
मृत्युका देवता यमराज काम विशेषले मत्र्यलोकको भ्रमणमा थिए । उनको एक व्यापारीसँग भेट भयो । उनीहरूले चिनजान गरे र साथी बने । यमराज र व्यापारी दुबैले आफ्ना दुःख सुखका काहानी सुनाए । छुट्टीने बेला व्यापारीले भन्यो, मलाई लिन आउनु अगाडी कुनै माध्यमबाट खबर गर्नु होला । यमराजले स्वीकृति सूचक टाउको हल्लाए र विदा भए ।
केही वर्ष पछि यमराज व्यापारीको घरमा टुप्लुक्क आइपुगे । लिन आउने बेला खबर गर्नु होला भन्दा हुन्छ भनेर विदा भएको यमराज विना कुनै खबर आउँदा व्यापारी रिसायो । उसले यमराजलाई मित्रघात गरेको आरोप लगायो । यमराजले मुस्कुराउँदै आफुले मित्रघात नगरेको बरु व्यापारीलाई पाँचवटा चिठी पठाएको बताए । व्यापारीले परिवारका सदस्यलाई यमराजको तर्र्फबाट कुनै चिठी आएको थियो कि भनि सोध्यो तर कसैले पनि चिठी आएको थाहा नपाएको बताए । व्यापारीले यमराजद्वारा प्रेषित चिठीहरु खोज्यो तर कहिँ कतै पाएन । व्यापारीको चालामाला हेरिरहेका यमराजले फेरी मुस्कुराउँदै भने, स्वर्गमा कापी कलम छैन, त्यसैले मैले अक्षर अंकित होइन बरु सांकेतिक चिठी पठाएको थिएँ । शायद तिमीले धेरै दिन देखि आफुलाई ऐना अगाडी उभ्याएका छैनौं । ऐना अगाडि गएर आफुलाई हेर त । व्यापरीले आफुलाई ऐना अगाडी उभ्यायो । उसका कपाल सैतै भैसकेका रहेछन् । आँखी भौं समेत तील चामले भैसकेको रहेछ । तब यमराजले भने, मैले पठाएको पहिलो चिठी त्यही थियो । त्यसको अर्थ तिम्रो मत्यूलोक बसाई धेरै दिन छैन, त्यसैले स्वर्गलोक यात्राको लागि तयार हुँदै गर भन्ने हो ।
त्यसपछि व्यापारी र यमराजबीच के के संवाद भए । यमराजले व्यापारीलाई पठाएका बाँकी चिठीहरु के थिए । यी विषयमा पछिल्ला लेखहरूमा चर्चा गर्नेछु । अहिलेलाई अर्काे एउटा प्रसंग जोड्न चाहन्छु । एक पटक नारदमुनी पृथ्वी लोकमा घुम्दै
थिए । उनको एउटा भिखारीसँग भेट भयो । भिखारीले नारदसँग आफ्ना लागि केही माग्यो । नारदले भिखारीलाई आफ्नो साथमा केही नभएको भन्दै आफु नारद मुनी भएकोले स्वर्गका राजा इन्द्रसँग भेटाइदिन सक्ने र उनीसँग चाहे जति माग्न सकिने बताए । भिखारीले आफ्नो हातमा रहेको कचौरा देखाउँदै सोध्यो, यो कचौरा भरी त पाउँछु नि ? नारदले चाहेजति ल्याउन पाउने बताउँदै भिखारीलाई स्वर्ग लिएर गए र देवराज इन्द्रलाई सबै बताए ।
इन्द्रले कुबेरलाई बोलाएर भिखारीको हातमा भएको कचौराभरी सुनका असर्फी दिन आग्रह गरे । भिखारी कचौरा लिएर कुबेरको साथ लाग्यो । ढुकुटीबाट सुनका असर्फी ल्याएर कचौरामा हाल्न थालियो तर कुबेरको ढुकुटी रित्तिनै लाग्दा समेत उक्त कचौरा भरिएन । कचौरा चुहिने छ कि भनेर वल्टाई पल्टाई हेरियो, तर त्यस्तो केही देखिएन । सबै अचम्ममा परे । तब इन्द्रले भिखारीलाई सोधे तिमीले यो कचौरा केबाट बनाएका हौ ? भिखारीले जवाफमा भन्यो, मैले यो कचौरा शमशानमा भेटिएको मानिसको खप्परबाट बनाएको हुँ । देवराजले कचौरा नभरिनुको कारण बुझे ।
