मासिक दुइसय भत्ता पाउने व्यवस्था समेत गरे । सधैं र सबैको उपेक्षामा रहने साहित्य र त्यसको सर्जकको तत्कालिन राजा त्रिभुवन कति सम्मान गर्थे भन्ने यसले देखाउँछ ।
कविता, नव्यकाव्य, खण्डकाव्य, महाकाव्य तथा नाटकको रचना गरेर नेपाली साहित्य भण्डारलाई समृद्ध बनाएका लेखनाथको जीवनमा अनेकौं आरोह–अवरोह आए । तर साहित्य साधना र सिर्जनाबाट उनी कहिल्यै पर रहेनन् ।
भौतिक रुपमा उनलाई हामीले गुमाएको ६ दशक भैसकेको छ तर उनका रचनाले हामीलाई यसरी जोडेका छन् कि लाग्छ, उनी अझै अर्घाैं अर्चलको खरको छानो भएको घरको पिंढीमा बसेर साहित्य सिर्जना गर्दैछन् । नेपाली साहित्यको भण्डार भर्दैछन् । हामीसंगै छन् ।
