Tanahun Awaj
विचार/दृष्टिकोण

कुसल नेतृत्व खोजि रहेको १७बर्षे गणतन्त्र

आर आर पाेख्रेल
   नेपालमा गणतन्त्र आएको पनि १७ बर्ष पुरा भैसकेको छ । गणतन्त्रले कुशल नेतृत्व नपाउँदा नेपाली जनजीवन झनै विपन्नतान्मुख र कष्टकर बन्दैछ । यो सरकारको असक्षमताले मुलुक जातीय द्वन्द र धार्मिक द्वन्दमा भासिने खतरा बढेको छ । मुलुकका लागि आवश्यक सिर्जनशिल युवा, प्राविधिक जनशक्ति विदेश पलायन हुँदैछ । मुलुकमा आर्थिक संकट बढ्दैछ । गणतन्त्रवादीहरुको पहिचान सुनतस्कर, भूमाफिया  भ्रष्टमा रुपमान्तरित बनेको छ । मुलुकमा भ्रष्टाचार गर्ने नीति निर्माताले ठूला कम्पनी, तस्कर, माफिया, एजेन्टहरुलाई कर छुट प्रदान गर्ने, किसान, सडक व्यापारी, साना व्यापारीहरुलाई अनेक झन्झट दिने, करको सावाँव्याज असुल गर्न कर्मचारीलाई प्रोत्साहन भत्ता प्रदान गर्ने जस्ता नीतिगत भ्रष्टाचार गर्न थाले । सरकारले नेपाली नागरिकलाई श्रमिकको रुपमा बेची रहेको छ । त्यतिले नपुगेर विदेशी नागरिकलाई नागरिकता दिने दशबर्षे जनयुक्तको मूल ध्येय नै रहेको १२ बुँदे पछि र बृहद शान्ति सम्झौता अघिका घटनाक्रमले  पुष्टि गरेको छ । थप पुष्टि त राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकता विधेयक पारीत गर्नकै लागि सत्तागठबन्धनको नाटकीय फेरबदल गरेर निर्लज्ज रामचन्द्र पौडेललाई राष्ट्रपतिमा पदासिन गराएर पूर्व राष्ट्रपतिको नाम काटेर तलपट्टी हातैले रामचन्द्र पौडेल राष्ट्रपति लेखेर नागरिकता विधेयकलाई असंसदीय प्रमाणिकरण गराएर भारत भ्रमणको अवसर मागेको तथ्यले पुष्टि गर्दछ । 

