26.2 C
Damauli
September 21, 2026
Tanahun Awaj
समाचार

बहुदल प्राप्तिपछि कै सबैभन्दा कम मतदान, प्रत्यक्षतर्फ संघ तथा प्रदेशमा कांग्रेस ठूलो दल बन्ने संकेत

रमेश विकल
प्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फ १६५ र समानुपातिक तर्फ ११० तथा प्रदेश सभाका लागि प्रत्यक्ष तर्फ ३३० र समाुनपतिक तर्फ २२० जनप्रतिनिधि चयन गर्ने गरी आम निर्वाचन–२०७९ आइतबार सम्पन्न भएको छ ।
यो निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका थिए । १० हजार ८९२ मतदान स्थल तथा २२ हजार २२७ मतदान केन्द्र र १४१ अस्थायी मतदान स्थलमा गएर यस पटकको निर्वाचनमा कुल एक करोड नौ लाख मतदातामात्र मतदानमा सहभागी भए । निर्वाचन आयोगका अनुसार यो कुल मतदातासंख्याको ६१ प्रतिशत मात्र हो । निर्वाचन आयोगका अुनसार बहुदल प्राप्ती पछिका निर्वाचनहरु मध्ये यो निर्वाचनमा सबैभन्दा कम प्रतिशत मत खसेको हो ।
आयोगका अनुसार २०४८ वैशाख २९ गते सम्पन्न निर्वाचनमा एक करोड ११ लाख ९१ हजार ७७७ मतदाता रहेकोमा ६५.१५ प्रतिशतले मतदान गरेका थिए । यसैगरी २०५१ साल कार्तिक २९ मा भएको मध्यावधि निर्वाचनमा भएका एक करोड २३ लाख २७ हजार ३२९ मतदाता मध्ये ६१.८६ प्रतिशत, २०५६ बैशाख ३० र जेठ ३ मा गरी दुइ चरणमा भएको निर्वाचनमा भएका एक करोड ३५ लाख १८ हजार ८३९ मतदाता मध्ये ६५.७९ प्रतिशतले मतदान गरेका थिए । यसैगरी २०६४ चैत्र २८ मा भएको पहिलो संविधान सभा निर्वाचनमा एक करोड ७६ लाख ११ हजार ८३२ मतदाता रहेकोमा ६१.७० प्रतिशतले मतदान गरेका थिए ।
पहिलो संविधान सभाको असफलतासंगै ६ वर्ष पछि २०७० मंसीर ४ गते दोस्रो पटक संविधानसभाको निर्वाचन भएको थियो । यो निर्वाचनमा एक करोड २१ लाख ४७ हजार ८६५ मतदातामध्ये ७८.७४ प्रतिशतले मतदान गरेका थिए । २०७२ सालमा संविधान बनेसंगै २०७४ साल मंसिर १० र २१ गते गरी दुई चरणमा भएको निर्वाचनमा एक करोड ५४ लाख २७ हजार ९३८ मतदातामध्ये ६८.६७ प्रतिशतले मतदान गरेको तथ्याङ्क निर्वाचन आयोगसंग छ । गत वैशाखमा भएको स्थानीय निकायको निर्वाचनमा भएका एक करोड ७७ लाख ३३ हजार ७२३ मतदातामध्ये ६५.०७ प्रतिशतले मतदान गरेका थिए ।

किसानलाई वर्षभरिको मेहनतको कमाई थन्क्याउने चटारो र नेताहरुलाई पाँच वर्षको जागिर जोगाउने÷हात पार्ने दौडधुपका बीच २०७९ को आम निर्वाचन समग्रमा शान्तिपूर्ण सम्पन्न भएको छ । धान थन्क्याउने व्यस्ततालाई थाति राखेर मतदान गर्न जाने किसानका समस्या निर्वाचित भएर गएका जनप्रतिनिधिहरुले कत्तिको चासो पूर्वक समाधान गर्नेछन् । किसानहरु प्रतिक्षामा छन् । –तस्विर तनहुँ आवाज साप्ताहिक

