25 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

देवानी संहिताले व्यवस्था गरेको अंश हक

ऋषिराम पोख्रेल अधिवक्ता

पृष्ठभूमिः
हामीले जान्दै आएको अंश सम्बन्धी कानून मुलुकी ऐनले भन्दा भिन्न व्यवस्था मुलुकी देवानी संहिताले गरेको छ । हामीले पढेर थाहा पायौं होला । कतिले सुनेर थाहा पायौं होला । कतिलाई यो स्तम्भबाट नै जानकारी भएको होला । जे होस् देवानी संहिताले व्यवस्था गरेको अंश हक मुलुकी ऐनले गरेको अंशहक भन्दा अलि बढी उदार व्यवस्था मान्नु पर्ने हुन्छ । हामी सबैको सरोकारको विषय हुँदा त्यो अंशहकको चर्चा गर्ने प्रयास गरिएको छ ।
मुलुकी ऐनको व्यवस्थाः
मुलुकी ऐन नवौं संसोधन २०४३ सम्म छोरीले अंश पाउन ३५ बर्षसम्म विवाह नगरी बस्नु पर्ने व्यवस्था थियो । त्यो व्यवस्थाका आधारमा बाबुआमा स्वास्नी छोराहरु मात्र अंशियारा कायम गरिएको थियो । दशौं सम्सोधनसम्म पनि यो व्यवस्था कायमै थियो । एघारौ सम्सोधन २०५८ मा भएपछि साविक १६ नं. खारेज गरियो । अंशियारामा छोरीहरु पनि कायम गरियो ।
छोरीको छोरासरह अंश हकः मुलुकी ऐनले छोरा सरह छोरीको अंशहकको व्यवस्था गरेको थियो तापनि सो कानूनको कार्यान्वयन भने मुलुकमा गणतन्त्र स्थापना भएपछि बढी हुन थालेको महसुस गरिएको छ । कानूनले अंशमा छोरा सरह छोरीले अंश पाउने कानूनी व्यवस्था गरेपछि भने अंश मुद्दा दायर गर्दा छोरी/बहिनीलाई पनि प्रतिवादी बनाउन शुरु गरिएको छ ।
विवाहित छोरीको अंश हकः कानूनमा भएको व्यवस्थाले विवाहित छोरीले आफ्नो बाबुबाट अंश पाउँदैन भन्ने बुझिदैन । तर विवाहिता छोरीले आफ्ना बाबु दाजूसंग अंशमा दावी गरी मुद्दा दायर गरेको अवस्था पनि छैन । विवाहिता छोरीलाई अंश दिलाउने अवस्थामा अदालतको न्याय सम्पादन पक्ष ज्यादै सजग रहेको व्यवहारिक अनुभव छ । त्यस्ती छोरीले अंशमा दावा गरी फिराद लगेमा अदालत प्रशासनले दर्ता गर्ला नगर्ला ? प्रश्न अनुत्तरित नै छ । कानून व्यवसायीको दृष्टिमा त्यो फिराद दर्ता हुनु पर्दछ । तर व्यवहारिकतामा त्यस्तो अभ्यास भएको छैन । कानूनमा भएको निम्न व्यवस्था र केही मालपोत कार्यालयले गरेको अभ्यासका आधारमा विवाहित छोरीले पनि आफ्नो पितासंग छोरा सरह अंश माग्न सक्ने देखिन्छ ।
क) मुलुकी देवानी संहिताको व्यवस्थाले विवाहिता छोरीले अंश माग्न पाउँदैन भन्ने अर्थ गर्न मिल्दैन । किनभने छोरीलाई पनि अंशियारा मान्दा मुलुकी ऐनले जस्तो विवाहित र अविवाहित भनेर छुट्टयाएको छैन । साथसाथै छोरी पनि अंशको समान हकदार भनेको छ । अर्को तर्फ मानो छुट्टिएको मिति कायम गर्दा छोरीको हकमा विवाह भएको दिनलाई मानो छुट्टिएको मिति कायम गरेको छ । विवाहित छोरीले अंश पाउँदैन भनेर कहि कतै नभनिएको, मानो छुट्टिए अर्थ अंश पाएको हुन नसक्ने अवस्थाले गर्दा विवाहिता छोरीले पनि अंशमा दावा गर्न सक्ने देखिन्छ ।
गर्भको शिशुले अंश पाउनेः
देवानी संहिताले गर्भमा रहेको शिशुले पनि अंश पाउने व्यवस्था गरेको छ । कुनै गर्भमा रहेको शिशु अंशियारा रहेछ र उ नजन्मदै अंशबण्डा हुन लाग्यो भने उसको भाग छुट्टयाएर मात्रै अंशबण्डा गर्न कानूनले निर्देश गरेको छ । गर्भको शिशु जिउँदो जन्मन नसकेमा त्यो अंश के हुन्छ भन्ने बारेमा कानूनले छुट्टयाएर राखेको अंश अन्य अंशियारहरुमा बराबरको हिसाबले बण्डा गर्न भनेको छ ।
निष्कर्षः
विश्लेषणबाट विवाहित छोरीले अंश पाउने देखिन्छ । महिलाले पिताबाट पनि र पतिबाट पनि अंश पाउने कानूनी व्यवस्थाले कानूनको दृष्टिमा सबै समान हुने संवैधानिक मान्यता बाझिएको छ । त्यसै भएर केही मालपोत अधिकृतहरुले अंशबण्डा गर्दा विवाहित छोरीहरुको सनाखत गराउने अभ्यास शुरु गरिसकेका छन् । यसको मतलब विवाहिता छोरीले अंशमा मेरो कुनै दावा छैन भनेर सनाखत गरेमात्रै छोरीले अंश नपाएको बण्डापत्र वैधानिक हुने मानसिकता हो । यो अवस्थामा विवाहिता छोरीहरुले अंशमा दावा गरेका बखत मात्रै न्यायीक विवेचनाबाट विवाहित छोरीले अंश पाउने या नपाउने निकाश आउने अपेक्षा गरौं ।

Related posts

गजल

admin

छिमेकी भूमिबाट फिर्ता जाउ‍‍‍-सम्पादकीय

admin

साँवा, व्याज लिँदाको पुर्या‍‌उनु पर्ने रीत

admin