दमौल/नेपाली कांग्रेसले आगामी वैशाख ३० हुने स्थानीय निर्वाचनमा जित हात पार्न एक महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ ।
कांग्रेसको माघ २७ मा सुरु भएर फागुन ३ मा सकिएको केन्द्रीय कार्यसम्पादन समितिको वैठकले वैशाख ३० मा स्थानीय निर्वाचन गर्ने सरकारको निर्णयको स्वागत गर्दै उक्त निर्णय गरेको
हो । कांग्रेसले संगठन सुदृढीकरण गर्दै आगामी निर्वाचनहरुमा नेपाली कांग्रेसलाई विजयी गराउने लक्ष्यसाथ “घर–घर जाऔं, कांग्रेस जिताऔं” अभियान सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ । अभियानले पार्टीको सबै तह, सबै भ्रातृ र शुभेच्छुक संस्थालाई एकाताबद्ध बनाउने र सबै अभियानमा सहभागी हुने निर्णय गरेको छ ।
फागुन २० देखि चैत्र २० सम्म अभियान सञ्चालन हुनेछ । यसैगरी स्थानीय निर्वाचन घोषणा पत्र तयारी समिति पार्टी सभापतिले आवश्यक परामर्श गरी अविलम्ब गठन गर्ने निर्णय समेत गरको छ ।
महाअभियोगको पक्षमा उभिन आग्रह
यसैवीच नेपाली कांग्रेसले आफु अदालतको स्वतन्त्रता, निश्पक्षता र पवित्रताको पक्षमा दृढतापुर्वक उभिने जनाएको छ । कार्यसम्पादन समितिको वैठकमा निर्णय गर्दै कांग्रेसले निरंकुश अवस्थामा पनि न्यायालयको नेतृत्वले न्यायपूर्ण ढंगले नागरिक स्वतन्त्रता र लोकतन्त्रको हितको पक्षमा उभ्याएको भन्दै न्यायालयको त्यो गौरवपूर्ण इतिहास जोगाइराख्नु सबैको नैतिक कर्तव्य भएको उल्लेख गरेको छ ।
प्रधानन्यायाधीश जस्तो उच्च पदीय जिम्मेवारीमा रहेको व्यक्ति न्यायालयको साख, प्रतिष्ठा, प्रभावकारिता र जनआस्थालाई अभिवृद्धि गर्ने संवैधानिक दायित्वबाट विमुख र विफल रहेको तथा संवैधानिक आचरण र नैतिकता एवं कार्यक्षमता समेत नदेखिएको, निकटस्थहरूलाई नियुक्ति गरेको, विचौलियाहरू संलग्न गराई भ्रष्टाचार र अनियमितता गरेको लगायतका भन्ने आरोपलाई नेपाली कांग्रेसले गम्भिरतापूर्वक लिदै आएको तथा स्वतन्त्र र निश्पक्ष न्यायपालिकाको पक्षमा संघर्ष गरेको आफुले यस्ता कुरामा अनदेखा गर्न नमिल्ने बताएको छ ।
कांग्रेसले अदातल प्रतिको जनविश्वास डगमगाउन नदिनु कांग्रेसको दायित्व भएकोले संसदमा प्रधानन्यायाधीश विरुद्ध महाभियोग प्रस्ताव आएको भन्दै सत्ता पक्ष र प्रतिपक्षलाई महाअभियोगको पक्षमा उभिएर सार्वभौम संसदबाट न्यायोचित निकास दिन र न्यायालयलाई गति प्रदान गर्ने कुरामा सघाउन आग्रह समेत गरेको छ ।