22.9 C
Damauli
September 18, 2026
Tanahun Awaj
विचार/दृष्टिकोण

वर्षायाममा खडेरीका कुरा

रमेश पोखरेल

खडेरी अर्थात हामीले बुझ्ने सामान्य भाषामा लामो समय पानी नपर्नु । लामो समय पानी नपर्ने कुरा गर्दै गर्दा सोमालियाको चर्काे गरिबीको सम्झना सबैलाई हुन्छ । दशक लामो खडेरीका कारण सोमालिया विश्वकै गरिब राष्ट्रको रुपमा गनिन पुग्यो ।
खडेरी हामी कहाँ पनि चर्काे छ, तर त्यो सोमालियालाई गरिब बनाउने जस्तो मात्रै खडेरी होइन । आफुलाई जनताका प्रतिनिधि भन्नेहरुमा नैैतिकता र इमान्दारीताको खडेरी छ । कर्मचारी तथा शिक्षकहरु नियुक्ती लिनेबेला जे कसम खान्छन्, त्यो इमान्दारी साथ गर्दैनन् । व्यापारी सामान लुकाएर कृतिम अभाव सृजना गरेर महंगोमा सामान बेच्छ । उद्योगी कमसल गुणस्तरको सामान उत्पादन गर्छ र कतिपय अवस्थामा त्यो सर्वसाधारणको मृत्युको कारण बन्छ । यी केही उदाहरण हुन्, इमान्दरी र नैतिकताका खडेरीका । तर आज म यी विषमा भन्दा पनि लामो समय वर्षा नभएका कारण पर्ने खडेरी र प्रत्येक वर्ष वढ्दै गएको मरुभूमिकरणको बारेमा चर्चा गर्न गइरहेको छु । यसै सन्दर्भमा उल्लेख गर्नैपर्छ कि नैतिकता र इमान्दारीमा परको खडेरी संगसंगै अब हामीले बर्षा सम्बन्धी खडेरी र मरुभूमिकरणको पनि सामना गर्नुपर्ने अवस्था आउँदै गएको छ ।
भोली जुन १७ तारिखमा विश्वभर “खडेरीबाट संगै उठाँै” भन्ने नाराका साथ खडेरी र मरुभूमिकरणका विरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाईँदै छ । बढ्दो मरुभूमिकरण र खडेरीविरुद्ध विश्व समुदायमै जनचेतना बढाउन र ऐक्यवद्धता कायम गर्ने उद्देश्यले सन् १९९५ देखि मनाउन थालिएको यो दिवसको मनाउनुको थप उद्देश्य विश्व समुदायलाई खडेरी र मरुभूमिकरणको जोखिमबाट कोही पनि सुरक्षित छैन त्यसैले यसका विरुद्ध विश्व समुदाय एकाताबद्ध भएर लाग्नु पर्छ भन्ने पनि हो ।
खडेरी र मरुभूमिकरणको अर्थ पानीको अभाव हो । यसको डर हाम्रो दक्षिणी छिमकी भारतलाई कति छ भने उ आफ्ना पानीको श्रोतहरुको संरक्षण र प्रयोगसंगै नेपालको पानीमाथि पनि आधिपत्य जमाउन बेलाबेला देखाउने गरेको लालसाले प्रष्ट हुन्छ । जलश्रोतका हिसाबले विश्वकै दोस्रो धनी देश भनिएपनि खडेरी अभाव हामीले बेलाबेला भोगेकै छौं भने बढ्दो जनसंख्यासंगै प्राकृतिक श्रोतको बढ्दो दोहनका कारण छिट्टै हामी पनि खडेरी र मरुभूमिकरणको चपेटामा पर्ने निश्चित जस्तै छ ।
मानव शरिरमा पानीको हिस्सा ज्यादा हुने कुराले पनि पानीको आवश्यकता र महत्वलाई बुझाउँछ । अझ सजिलोसंग पानीको आवश्यकता र महत्व बुझ्न मेलम्चीको पानी पिउने आशमा दुइ दशक विताएका काठमाण्डौंका बासिन्दा संग सोध्दा हुन्छ । अनि वर्षाको पानी ठूलो पोखरी वा घरमा बनाएको सिमेन्टको घैँटोमा जम्मा गर्न घरको छानोमा पाइप लगाउनेहरुसंग सोध्यो भने यसको महत्व राम्ररी बुझिन्छ, हामीले । चर्काे घामा उकालो चढ्दै गरेको बटुवालाई सोध्यो भने पानी बारेको साश्वत सत्य थाहा पाउन सजिलो हुन्छ । एक गाग्री पानी भर्न घण्टौ लाइन बस्नुपर्ने अवस्थाबाट गुज्रेका मानिस होउन वा एक गाग्री पानी लिएर घर आइपुग्न घण्टौं हिड्नु पर्नेहरुसंग सोध्दा पनि पानीको महत्व र आवश्यकता थाहा हुन्छ । समयमा वर्षा नहुँदा व्याड मै धानको बीउ सुकेर खेत बाँझै राख्न बाध्य किसान वा धान रोपी सकेको खेतमा खडेरीका कारण फाटेको धाँजा हेर्दै चिन्तित मुद्रामा बसेको किसानलाई सोध्दा खडेरीको पिडा कस्तो हुन्छ भन्ने हामीलाई थाहा हुन्छ । र त्यसपछि थाहा हुन्छ “पानी जीवन हो” भन्ने हाम्रा अग्रजले भन्ने गरेको भनाईको अर्थ अनि महत्व ।