जनतालाई विश्वास घातः
नेपाली जनताले मुलुकमा गणतन्त्र ल्याउने आन्दोलनमा होमिएको यस्तै लालची, सत्तालोलुप, नवराजाहरुको स्वऐच्छाचारी लेण्डुलोप स्वार्थ पुर्ति गर्नका लागि हो ? नेपालमै बसौं बसौं लाग्ने बनाउन राजनीतिमा लागेको बताउने रामचन्द्र पौडेल शासनाधिकारी भएको ३३ बर्ष भयो । नेपालमै बसौं बसौं लाग्ने छ त मुलुक ? उनै पौडेल राष्ट्रपति भएको बर्ष झनै नेपाली युवा यिनीहरुको राष्ट्रघातको निर्जज्जता देख्नै नसकेर विदेश पलाएन भएको संख्या अहिलेसम्मकै बढी एक लाख दश हजार भएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्याङ्कले देखाएको छ । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार अहिलेसम्म झण्डै नौलाख युवा विदेशीयका छन् । अध्ययनको नाममा अध्ययनसंगसंगै रोजगारी र अवसरको खोजीमा विदेशीएका यी युवामा नेपाल फर्कने भन्दा बढी उतै पीआर लिएर बस्ने मनोविज्ञान पाइन्छ । त्यसलाई रोक्ने उत्प्रेरणा नेपाली राज्य व्यवस्थाले नेपाली अभिभावकमा समेत जगाउन सकेन । उल्टै अभिभाकहरु जागिरबाट विदा लिएर तीन महिना छ महिना विदेश विताउने फर्केर आएर आफ्नो अफिसमा गफ दिँदा गौरवान्वित हुने वातावरण नेपाल सरकारले बनाई रहेको छ । नेपालमा एउटा प्यान नंं. लिन गएको युवाले पाएको झन्झटले त्यहीबाट विदेश पलायन हुने सोंच बनाएर निस्कन्छ । अनलाईन सिस्टम भनेको छ, त्यही कर्मचारीसंग सोधेर उसैले भनेको ठाउँमा गएर अनलाईन फर्म भरेर आएन वा आफैले भरेर लग्यो भने नानाथरी झन्झट दिने, अपमानित गर्ने, नजान्नेले किन भर्नु नि ? दुई पैसा खर्च गरेर पनि जान्नेलाई कामको जिम्मा दिए त झन्झट हुँदैननी भनेर उनिहरुले नै देखाएको ठाउँमा जान प्रेरित गर्ने । अनलाईन र कागजप्रमाण मिलाउन पर्ने दोहोरो झन्झट जनतालाई । कर्मचारी शेयर बजारमा व्यस्त । यो अव्यवस्थाको मूल कारण मुलुकमा आएको गणतन्त्रले कुसल नेतृत्व नपाउनु नै हो ।
कुसल नेतृत्वः
मुलुकमा आएको गणतन्त्रले कुसल नेतृत्व पाएको भए सुविधा सम्पन्न मन्त्री निवास बन्नुभन्दा पहिला जनताका न्यूनतम आधारभूत आवश्यकता पूर्तिको सहज वातावरण निर्माणलाई प्राथमिकतामा राख्ने थियो । त्यसैगरी मुख्य मन्त्री निवास, नगरपालिकाका भवनहरु बनाउन भन्दा देशका नागरिक जस्ले विरामीलाई हस्पिटलसम्म पु¥याउन डोलामा विरामी बोक्नु पर्दछ त्यता काम गर्नपर्ने थियो । सुत्केरी हुन नसकेर अस्पताल पु¥याउन डोलामा बोकेर लैजाँदा खोला तर्ने ठाउँमा पुल बन्नु पर्ने थियो । विद्यार्थी स्कूल जाँदा तुईनमा झुण्डिएर जाने अवस्थाको अन्त्य हुनु पर्ने थियो । जुन कार्यालयलाई भैरहेको भवनले काम चलेको छ, त्यसको आलिशान भवनमा खर्च गर्नुभन्दा विद्यार्थीले पढ्दै गरेको असुरक्षित स्कूल बनाउन सकेको भए गणतन्त्रको राम्रो सन्देश जाने
थियो । दैनिकी गुजार्न खाने कुरा केही नहुँदा गिठा भ्याकुर जस्ता कन्दमूल खोजेर ल्याएर खानेको जीवनस्तर उकास्न सकेको भए गणतन्त्र विरुद्धमा नारा लाग्ने थिएन । किसानका समस्यालाई यथासमयमा उचित समाधान दिनेतर्फ राज्यले लक्षित बर्ग लाभान्वित हुने कार्यक्रम दिन सकेको भए, कमिशन र तस्करीको विगविगी निरुत्साहित गरेको भए आज मुलुकमा सर्वत्र राजा आउ देश बचाउ भन्ने नारा लाग्ने थिएन । आश, त्रास र प्रभावमा पारेर क्रिश्चियानीटीले खुलम्खुल्ला धर्म परिवर्तन गराउने वातावरणमा रोक लगाइ दिएको भए गणतन्त्रले ल्याएको धर्मनिरपेक्षता विरुद्धमा सनातनीहरुले आत्मरक्षाको लागि स्वाभिमान रक्षाको लागि आफ्नो धार्मिक पहिचान रक्षाको लागि सडकमा प्रदर्शन गर्नुपर्ने थिएन । गणतन्त्रले कुसल नेतृत्व पाएको भए १७ बर्षको यो अवधिमा हाम्रो गणतन्त्रले जनताको जीवनस्तर उठाउन धेरै काम गर्न सक्ने थियो । १७ हजारको हत्या, त्यही संख्याका वेवपत्ता, त्यही संख्याका अपाङ्ग, हत्याहिंसा, आतंक, आगजनी, व्यक्ति वेपत्ता, लुटपाटको आतंकले मुलुकको विकासलाई ५० बर्ष पछाडि धकेलेर ल्याएको गणतन्त्रले उही विद्रोही शैलीमा नीतिगत भ्रष्टाचार, संगठित अपराध, ठगी, गर्न थालेपछि अर्थात हाम्रो गणतन्त्रले जनताका लागि होइन, तस्कर, भूमाफिया, ठग, भ्रष्टहरुका लागि राज्य शक्तिको दुरुपयोग गर्न थालेपछि गणतन्त्र विरुद्धमा जनमत बन्नु त स्वभाविक हो ।
