दमौली/एमाले तनहुँको दशौं अधिवेशनबाट निर्वाचनको माध्यमबाट पदाधिकारीहरुमा सस्थापनको प्यानलै बिजयी भएको छ । कार्यबाहक अध्यक्ष हरिराज कँडेल र सहसचिवको भूमिकामा रहेका विष्णुभक्त सिग्देलले दुइ प्यानलको नेतृत्व गरेका थिएँ । त्यो भन्दा अगाडि बढेर अध्ययन गर्दा हरिराज कँडेलको प्यानललाइ खगराज अधिकारीको प्यानल र विष्णुभक्त सिग्देलको प्यानललाइ पृथ्वीसुव्वा गुरुङको प्यानल भनेर पहिचान गराइएको छ । यद्पी हरिराज काँडेललाइ किरण गुरुङको समेत समर्थन भएको बुझिएको छ । हिजो किरण गुरुङ प्यानलमा रहेका अधिकाँश कार्यकर्ता अहिले पृथ्वीसुव्बा गुरुङ प्यानलमा समाहित भएको जानकारहरुको टिप्पणि रहेको छ ।
एमाले तनहूँको दशौं अधिवेशनले खगराज अधिकारी र किरण गुरुङको प्यानलमा टुकराज सिग्देल, केदार सिग्देल र निवर्तमान अध्यक्ष श्रीप्रसाद श्रेष्ठ समेत रहेको दावी गर्ने एमाले स्रोतले पृथ्वीसुब्बा गुरुङ प्यानलमा प्रतापलाल श्रेष्ठ, भगवती न्यौपाने समेतको समर्थन रहेको जनाएको छ । दशौं अधिवेशनमा देखिएको यो प्यानलमा पीएस समूहले छोटो समयमा ८८ मतको मतान्तरको प्रतिषपर्धा देखाएर प्यानलको सशक्त अस्तित्व प्रकट गरेको छ । साथै संस्थापन समूहलाइ ११औं अधिवेशनसम्मका लागि झस्काएको छ ।
प्रजातान्त्रिक पद्धतिबाट नेतृत्व चयन गर्ने सफल अभ्यास गरेको एमाले तनहुँले अन्तरिक प्रतिष्पर्धालाइ कब्जाको रणनीतिमा प्रयोग गरेको गन्ध आएको छैन । स्वस्थ प्रतिष्पर्धालाइ स्वभाविक रुपमा स्विकार गर्न सक्दा मात्रै प्रजातान्त्रिक प्रणालीको अनुयायी बन्न सकिन्छ । अब केन्द्रको जस्तै निषेधको रणनीति बिजेता प्यानलले नदेखाइ सहअस्तित्वको भावले साँगठनिक गतिविधि अगाडी बढाउन सक्दा मात्रै राजनीतिक संस्कार र साँगठनिक अस्तित्व बचाउन एमाले नेतृत्व सफल हुने सशुभेच्छुकहरुले शुभेच्छा प्रकट गरेका छन् । तर ती शुभेच्छुकहरुमा काँग्रेस जस्तै अस्वस्थ प्रतिष्पर्धाले समग्र पार्टीको अस्तित्व नै संकटमा पार्ने हुन कि भन्ने भय पनि देखिन्छ ।
हरि कँडेलको नेतृत्वमा आगामी ११औं अधिवेशनसम्म पार्टीको नेतृत्वलाइ जीवन्त राख्ने जिम्मेवारीको उपाध्यक्षमा राजेश्वर ढकाल रहेका छन् । त्यसैगरी सचिवको जिम्मेवारी प्रदीप राज अधिकारीले पाएका छन् । खुल्ला उपसचिवमा खिमलाल कुमाल र महिला कोटाको उपसचिवमा सुनिता नेपालीले जिम्मेवारी पाएकी छन् । पदाधिकारी सहित दशौं अधिवेशनले ९९ सदस्यीय जिल्ला कमिटीको नेतृत्व चयन गरेको छ ।
एमाले तनहुँमा पाँच सदस्य लेखा कमिटी रहने व्यवस्था छ । त्यसको नेतृत्व प्रेम पौडेलले गर्नेछन् ।