सानो छँदाका दिनहरुको याद गर्ने हो भने मैले सबैभन्दा धेरै सम्झने भनेको मेरो घर छेउमा भएको खोल्सीमा वर्षेनी आउने ठूलो बाढी हो । हप्ता, १० दिन पर्ने झरीले जनजीवन अस्तव्यस्त बनाएको र अब त पानी पर्न विसाए पनि हुन्थ्यो भनेर कामना गरेका दिनहरुको सम्झना तजै छ । हिउँदमा हप्ता दिनसम्म पर्ने झरीले उस्तै दिक्क बनाउने गथ्र्यो । “बलिया बाङ्गा बाघलाई, बुढापाका माघलाई” भन्ने भनाई नै थियो । यसको अर्थ बुढा भएका पशु पुष माघको जाडो र झरी सहन नसकेर मृत्युको मुखमा पुग्थे भन्ने हो । तर पछिल्लो दुइ वर्ष भएको वर्षालाई भुल्ने हो भने माथिका कुरा सबै एकादेशको कथा भएका छन् । हिउँदै झरी पर्न त छाड्यो नै वर्षा याममा पनी पर्याप्त पानी पर्न छाडेको धेरै वर्ष भैसकेको छ । यो हामी पनि विस्तारै खडेरी र मरुभूमिकरणको चपटामा पर्न लागेका छौं भन्ने कुराको संकेत हो ।
विश्वमा हरेक वर्ष झण्डै ६ करोड मानिसहरु खडेरीको चपेटामा पर्ने गरेको तथ्याङ्क हामीसंग छ । वितेको १२० वर्षमा विश्वका एक करोड १७ लाख मानिसको मृत्य खडेरीका कारण भएको तथ्याङ्क पनि हामी पढिरहेका छौं । अनि पिउने तथा घरायसी प्रयोगका लागि पानी नपाएर काकाकुल बनेका थुप्रै नेपाली दाजुभाइ, दिदी बहिनीको दुःखद कथा पनि हामीले पढेका र सुनेका छौं ।
हाम्रो जस्तो विकाशील देशका लागि खडेरी वास्तवमै ठूलो खतरा हो । खडेरीका कारण देखापर्ने भोकमरी त छँदैछ त्यसका सहउत्पादनका रुपमा समाजमा अनेकांै समस्याहरु उत्पन्न हुन्छन् । खडेरीका दुष्परिणाम हेर्न सामालिया हेरे भै हाल्यो । तर विश्वका विकसित भनिएका देशहरुपनि खडेरीका कारण प्रभावित हुँदैनन् भन्ने होइन । उनीहरु पनि यसबाट कम प्रभावित छैनन् । विभिन्न अध्ययनहरुले आगामी सन् २०५० सम्म खडेरीले विश्व जनसंख्याका तीन चौथाई जनसंख्यालाई प्रभावित पार्ने देखाएको छ । अझ डरलाग्दो तथ्य त के छ भने सन् ८० र ९० का दशकको तुलनामा सन् २००० पछिको दुइ दशकमा खडेरी प्रभावित जनसंख्या २९ प्रतिशतले बढेको छ ।
बढ्दो वन विनाश, सहरीकरणका नाममा बनेको कंक्रिटको जंगल आदिले हामीपनि खडेरी र मरुभूमिकरण संकटको डिलमै छौं । डिलबाट हामफाल्ने कि फर्केर सकुसल रहने भन्ने चाहीँ हाम्रै हातमा छ । व्यक्तिगत स्वार्थ पूर्तिका लागि गरिने वन विनाश रोकौं । कंक्रिटका जंगल बन्नबाट हाम्रा सहरहरुलाई जोगाउँ । वातावरण विनाशका जति पनि काम हाम्रा हातहरुबाट भएका छन्, ति सबैलाई अबका दिनमा हुन नदिन प्रण गरौं । सन् २०२२ को मरुभूमिकरणका विरुद्ध अन्तर्राष्ट्रिय दिवसको नाराले भने झैं खडेरीबाट संगैं उठौं । पछिल्लो पुस्ताका लागि सुन्दर र सुरम्य संसार छोडौं ताकि तिनीहरु हाम्रा प्रति कृतज्ञ बन्न सकुन् ।

Related posts

नयाँ सरकारसंगको अपेक्षा-सम्पादकीय

admin

निराशाजनक नतिजा-सम्पादकीय

admin

स्वास्थ्य बीमाबाट लाभान्वित विमित

admin