आजकलको सामान्य जस्तै लाग्ने एउटा दृष्य सम्झौं । कोही अग्रज, आफन्त वा चिनजानको मान्छेको देहावसान भएर मलामी जानेहरू मृतकलाई दागबत्ती दिनासाथ वा चितामा आगो लगाउनासाथ फर्कन हतार गर्छन् । निमेष अगाडि लास देख्दा, जिन्दगी के रहेछ र जति कमाएपनि जाँदा सबै रित्तै जाने रहेछ । लान पाइने केही होइन रहेछ भन्ने मानिस निमेष पछाडि अर्थाेपार्जनसँग जोडिएको विभिन्न कामको फेहरिस्त सुनाएर शमशानबाट हतार हतार बाहिरिन्छ । र मृतकको अन्त्येष्टि सकिँदा उसका नजिकका आफन्त दुइचार जना तथा परिवारका सदस्यमात्र बाँकी रहन्छन् ।
गरुड पुराणमा भनिएको छ, लामो बाटो काट्ने काम, कपडा बुन्ने काम, शिखरमा आरोहण गर्ने काम र विद्या तथा धन आर्जन गर्ने काम विस्तारै विस्तारै मात्रै सफल हुन्छन् । तर हामीलाई पुराणका यि कथन सुन्नु छैन । यिनीहरूलाई पछ्याउनु छैन । बरु जसरी हुन्छ, छिटो कमाउनु छ । साथी, आफन्त वा छिमेकीले भन्दा ठूलो घर बनाउनु छ । उनीहरुले भन्दा धेरै ठाउँमा घडेरी किन्नु छ । उनीहरूका भन्दा धेरै कम्पनीका शेयरहरु हाल्नु छ र नाफा कमाउनु छ । उनीहरुको भन्दा राम्रो गाडी चढ्नु छ अनि अरु पनि थुप्रै । त्यसका लागि पैसा कमाउन जतिसुकै छोटो र गतल बाटो अपनाउन हामी तयार हुन्छौं । चाहे त्यसका लागि आफ्ना चेलीबेटी वा दाजुभाई बेच्नु परोस् । आफ्नै घर अगाडि बन्दै गरेको बाटोको गुणस्तरको हामीलाई चासो हुँदैन । हुन्छ त केवल ठेकेदारले कति कमिसन दिन्छ । हामी भुल्छौं, हामीलाई कमिशन दिने चक्करमा ठेकेदारले कमसल निर्माण गरेको हुन्छ र अन्ततः त्यसको दुष्परिणाम भोग्ने हामी नै हुनेछौं । यस्ता असंख्य उदाहरण भेट्न सकिन्छ, लोभले लाभ र लाभले विलाप
दिएका ।
आम नेपालीलाई गरिबीको दुश्चक्रबाट निकाल्छौं भन्ने राजनैतिक दलका नेता देख्दा आक्रोष पैदा हुन्छ । हामीलाई त्यो दुश्चक्रबाट निकाल्छौं भन्नेहरू आफु चाहिँ त्यो दुश्चक्रबाट निस्किए । बालकोटको जस्तो वैभव, बुृढानिलकण्ठको बसाई र खुमलटारको खाना हामीलाई चाहिएको होइन/छैन । तर हाम्रो अवस्थामा सुधार त हुनु पर्ने होइन र ? दुर्भाग्य, उनीहरूको ध्याउन्न, कसरी धेरैभन्दा धेरै धन कमाउने भन्नेमा मात्र छ । राष्ट्रको अस्मिता नै लुटिएपनि मलतब छैन । राष्ट्रको अस्तित्व समाप्त भएपनि चिन्ता छैन । आफ्नै नागरिकलाई शरणार्थी बनाएर बेच्न तयार छन् । गरिब जनताले छोराछोरीको खाजा खर्च, कापी कलमकको खर्च कटाएर तथा अन्य कयौं दुःख गरेर बचत गरेको सहकारीको रकम कुम्ल्याउन अग्रसर छन् । धुँवा यदाकदा सेतो देखिन्छ तर उसभित्र कालो अवश्य हुन्छ । हाम्रा नेताहरु त्यही सेतो धुँवा जस्ता छन्, बाहिरी स्वरुपमा जनताका हितकारी, साँच्चैका सेवक तर भित्रबाट बुझ्दा “म खाऊँ मै लाऊँ, सुख–सयल वा मोज म गरूँ, म बाचुँ मै नाचुँ, अरू सब मरून् दुर्बलहरू” स्वभावका ।
धन कमाउने होडमा मिसिँदै मानवताको तल्लो श्रेणीमा ओर्लिन तयार हामी सर्वसाधारण वा नेता जो कोहीलाई पनि यमराजको चिठी आइसकेको होला । तर अनेकथरी कृतिमताले ढाकेर, चिठी नपाएको अभिनय गर्न र फेरी त्यही दौडमा सामेल हुन हामी हरदम तयार छौं । भिखारीको कचौराले शायद हाम्रो मनोवृत्तिको प्रतिनिधित्व गरेको होला । तर यसले हामीलाई सधैं असन्तोष, वेचैनी अलगाव र अपूर्णता मात्र दिइरहको छ ।