26.2 C
Damauli
September 21, 2026
Tanahun Awaj
Uncategorized

भदौमै शुरु भयो सोह्र श्राद्ध मलमासले पन्ध्र दिन अघि सर्यो

तनहुँको दक्षिणी भेग घिरिङ्ग–१ मा गर्दै गरेको महालय श्राद्ध फोटोः अरुण पोख्रेल ‘साना’

दमौली/महालय श्राद्धको एकभक्त मंगलबारबाट र श्राद्ध बुधबार शुरु भएको छ । प्रायः असोज महिनामा पर्ने सोह्र श्राद्ध मलमास परेको कारण पन्ध्र दिन अघि सरेको छ । मलमास कालभर असुद्ध मानिने हुँदा पितृकार्य पन्ध्र दिन अघि सरेको जानकारहरु बताउँछन् । त्यसैगरी दशैं एक महिना पछि सरेको छ ।
शास्त्रसिद्ध परम्परा अनुसार चल्दै आएको श्राद्ध जस्ता पितृ कार्य एक अर्व ९५ करोड बर्ष पुरानो रहेको सम्बन्धित क्षेत्रका विज्ञहरुको दावी रहेको छ । हाम्रो श्राद्ध कर्म र विधि यज्ञवल्क्य स्मृति, बृहदारण्यक उपनिषद्, धर्म शास्त्र, धर्म सिन्धु जस्ता ग्रन्थहरुबाट निर्देशित छन् ।
मानवत्वका ४८ संस्कार मध्ये श्राद्ध एक हो । श्राद्ध पनि एकोतिष्ट, एकपार्वण, महालय, नान्दी समेतका धेरै श्राद्ध हुन्छन् । तर हाम्रो सनातन संस्कारमा बढी प्रचलनमा रहेको श्राद्ध एकोतिष्ट र महालय हुन् । एकोतिष्ट श्राद्ध पितृ स्वर्गे भएको महिनाको तिथिमा र महालय श्राद्ध सोह्र श्राद्धमा गर्ने प्रचलन रहेको छ ।
हामीले दिएको पिण्ड, अन्जली, द्रब्य पितृहरुसम्म पु¥याउन पितृहरुले वसु, रुद्र, आदित्य नामका श्राद्ध देवतालाई साथैमा लिएर कर्ताको घर ढोकासम्म आउँछन् । जब श्राद्ध गर्ने ब्राह्मण कर्ताको घरमा प्रवेश गर्दछन्, तब पितृहरु व्राह्मणसंगै घरमा प्रवेश गर्दछन् भन्ने सनातनी विश्वास रहिआएको छ ।
शास्त्रसिद्ध परम्परा अनुसार चल्दै आएको श्राद्ध जस्ता पितृ कार्यलाई भौतिकवादी आडम्बरमा अनास्था देखाउन हुँदैन । देवता, पितृ हुन्छन् भन्ने कुरामा विश्वास गर्दिन भनेर श्राद्ध नगरेमा आक्रोसित पितृहरुले त्यस्ता सन्ततीको रगत पिउँछन् भन्ने जनविश्वास रहिआएको छ ।
पितृहरुलाई बोलाउने ब्राह्मण वाक्य शुद्ध हुनुपर्नेछ । साथै कर्ताले शुद्धभावले अटल विश्वासका साथ श्राद्ध गरेमा मात्र पितृ खुशी हुने शास्त्रीय मत रहेको छ ।

Related posts

सम्पादकीय म्याराथानले स्वास्थ्य र पर्यटनको अभिबृद्धी होस्

admin

जापानी विद्यार्थीको सहयोग

admin

जैविक विविधतासंगै हाम्रो पनि संरक्षण गरौं

admin