
दमौली/प्राईम टिभिसंगको कुराकानीमा नेपाली काँग्रेसका पूर्वसहमहान्त्री गोविन्द राज जोशीले आफूहरुले नेपाली काँग्रेस तनहुँको जिल्ला अधिवेशन बहिष्कार गर्ने बताउनु भएको
छ । यो अधिवेशनले नेपाली काँग्रेसलाई बलियो बनाउँदैन, समाप्तिको बाटो जान लागेको काँग्रेस बचाउन अधिवेशन बहिष्कार गर्नुपरेको जोशीको दृष्टिकोण रहेको छ । नेता जोशीले ३९औ वी पी स्मृति दिवसका सन्दर्भमा बुधबार विहान प्राईम टिभि मार्फत आफ्नो दृष्टिकोण सार्वजनिक गर्नुभएको हो ।
नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोईरालाको इच्छा बमोजिम माओवादीसंग पहिलो पटक आफू र डा. शेखर कोईरालाले परिणाममुखी वार्ता गरेको जोशीले बताउनु भएको छ । सेना र सक्रिय राजतन्त्रको सवालमा संविधान संसोधन गरेर २०४७ सालकै संविधान मान्न माओवादी तयार भएको सूचना परिचालन गर्ने शक्तिसम्म पुग्दा आफूलाई काँग्रेसको मेन स्ट्रीमबाट बाहि¥याएपछि १२ बुँदे दिल्ली सम्झौताको आधार तयार भएको जोशीको तर्क थियो ।
सिद्धान्त विनाको सत्ता निरर्थक हुन्छ भन्ने वी पीको मार्गदर्शनलाई २०४६ को परिवर्तन पछि नेपाली काँग्रेसले छोडेर सत्तालोलुपताका कारण सैद्धान्तिक विचलन आएको जोशीको दृष्टिकोण थियो ।
१४औं महाधिवेशनपछि नेपाली काँग्रेसमा दुई सैद्धान्तिक धार देखिने जोशीको भविष्यवाणी रहेको छ । त्यो हो धर्मनिरपेक्षताको धार र सनातन वैदिक धर्म ।
राष्ट्रियता, प्रजातन्त्र, समाजवादबाट विचलित काँग्रेस सहमति, सहकार्य र एकताबाट निर्देशित हुँदा १४औं अधिवेशनपछि काँग्रेससंगै प्रजातन्त्र र नेपालको अस्तित्व संकटमा पर्ने खतरा बढेको जोशीको आँकलन थियो ।