कसका लागि गणतन्त्रः
यो गणतन्त्र कसका लागि हो । हिमाल खबर पत्रिका रमेश कुमार लेख्छन् ‘विदेश गईरहेको देश’ । हो मेरो देश विदेश गईरहेको छ । यो देशले उत्पादन गरेका डाक्टर विदेश गएको छ । यो देशले उत्पादन गरेको इन्जियिर विदेश गएको छ । स्वाभिमानी र विदेशीको दलाली नगर्ने पत्रकारहरु विदेश पलाएन भएका छन् । नेपालमै बसेर देशको स्वार्थमा कलम चलाउने पत्रकार बलराम बानियाहरु मारिदा राज्य वेखबर बस्छ । चार्टर्ड एकाउन्टेण्ट, नर्स, भेटनरी डाक्टर, वकिल, कृषिविज्ञ, प्राध्यापक लगायत पेशागत दक्ष र बौद्धिक समुदाय विदेश पलायन भएको मुलुकमा किन चाहियो गणतन्त्र ? कस्का लागि चाहियो गणतन्त्र ? मुठ्ठीभर व्यक्तिको निहित स्वार्थमा एमसीसी प्रोजेक्ट ल्याउनेहरुका लागि हो हामीले गणतन्त्र ल्याएको ? नेपालमा क्रिश्चियानीटी बढाएर धार्मिक सहिष्णुतालाई विस्थापन गरेर द्वन्द चर्काउन चाहनेहरुका लागि हो हामीले गणतन्त्र ल्याएको ? सरकारी जग्गा सरकारी सम्पत्ति लुटे्ने भूमाफियाहरुका लागि हो हामीले गणतन्त्र ल्याएको ?
पहिचान सहितको नेपालः
१७ बर्षमा केही गर्न नसक्ने सबै दलको नेतृत्व असफल भयो । दलहरुले विकल्प दिन नसके मुलुकलाई अब निरंकुश तानाशाह चाहिएको हो । दुई साम्राज्य हार्दा नहारेको नेपालको पहिचान र स्वाभिमान सहितको नेपाल फर्काउन सक्ने तानाशाह मुलुकलाई चाहिको छ । त्यो तानाशाहले निमुखाको हितमा काम गरोस् । नेपाली डाक्टरहरुलाई नेपालमै रोजगारी दिन सकोस् । नेपाली इन्जियिरहरुलाई नेपालमै रोजगारी सिर्जना गर्न सकोस् । नेपाली वैज्ञानीकहरु नेपालमै आविश्कार गर्ने महावीर पुनको सोंच निर्माण सकोस् । चार्टर्ड एकाउण्टेटहरुले मातृभूमिलाई मूल कर्मथलो बनाएर विश्व चाहार्न सकुन । आवासीय रुपमा विदेश पलायन हुन
नपरोस् । नेपाल श्रमिक खरिद गर्न पाईने मुलुक होइन । सुन तस्करी गर्ने बन्दगाह होइन । दक्ष जनशक्ति भएको देश नेपालबाट विदेशीलाई आवश्यक परे केही समयमा लागि करारमा लैजान पर्ने मुलुक बनाउनु प¥यो । विदेशीको पैसा खाएर नेपालको अहितमा विज्ञता देखाउने विकाउ नागरिक नभएको देश बनाउन सक्ने तानाशाह मुलुकलाई चाहियो ।
सम्भव छ ?
प्राकृतिक साधान र स्रोतको धनी देश नेपाललाई ःऋऋ ले चुस्नु भन्दा अगाडि कुनै तानाशाह जन्माउन सके सम्भव छ । बर्तमान दलाल नेतृत्वबाट जतिसक्यो छिटो शासनको बागडोरो खोस्न सके अझै पनि मुलुक निर्माण गर्न सम्भव छ । अब नेपाली जनता दलगत रुपमा होइन, राष्ट्रियताको मियोमा बाँधिन सके नेपाल र नेपालीको मौलिक पहिचान र अस्तित्व बचाउन सम्भव छ । धार्मिक असहिष्णुताले विनास ल्याउँछ । जातिय द्वन्दले अस्थिरता जन्माउँछ । मुलुकमा बाहुनवाद लाद्न खोजिनु हुँदैन । कुनै जातिवाद लाद्न खोजिनु हुँदैन । कुनै पनि धर्म लाद्न खोजिनु हुँदैन । प्रदेश नामाकरणका नाउँमा जातीगत आरोपप्रत्यारोपका नाउँमा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भड्किदा हुने संभावित नरसंहार रोक्ने हामी नेपालीले नै हो । जातीवादी अतिवाद, धर्मवादी अतिवाद, दलवादी अतिवाद नेपालको लागि अभिषाप सिद्ध भयो । जुनसुकै बादको नाउँमा हुने भिडन्तले हामीलाई असफलताको मार्गमा धकेलि रहेको छ । पलायनवादी सोंच नराखौं । मौलिक पहिचान संरक्षणका लागि अब त केही गरौं ।

Related posts

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले
कार्तिक १४ मा संघीय संसदको संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ

admin

अक्षर र सुगन्धको उत्सव

Deepak Joshi

सम्झनामा गणेशमान

admin