कम मतदान हुनलाई दलहरुका सत्ता केन्द्रीत व्यवहारले आजित बनेका मतदाताले यसपटक मतदानमा सहभागी नभएर विद्रोहको संकेत गरेको रुपमा अथ्र्याउने गरिएको छ । स्थानीय निकायको निर्वाचनमा जस्तो सरोकार संघ र प्रदेशको निर्वाचनमा नहुने भएकाले पनि कम मतदान भएको हो । तर मतदानको प्रतिशत कम हुनमा यत्तिमात्र कारण भने होइन । अहिले पनि मतदाता नामाबलीमा हेर्ने हो भने मृत्यु भएका, विवाह गरेर अन्यत्र गएका, बसाई सराई गरेर अन्यत्र गएका नागरिकको नाम त्यहाँ देख्न सकिन्छ । आयोगले मृत्यु दर्ता भएका, विवाह दार्ता भएका महिला तथा बसाई सरेर गएका नागरिकको नाम स्वतः अद्यावधिक हुने व्यवस्था गर्ने हो भने यस्ता निराशाजनक अवस्था नदेखिन सक्छ ।
छिटफुट बाहेक शान्तिपूर्ण रुपमा सम्पन्न आइतबारको निर्वाचनका परिणामहरु पनि प्राप्त हुन थालेका छन् । निर्वाचन आयोगका अुनसार बुधबार सांझ यो समाचार तयार पार्दासम्म देशभरका १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये १५२ स्थानको गणना भइरहेको छ । जसमध्ये २१ स्थानको नतिजा समेत सार्वजनिक भैसकेको छ । आयोगका अनुसार घोषित २१ स्थान मध्ये नेपाली कांग्रेसका ९ स्थान, नेकपा एमालेका ४, माओवादी केन्द्रका २, राष्ट्रिय स्वतन्त्र पार्टीका १, नेकपा एकिकृत समाजवादीका १ तथा अन्य ४ उम्मेदबारले जित हासिल गरेका छन् । मत गणना भएका स्थान मध्ये कांग्रेसले ४४ स्थान, एमालेले ४०, माओवादीले १४, स्वतन्त्र पार्टीले ७, नेकपा एसले ६ तथा अन्यले २० स्थानमा अग्रता लिएका छन् ।
प्रदेश सभा तर्फ नेपाली कांग्रेसले सर्वाधिक १९ स्थानमा जित हात पारेको छ भने नेकपा एमाले ८, माओवादी केन्द्र ८, तथा एकिकृत समाजवादी १ स्थानमा विजयी भएका छन् । यसैगरी कांग्रेस उम्मेदबारले ६४ स्थानमा अग्रता लिँदा एमालेका ५५, माओवादी केन्द्रका ३७ र एकिकृत समाजवादीका ६ उम्मेदबारले अग्रता लिएका छन् ।
प्रारम्भिक मत परिणाम र अग्रतालाई नियाल्दा नेपाली कांग्रेस प्रत्यक्ष तर्फ संघ र प्रदेश दुबैमा सबैभन्दा ठूलो दल बन्ने देखिएको छ । यसैगरी प्रमुख प्रतिपक्षि दल नेकपा एमाले दोस्रो र माओवदी केन्द्र तेस्रो हुने देखिएको छ । समानुपातीक मत तर्फ भने एमाले सबैभन्दा ठूलो दल बन्ने प्रारम्भिक नतिजा छ । कांग्रेस दोस्रो हुँदा नव गठित राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिक तर्फ तेस्रो ठूलो दल बन्ने देखिएको छ ।

Related posts

सवारी दुर्घटनामा महिलाको मृत्यू

admin

शैक्षिक गुणस्तर सुधार्न विषय समिति

admin

आजबाट शुक्लागण्डकी महोत्सव

admin