दमौली/बेलायतको ब्रिष्टोल नगरमा हालै सम्पन्न नगरप्रमुखहरुको विश्व सम्मेलनले व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेलाई कार्यकारी सदस्यमा निर्वाचित गरेको छ । नगरप्रमुखहरुको विश्व संसदको आठ सदस्यीय कार्यकारिणी सदस्य मध्ये एक सदस्यमा न्यौपाने निर्वाचित भएको व्यास नगरपालिकाका प्रबक्ता मोहनकुमार श्रेष्ठले बुधबार साँझ एक विज्ञप्ति प्रकाशित गरी जानकारी दिनु भएको हो ।
सम्मेलनले शहरी बसाई सराईलाई मानवीय ढङ्गले व्यवस्थित गर्ने, शहरी सुरक्षा र शहरी स्वास्थ्य क्षेत्रमा सम्बन्धित विश्व संगठन र क्षेत्रीय संगठनहरुसंग समन्वय गरी कार्य गर्ने प्रतिबद्धता घोषणा मार्फत जाहेर गरेको विज्ञप्तिमा उल्लेख छ ।
सम्मेलनले आठ सदस्यीय कार्यकारिणी समितिमा चयन गर्दा नगरप्रमुख न्यौपाने सहित जर्मनीको मेनहम नगरका नगरप्रमुख पिटर कुर्ज, संयुक्त राज्य बेलायतको व्रिस्टोल नगरका प्रमुख मार्भिन रिज, इटलीको पालेर्मो नगरका नगरप्रमुख लियो लुका ओर्लाण्डो, युगाण्डाको होइमा नगरका प्रमुख ग्रेस मेरी युगासा, नर्वेको स्टेभेङ्गर नगरका प्रमुख क्रिष्टिम सेगन होल्गो, संयुक्त राज्य अमेरिकाको कोलम्बिया नगरका प्रमुख स्टेफन के. बेनजामिन, लाईबेरियाको मोनरोमिया नगरका प्रमुख जेफसर्न टम्वा कोइजीलाई चयन गरिएको प्रबक्ता श्रेष्ठद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।